Thursday, May 7, 2015

काठमाडौं, वैशाख २४ – भूकम्पका कारण मुलुक तवाही भइरहेको बेला हवाई मार्गबाट नै प्रमुख रुपमा राहत सामग्री आउने गरेको छ । हालसम्म १६९ अन्तर्राष्ट्रिय उडानबाट २७०० टन राहत सामग्री आएको बताइएको छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको अवस्था र कार्यशैली हेर्दा मुलुकको अवस्था कस्तो छ, व्यवस्थापनका खटिएका सरकारी निकायको अवस्था कस्तो छ भन्ने सहजै अनुभव गर्न सकिन्छ । कुन राहत सामग्री कता पठाउने, कुन स्थानमा भण्डारण गर्ने प्राथमिकता कसलाई दिने भन्ने बारेमा जानकारी नपाएर हो वा पाएरै नै हो भन्ने बारेमा सरकारी अधिकारी रनभूल्लमा परेका छन् । विमानस्थलमा सबैभन्दा बढी चलखेल भारतीय सेनाको देखिएको छ । छन त विमानस्थलमा अमेरिकी, चिनीयाँ सेनाको पनि उपस्थिती रहेको छ । तर भारतीय सेनाले अरु मुलुकका जहाज अवतरण र उडान गर्न नमिल्ने गरी हेलिकोप्टर राखेका छन् । उनीहरुले जताततै अवरोध गरिरहेका छन् ।
विमानस्थलमा अवरोध भएपनि चिनीयाँ जहाज बुधबार विहान मात्रै अवतरण भएका थिए । चीन सरकारले राहत तथा उद्धारका लागि तीन वटा एम आई १७ हेलिकोप्टर ल्याएका छन् । रातको समयमा पार्किङ गर्ने स्थानको अभावमा ती जहाज चीनको केरुमा नै लगेर राख्ने गरिएको छ । भारतीयले साना ठूला गरी १४ वटा जहाज विमानस्थलमा ठाँउ ओगटेर राखेका छन् । उनीहरुले सबैतिर आफूले नै काम गर्ने र उडान गर्ने भन्दै अन्य मुलुकका हेलिकोप्टरलाई उडानमा समेत परिआए रोक लगाउने सम्मको काम गरेको विमानस्थलमा खटिएका गृह मन्त्रालयका एक अधिकारीले गुनासो गरे । गोरखाको उत्तरी क्षेत्रका लागि राहत सामग्री पठाउन विगत आठ दिनदेखि भौतारिइरहेहरुलाई विमानस्थलमा कुनै पनि स्थान दिइएको छैन । बरु भारतीय हेलिकोप्टर रित्तै उडाइएको छ । पाँच हजार किलोसम्म बोक्न सक्ने क्षमता भएका हेलिकोप्टरमा भारतीय पत्रकार ओसारेर विपत्तीको समयमा रमिता गरिएको गृहका ती अधिकारीले बताए । नेपाली सेनाको काम प्रशसनीय रहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी र नेपाली उद्धारकर्मीको कामलाई जनताले प्रसंसा गरेका छन् । तर निजामति कर्मचारी भने चलेकै छैनन् । उनीहरु जनतालाई राहत दिने भन्दा पनि सरकारी काम कहिले जाला घाम भने जसरी प्रस्तुत भएका छन् । विमानस्थलको भण्डारकक्षमा केही टन भन्दा राहत सामग्री रहेको छैन । नेपाली सेनाको विमानस्थल समन्वय केन्द्रले हालसम्म २२०० टन राहत सामग्री आएको जानकारी गराउँदै आएको छ । तर ती राहत सामग्री कहाँ गए र कसले पाए भन्ने बारेमा कुनै पनि सरकारी निकायसँग तथ्याङ्क रहेको छैन । जिल्ला सदरमुकाममा राहत सामग्री छैन, पीडितले पाएका छैनन् । केही सरकारी अधिकारीले राहत सामग्री राजधानीका केही स्थानमा लुकाएर राखेको पाइएको छ । उनीहरु माथि कोही कसैले पनि कारवाही गर्ने आँट राखेको छैन । विमानस्थलबाट प्रभावित जिल्लामा पठाइएका राहत सामग्री कहाँ गयो भन्ने बारेमा न त गृह मन्त्रालयलाई थाहा छ ? न त अन्य निकायलाई नै । विमानस्थलमा भारतीय सेनाले ज्यादती गरेको, अमेरिकी जहाजले धेरै ध्वनी प्रदुषण गरेको गरेको गुनासो सर्वत्र आएपनि कोही कसैले नियन्त्रण गर्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत कति बेला कुन जहाज अवतरण भयो भन्ने बारेमा जानकारी हुँदैन । भारतीय, अमेरिकी तथा चिनीया हेलिकोप्टर कुन समय कति बेला उडान भ¥यो, कति बेला अवतरण भयो भन्ने बारेमा कोही कसैलाई जानकारी हुने गरेको छैन । परराष्ट्र मन्त्रालयले भारतीय सेनाको ज्यादती बढेको भन्दै चर्को आलोचना भएपछि फिर्ता जान आग्रह गरेको समाचार सार्वजनिक भएको थियो । तर विमानस्थलमा उनीहरुको अवरोध हटेको होइन, झन् बढेको गुनासो स्वयम् नेपाली सेनाले नै गर्ने गरेको छ । सेनाका एक उपरथी तहका अधिकारीले ज्यादती बढी भएको जान्दा जान्दै पनि सरकार र राजनीतिक दल नबोल्नुलाई भने आफूहरुले समेत अर्थपूर्ण रुपमा लिएको बताउने गरेका छन् । सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा समन्वय गर्नका लागि सहसचिवको नेतृत्वमा एक टोली खटाएको छ । सेनाले उपरथी तहको अधिकारीलाई खटाएको छ । अन्य निकायका उच्च अधिकारी पनि विमानस्थलमा खटिएका छन् । तर विमानस्थल नेपालको हो कि भारत, चीन, अमेरिकाको हो भन्ने छुट्टयाउन नसकिने अवस्थामा रहेको सरकारी अधिकारी नै स्वीकार गर्छन । सरकारले सिन्धुपाल्चोक जिल्लामा राहत सामग्री वितरणका लागि चीनलाई जिम्मा दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भारत र काठमाडौँ केन्द्र बनाएर नुवाकोट, रसुवा,धादिङको जिम्मा समेत भारतीयले पाएको छ । भने रामेछाप, ओखलढुङ्गा, दोलखाको जिम्मा अमेरिकाले पाएको छ । तर ती जिल्लामा हालसम्म भूकम्प पीडित जनता त्रिपाल समेत नपाएर बारीको पाटामा बस्न वाध्य छन् । भारतको ६ वटा एमआई १७ जहाज तैनाथ भएको भएपनि राहत सामग्री वितरणमा चाहेजति ध्यान नदिएको विमानस्थलका अधिकारी नै स्वीकार गर्छन् तर उनीहरुलाई काममा लगाउने हिम्मत र हैसियत समेत नेपाली अधिकारीले राखेको पाइदैन । चीनको तीन वटा हेलिकोप्टरको काम समेत सिन्धुपाल्चोकमा मात्र केन्द्रीत भएको भनिएपनि के कति राहत सामग्री पाए भन्ने बारेमा जानकारी हुन सकेको छैन । अमेरिकी विमान नेपाल जस्तो पहाडी भूगोल भएको क्षेत्रमा उडान भर्न नै नमिल्ने खालको पाइएको छ । ओस्रे जहाजले तीन सय किलो भन्दा बढी बोक्न नसक्ने भन्दै पाइलटले राहत सामग्री लोड गर्न मानेका छैनन् । सो जहाजले दोलखामा क्षति पु¥याएको छ । हिजो मात्रै रामेछापमा सो जहाजका कारण केही घर तथा टहराको जस्ता उडाएको बताइन्छ । विमानस्थलमा देखिएको विदेशी हस्तक्षेप रोक्न कसले पहल गर्ने हो सो बारेमा हालसम्म न त सरकारले मुख खोलेको छ, न त परराष्ट्र मन्त्रालयल नै ।


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook