Wednesday, March 9, 2016

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दुई देशबीचको सीमा (दसगजा) मा १०/१० गज वारिपारिको क्षेत्रफलभित्र कसैले केही गतिविधि वा उपयोग गर्न पाइदैँन् । खुला रहनुपर्छ । यसलाई ‘नो म्यान्स ल्यान्ड’ भनिन्छ ।

तर महोत्तरीस्थित सीमावर्ती भिठ्ठामोडदेखि नेपालको समसी क्षेत्रसम्म भारतले दसगजा मिचेर सडक बनाएको पाइएको छ । भारतले भिठ्ठामोडबाट सुरसण्ड हुँदै सितामढीसम्म जोडेको पिच सडकअन्तर्गत ३ सय एकदेखि तीन सय दुईसम्मको लम्बाइभित्र ठाउँ ठाउँमा रहेको जंगे पिलरको जगमा टाँसेर सडक बनाएको छ ।

उक्त क्षेत्र नेपाल तर्फ महोत्तरीको मनहराकट्टी हुँदै पोखरभिण्डा र मनीबारा भिठ्ठामोडसम्म पर्दछ । सडकसँगै दक्षिणपट्टी भारतमा ठूलाठूला बस्ती बसेका छन् । नेपालतिरको बस्ती भने टाढा पर्छ । सीमा रक्षाको लागि खटिएका सशस्त्र सीमा सुरक्षा बल वा नेपाली बीओपीका अधिकारीहरुले उक्त पिच सडकमा कसैको नजरमा नपरेको बताउँछन् ।

तीन किमी भन्दा बढी लम्बाइमा यस्तो समस्या देखिएपनि सशस्त्र वा नेपाली अधिकारीहरुको नजरमा नपर्नु उसको आफ्नो कमजोरी भएको त्यस क्षेत्रका भारतीय गाउँका बासिन्दाहरु बताउँछन् । यति दुरीसम्ममा कतै कतै त भारतीय अतिक्रमणले सीमा क्षेत्र (दसगजा) यकिन नै गर्न गाह्रो पर्दछ ।

‘भारतको मनपरी रवैयालाई अधिकारीहरुले वास्ता नै गरेका छैनन्,’ महोत्तरीका एक नेताले भने, ‘वास्ता गरेको भए यस्तो हुँदैन्थ्यो ।’ सडकबारे भिठ्ठामोडस्थित भारतीय एसएसबीका एक अधिकारीले उक्त सडक अस्थायी भएको बताए । ‘पुरानो पिच सडकको पूल जीर्ण भएकाले उक्त दशगजा क्षेत्रबाट केही किमी नयाँ सडक बनाइएको छ,’ उनले भने, ‘तर यो अस्थायी हो ।’

उता सशस्त्र सीमा सुरक्षा बल महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक सुन्दर खड्काले दसगजा मिचेर बनाइएको त्यो क्षेत्रसम्म आफू नपुगेको बताए । उनी भन्छन्, ‘कसले किन बनायो भन्ने विषयमा स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँछु ।’




Source :- kantipur.ekantipur.com



0 comments:

Post a Comment

Popular Posts

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook