Thursday, May 7, 2015

'विपत्का बेला सिफारिस खोज्ने कस्तो गृह मन्त्रालय ?'
काठमाडौं, वैशाख २४– एमाओवादी नेता लोकेन्द्र विष्ट मगरले सिन्धुपाल्चोकको मेलम्ची, काभ्रेको कुशादेवी र तिमाल क्षेत्रमा त्रिपाल वितरण गरेका छन् । बुधबार त्रिपाल बाँड्न काभ्रेको कुशादेवी पुगेका नेता विष्टले भूकम्पबाट सग्ला भएकाहरुको पनि मन चिरिएको बताए । उनले भने, ‘प्रकृतिसँगको संघर्षमा मानव जातिले पटक–पटक हार्दै आएको छ, यसपटक फेरि हार व्यहोर्न हामी बाध्य भयौँ ।’
पूर्वमन्त्री समेत रहेका नेता विष्टले जनअपेक्षा अनुसार राहत र उद्धार कार्य सरकारले गर्न नसकेको भन्दै भूकम्पका कारण चहराइरहेका घाउमा सबैले आ–आफ्ना ठाउँबाट सहयोगको मलम लगाउनुपर्ने बताए । विपतमा राहत वितरण आवश्यक रहेका बेला सरकारले एकद्वार प्रणालीको नाममा जनतालाई लाइन बस्न बाध्य पारेको उनको भनाइ छ । ‘कतिपय ठाउँमा राहतका लागि गृहको सिफारिस लिनुपर्ने कुरा सुनेको छु, विपत्का बेला सिफारिस खोज्ने कस्तो गृह मन्त्रालय ?’ उनको प्रश्न थियो । कुशादेवीस्थित लालीगुराँस प्राविमा भेला भएका स्थानीयलाई नेता विष्टले पाल वितरण गरेका थिए । गत १२ गते गएको शक्तिशाली भूकम्पका कारण कुशादेवीमा चारको मृत्यु भएको छ भने दर्जनौं घर भत्किएका छन् । विपत्का बेला एमाओवादी नेता त्रिपाल बोकेर आफ्नै गाउँमा पुग्दा निकै खुसी लागेको स्थानीय माधव हुमागाईंले बताए । पसिना पुछ्दै मेलम्चीको उकालो
कुशादेवीपछि सिन्धुपाल्चोकको मेलम्ची पुगेका नेता विष्ट करिब एक घन्टाको उकालो हिँडेर आचार्यगाउँ पुगेका थिए । मेलम्ची नगरपालिकाको नेपानेबाट पैदल हिँड्दै आचार्यगाउँ पुगेका नेता विष्टले त्रिपाल वितरण गर्दै भने, ‘तपाईंहरुको पीडा मेरो पनि हो, सिन्धुपाल्चोकलाई बिझेको काँडा रुकुमलाई पनि दुख्छ ।’ उनले सरकारमा सहभागी दलहरुले आ–आफ्ना पार्टी निकटका मान्छेलाई राहत बाँडेको सुन्दा दुःख लागेको बताए । ‘विदेशीले दिएको राहत व्यवस्थित वितरण गर्ने र जनतालाई स्वाभाविक दिनचर्यामा फर्काउने काम राज्यको हो, हामीले त्यसमा सहयोगी भूमिका खेल्नुपर्छ,’ उनले भने ।
मेलम्ची नगरपालिकाको आचार्यगाउँमा यसअघि एउटा एनजिओले पठाएको त्रिपाल साह्रै सानो भएको स्थानीय कुमार सिग्देलले बताए । कुमारले भने, ‘यसअघि केही चामल र चाउचाउ आएको थियो तर भरपदौ त्रिपाल आएको थिएन ।’ त्यस्तै, नेता विष्टले गत मंगलबार काभ्रेको तिमाल क्षेत्रको पोखरीचौर नारायणस्थान गाविसमा पुगेर त्रिपाल वितरण गरेका थिए ।


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook