Sunday, November 22, 2015

काठमाडौं, ६ मंसिर । आतंकवादी संगठन आईएसको धम्कीले सतर्क रहेको भारतलाई अर्काे खतरा परेको छ ।
आफ्नै देशका २० जना युवा आंतकवादी संगठन इश्लामिक स्टेट (आईएस)मा भर्ती भएपछि भारतमा खतरा बढेको हो । सुरक्षा एजेन्सीहरुले भारतीय गृहमन्त्रालयलाई बुझाएको प्रतिवेदनमा २० जना भारतीय युवा आईएसमा भर्ती भइसकेका छन् ।

उनीहरु अहिले सिरिया र इराकमा तालिम गरिरहेको एजेन्सीको प्रतिवेदनमा उल्लेख छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध लड्न विश्व समुदायसँग सँगसँगै जाने बताएपछि आक्रोशित आईएसले अब भारतमा हमला गर्ने सम्भावना बढेको बताइएको छ ।
प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय पत्रिका अमरउजालाले लेखेको छ-आतंकवादी अभियानमा सामेल हुन् २० जना भारतीय युवक आईएसमा भर्ती भएका छन् । पेरिस हमला पछि आईएसले भारतीय युवकलाई प्रलोभनमा पारेपछि गम्भीर चिन्ता व्यक्त गरिएको छ । भारतीय सुरक्षा एजेन्सीहरुले यिनीहरुका परिवारलाई निगरानीमा राखेका छन् । गृहमन्त्रालयले पनि आईएसको अबको हमला भारतमै हुन सक्ने आशंका गर्दै सुरक्षा व्यवस्था कडा बनाउन ध्यान दिएको छ ।’
गृहमन्त्रालयले २० जनामध्ये कोही पनि भारत फर्किएभने गोली हान्न वा गिरफ्तार गर्न निर्देश गरेको छ । आईएसमा सहभागी युवाहरु भारतको उत्तर प्रदेश, कर्नाटक, केरल र तेलंगाना सहरका छन् । समाचार अनुसार दक्षिण भारतका १५० युवा पनि आईएसतर्फ आकर्षित भएको र उनीहरुलाई रोक्न सुरक्षा एजेन्सीहरुले कोसिस गरिरहेको बताइएको छ । (एजेन्सीको सहयोगमा)

Monday, November 16, 2015


काठमाडौं – पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि सरकारले चीनको पेट्रो चाइना कर्पोरेसनसँग इन्धन आपूर्ति सम्झौता गर्ने तयारी गरिरहँदा उक्त सम्झौता हुन नदिन नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सक्रिय रुपले लागेको नेपाल आयल निगमसम्बद्ध स्रोतको दाबी छ । चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा कार्यकारी निर्देशक खड्का नै बाधक देखिएपछि वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन खड्कालाई नै पत्तै नदिई चीनबाट सहज तरिकाले इन्धन आपूर्ति सहज गराउने गरी व्यावसायिक सम्झौता गर्ने विषयमा उच्चस्तरीय भेटवार्ताको लागि बेइजिङ पुगेका छन् ।

करिब दुई महिनादेखि जारी अघोषित नाकाबन्दीका कारण इन्धनको चरम अभावको समयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्तरी छिमेकी चीनसँग इन्धन सम्झौता गरेर इन्धन आपूर्तिको लागि वैकल्पिक तयारी गरेस्वरुप नेपाल आयल निगम र पेट्रो चाइना कर्पोरेसनबीच बेइजिङमा गत कात्तिक ११ मा समझदारीपत्रमा हस्ताक्षर भएको लामो समयसम्म निगमले दीर्घकालीन रुपमा मागको करिब ३० प्रतिशत इन्धन आपूर्ति गर्ने व्यापारिक सम्झौता गर्न पत्र प्रेषित गर्नुपर्नेमा सो नगरी आलटाल गर्दै आएका कार्यकारी निर्देशक खड्काले सरोकारवाला निकायको व्यापक दबाबका कारण बाध्य भएर ढिलो गरी गत हप्तामात्र व्यावसायिक सम्झौताको लागि पूर्ववत् रुपमा गर्नुपर्ने सम्पूर्ण तयारीसहित पेट्रो चाइनाका आधिकारिक प्रतिनिधिमण्डललाई व्यापारिक सम्झौताको लागि नेपालमा आमन्त्रण गर्दै औपचारिक पत्र प्रेषित गरेको र नेपालका केही विवादास्पद पृष्ठभूमिका कम्पनीहरुसँग कमिसन लिएर चर्को मूल्यमा इन्धन आपूर्ति गर्ने सम्झौता गरेपछि कार्यकारी निर्देशक खड्काको नियतमाथि शंका गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन पाँच सदस्यीय टोलीसहित गोप्य तरिकाले हङकङ हुँदै चीनको राजधानी बेइजिङ पुगेका हुन् ।

औपचारिक तरिकाले बेइजिङ जाँदा आफ्नै मन्त्रालयका केही अधिकारीका साथै मातहतको नेपाल आयल निगमका अधिकारीहरुबाट असहयोग हुने तथा उक्त प्रक्रिया रोक्न ठूलो चलखेल हुनसक्ने आंकलन गरेका मन्त्री पुन प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मन्त्रालयका सीमित अधिकारीहरुलाई मात्र खबर गरेर गत २४ गते मध्यरातमा हङकङसम्म मात्रै जाने भन्दै ड्रागन एयरको नियमित उडानमार्फत हङकङ हुँदै चीनको राजधानी बेइजिङ पुगेको मन्त्री पुनको निजी सचिवालयसम्बद्ध स्रोतले जानकारी दिएको छ ।

मन्त्री पुनले चिनियाँ पक्षसँग छलफलको लागि सहजताको लागि एसिया प्यासिफिक एक्सचेन्ज एण्ड को–अपरेसन फाउन्डेसनका उपमहासचिव एवं एमाओवादी अध्यक्ष प्रचण्डनिकट रहेका चाइनिज एजेन्टको रुपमा परिचित व्यापारी नरेन्द्र उलक र एमाओवादीका पूर्वसभासद् राजकाजी गुरुङलाई लिएर सुटुक्क बेइजिङ पुगेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक अत्तालिएका छन् । करोडौँ कमिसनको खेलमा विराट पेट्रोलियम र पेट्रोलिम्याक्स प्रालिसँग चर्को मूल्यमा इन्धन आपूर्ति सम्झौता गरेर नेपाल आयल निगम डुबाउने खेलमा लागेका कार्यकारी निर्देशक खड्कासहित निगम र मन्त्रालयका केही उच्चपदस्थ अधिकारीहरु समेत मन्त्री पुनलार्ई असफल बनाउन लागिपरेको स्रोतको दाबी छ । चीनबाट इन्धन ल्याउने विषयमा सम्बन्धित निकायका अधिकारीहरु नै असहयोगी भूमिकामा देखिएपछि मन्त्री पुन चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा अग्रसर हुँदै चिनियाँ पक्षसँग वार्ता गर्न बेइजिङ पुगेको मन्त्रीनिकट स्रोतको दाबी छ ।

विराट पेट्रोलियमसँग कमिसनको लोभमा चर्को मूल्यमा इन्धन खरिद गर्ने गरी जारी गरिएको २० करोड रुपैयाँको एलसी काण्डमा संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति र सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेपश्चात् अत्तालिएका खड्काले मध्यरातमा विराटलाई निगमसँगको ठेक्का सम्झौता खारेज गर्न लगाएका थिए । आजको आर्थिक दैनिकमा मदन भण्डारीले खबर लेखेका छन् ।

ratopati.com

काठमाडौं, मंसिर १ । भारतसँगको सीमावर्ती जिल्लाहरुमा दोहोरो नागरिकताधारीको संख्या उल्लेख्य रहेको तथ्य भारतीय पक्षबाटै प्रकाशमा ल्याइएको छ ।

भारतीय अखबार ‘नवभारत टाइम्स’ ले मंगलबार जनाएअनुसार भारतको उत्तरप्रदेश राज्यको महाराजगंज जिल्लामा मात्र लगभग २० हजारजनाले दोहोरो नागरिकता लिएका छन् । उनीहरुसँग नेपाल





र भारत दुबै देशको नागरिकता रहेको सो पत्रिकाले दाबी गरेको छ ।

पत्रिकामा भनिएको छ, ‘महाराजगंज जिल्लाको ८० किलोमिटर लोमो सीमा नेपालसँग जोडिएको छ, जहाँ ४० गाउँका लगभग २० हजार नागरिकसँग दोहोरो नागरिकता छ ।’

उनीहरुले निर्वाचनका समय दुबै देशमा मताधिकार प्रयोग गर्दै आएको पनि सो पत्रिकाले जनाएको छ ।

उक्त पत्रिकाले आगामी डिसेम्बरमा हुन लागेको स्थानीय निर्वाचनलाई आधार बनाएर प्रकाशित गरेको समाचारमा दोहोरो नागरिकता लिनेहरु एउटा समस्याका रुपमा देखिएको जनाएको छ ।

नेपालको नागरिकता लिइसकेका भारतीयलाई भारतमा मताधिकारबाट वञ्चित गरिनुपर्ने सन्देश उक्त समाचारमा दिन खोजिएको छ ।

मधेस आन्दोलनका क्रममा अंगीकृत नागरिकताधारीका लागि समान अधिकारको माग उठिरहेको सन्दर्भमा भारतीय अखबारले नै दोहोरो नागरिकताधारीको समस्यालाई उजागर गरेको परिस्थिती आफैंमा विचारणीय र गम्भीर छ । सीमावर्ती क्षेत्रको एउटा भारतीय जिल्लामा मात्र २० हजारभन्दा बढीसँग नेपालको नागरिकता छ भने पूर्व मेचीदेखि महाकालीसम्मका सीमावर्ती भारतीय जिल्लाहरुमा नेपाली नागरिकताधारीको संख्या कति होला ? अनुमान गर्न कठिन छैन ।


Sunday, November 15, 2015

काठमाडौं, २९ कात्तिक । फ्रान्सको राजधानीमा पेरिसमा शुक्रबार राति भएको श्रृंखलाबद्ध हमलाको जिम्मेवारी लिएको आतंकवादी संगठन इश्लामिक स्टेट(आईएस)ले अब भारत कब्जा गर्ने योजना बनाएको छ ।

संसारमा ७० भन्दा बढी देशमा प्रभाव पारिसकेको आईएसले अब दक्षिण एसियाको लोकतान्त्रिक मुलुक भारतलाई आफ्नो कब्जामा पार्ने योजना बनाएको हो । मुश्लीम समुदायका लागि विभिन्न देशका सहरहरु कब्जा गरेर छुट्टै राज्य घोषणा गर्दै हिडेको आईएसले भारतमा धेरै संख्या मुश्लीम रहेकाले कब्जामा लिने धम्कीसहितको भिडियोलाई उद्धृत गर्दै बेलायतका सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपी एसियाका चीन र भारत आइएसको प्रत्यक्ष विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतलाई आएइएसले धम्की दिँदै आएको छ । अहिले आईएसको निशानामा पाकिस्तान भन्दा पनि भारत परेको छ । किनकि पाकिस्तान मुश्लीम समुदायलाई त्यहाँको सरकारले पर्याप्त अधिकार दिएको छ । तर, भारतले मुश्लीमलाई अधिकार दिनुको सट्टा कुटिकिुटि मारेर असहिष्णूता फैलाइरहेको छ ।

हालै बेलायतबाट प्रकाशित एक रिपोर्टमा आइएसले २० वर्षभित्र पुरै भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ । दिल्लीमा केन्द्रीय सुरक्षा निकायको बैठक समेत बसेको थियो ।
अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।

हाल नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले आइएसको धम्कीपछि हरेक सहरमा सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । मुश्लीम समुदायको अधिकार लागि आईएस विश्वसँग लडिरहेको छ । शुक्रबार मात्रै आइएसले पेरिसमा आक्रमण गरेर १२८ जनाको ज्यान लिएको थियो । (एजेन्सीको सहयोगमा)

Monday, November 9, 2015

काठमाडौं- पेट्रोलियम पदार्थको चरम संकट देखाउँदै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का विराटनगरस्थित विराट पेट्रोलियम प्रालिलाई नै पुनः तेल आपूर्ति ठेक्का दिलाउन ज्यान फालेर लागेका छन्।


निगमले विराटसँगको सम्झौता खारेज गरेको २४ घन्टा नबित्दै खड्का आफैं तेल आपूर्ति ठेक्का पुनः विराटलाई नै दिलाउन लागिपरेका हुन्। 'विराट तेल आपूर्तिका लागि एकदमै सक्षम कम्पनी हो,' खड्काले निगममा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, 'उसले तेल आपूर्ति नगरेसम्म अहिलेको संकट टार्न सम्भव छैन।'

सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदले जसरी भए पनि तेल ल्याएर संकट टार्न दिएको अधिकार प्रयोग गरेरै भए पनि विराटलाई आपूर्ति जिम्मा दिनुको विकल्प नरहेको उनले जिकिर गरे।

'अहिले कमिसनको कुरा छाड्दिनुस्,' उनले भने, 'अहिले जनतालाई पेट्रोलियम पदार्थ चाहिएको हो, कमिसनसँग मतलब छैन।' खड्काले असोज ३० गते २० करोड रुपैयाँ अग्रिम भुक्तानीसहित विराटलाई अनधिकृत रूपमा पेट्रोलियम आपूर्ति ठेक्का दिएका थिए। यो विषय सार्वजनिक भएपछि व्यवस्थापिका संसदका सार्वजनिक लेखा, उपभोक्ता हितसम्बद्ध र अन्तर्राष्ट्रिय श्रम समितिले बेग्लाबेग्लै छानबिन थालेका थिए। विवाद चर्किएपछि निगमले आइतबार मात्र उक्त ठेक्का खारेज गरेको थियो।

खड्का भने पुनः सोही कम्पनीलाई ठेक्का दिलाउन आन्तरिक गृहकार्यमा लागेको स्रोत बताउँछ। पेट्रोलियम पदार्थको चरम अभाव देखाएर तेल आपूर्तिको ठेक्का विराटलाई नै दिलाउने खेलमा खड्का लागेको निगम स्रोतको दाबी छ। विराटलाई दिएको ठेक्का खारेज गर्ने र अग्रिम भुक्तानीसमेत फिर्ता लिने बताएको भोलिपल्टै सोमबार सोही कम्पनीलाई तेल आयातको ठेक्का नदिए चरम संकट देखा पर्ने खड्काको अभिव्यक्ति सार्वजनिक भएको छ।

हालको आपूर्ति अवस्थाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विराटले तेल ल्याउन सक्ने बताए। 'पेट्रोलियम पदार्थ ल्याउँदा निजी क्षेत्र एक्लैले ठूलो रकम लगानी गर्न सक्दैन,' उनले भने, 'त्यसैले अग्रिम भुक्तानी दिनुको विकल्प छैन।' यसअघि निगमले मागेको आशयपत्रमा २२ कम्पनी सहभागी भएकामा ११ वटालाई तेल ल्याउन 'नो अब्जेक्सन लेटर' दिइएको थियो।
'विराटजस्तो राम्रो कम्पनीले तेल ल्याउन खोज्दा सबै लागेर रोक्ने प्रयास भयो,' पत्रकार सम्मेलनमा खड्काले भने, 'यो राम्रो कुरा होइन, सक्षम कम्पनीले अहिलेको संकट टार्न खोज्छ भने दिनुपर्छ।'

अधिकांश समय विराटको सकारात्मक चर्चा गर्न भ्याएका खड्काले कमिसन खाए पनि तेल ल्याउनुपर्ने बताए। 'संकटका बेला अलि–अलि कमिसनको खेल हुन्छ,' उनले भने, 'त्यस्ता कुरालाई बढी प्राथमिकता दिनु आवश्यक छैन।'

धनगढी नाका त्रिनगरका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार साँझ तीनवटा डिजेलका ट्यांकर नाकाबाट नेपाल भित्रिएको बताए। एक ट्यांकर नाकापारि गौरीफन्टामै रोकेर राखिएको उनले जनाए।

कार्यकारी निर्देशक खड्काले इन्धन आपूर्ति ठप्प भएको बताएपछि धनगढीबाट तीन ट्यांकर डिजेल पेट्रोलका गाडी नेपाल भित्रिएका छन्। त्यसैगरी, भैरहवा नाकाबाट पनि १० वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल भित्रिएको भैरहवा डिपोका प्रमुख दिनेश यादवले जानकारी दिए।

कार्यकारी निर्देशक भने सात दिनदेखि एकथोपै पेट्रोलियम पदार्थको आयात नभएको भन्दै विराटलाई तेल आयात ठेक्का दिलाउन कम्मर कसेर लागेका छन्। जनतालाई तेल नदिने, बजारमा चरम अभाव देखाउने र यही मौकामा विराटलाई ठेक्का सुम्पने खेलमा खड्का लागेको निगम स्रोत बताउँछ।

धनगढीबाट १ सय ६५ किलोमिटर दुरीमा रहेको इन्डियन आयल कर्पोरेसनको बनथरा तेल डिपोमा शुक्रबार भरिएका चारवटा डिजेलका ट्यांकर शनिबार बिहान ४ बजे गौरीफन्टा नाका पुगेका थिए। रक्सौल नाकाबाहेक अन्यबाट पेट्रोलियम पदार्थ आइरहेको छ। तर, कार्यकारी निर्देशक खड्काले सात दिनदेखि एक थोपै नआएको दाबी गर्दै विराटलाई दिन खोजेका हुन्।

निगमका अनुसार विराट आयलले प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र डिजेल १ सय ८७ रुपैयाँमा आपूर्ति गर्ने गरी ठेक्का दिन खोजिँदैछ। सम्बद्धस्रोतका अनुसार प्रस्ताव पेस गरेका अन्य कम्पनीले विराटको भन्दा लिटरमा ३० रुपैयाँसम्म कम मूल्यमा आपूर्ति गर्ने उल्लेख गरेका थिए। उनीहरूले आफ्नै खर्चमा तेल ल्याउने र त्यसलाई निगमले खरिद गरिदिनुपर्ने प्रस्तावसमेत गरेका थिए।

'तर, कार्यकारी निर्देशक खड्काले प्रतिस्पर्धी २१ कम्पनीको प्रस्ताव पन्छाउँदै निगमकै पैसाले तेल किनेर आफैं मूल्य तोक्दै निगमलाई नै बेच्ने गरी विराटलाई ठेक्का दिलाएका थिए। विराटले बिनालगानी ४ करोड ४ लाख रुपैयाँ चोखै कुम्ल्याउने पक्का भएपछि संसदका धेरैजसो समितिको ध्यान त्यतातर्फ गएको हो।
nagariknews

Tuesday, November 3, 2015

-
सुदीप श्रेष्ठ
भारतीय राजदूत रणजित रेले सोमबार दिउँसो ३ बजे केही सम्पादकलाई डाकेका थिए, प्रेस ‘ब्रिफिङ’ का लागि। त्यसको लगभग एक घन्टाअघि वीरगन्जमा प्रहरीको गोली लागेर एक भारतीय युवकको मृत्यु भयो।<


 
स्वाभाविक थियो, नेपाली सुरक्षाकर्मीको गोलीबाट आफ्नो नागरिक मारिएको घटनालाई भारतीय राजदूतले प्राथमिकतासाथ प्रस्तुत गर्नेछन्।
 
उनले त्यसै गरे।
 
वीरगन्ज गोलीकान्डले नेपाल–भारत सम्बन्धमा उत्पन्न जटिलतालाई थप पेचिलो बनाइदिएको छ। यसले भारतीय नाकाबन्दी कडा हुने र लगभग दुई महिनादेखि पेट्रोलियम अभावसँग जुधिरहेका उपभोक्ताका लागि आगामी दिन अझ कठिन र चुनौतीपूर्ण हुने प्रस्ट संकेत देखापरेका छन्।
 
पहिलो संकेत, भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी आफ्ना मालवाहक गाडीलाई ‘नेपाल जाने खतरा नमोल्न’ सुझाव दिएको छ। दोस्रो, भारतीय सुरक्षाकर्मीले सीमावर्ति क्षेत्रमा कडाइ गर्न थालेका छन्।
 
तेस्रो संकेत भने भारतीय राजदूतले सोमबार दिउँसोको प्रेस ब्रिफिङमै दिएका थिए।
 
चीनसँगको पेट्रोलियम आपूर्ति समझदारीबारे टिप्पणी गर्दै उनले भनेका थिए, ‘इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालको बजार हेरेर पूर्वाधार विस्तार योजना अघि बढाइरहेको थियो। नेपालले एकतिहाइ तेल चीनबाट ल्याउने भएपछि बाँकी परिमाणका लागि आइओसीले त्यति ठूलो पूर्वाधार बनाउनु नपर्ला कि!’
 
वीरगन्ज घटनालगत्तै भारतीय राजदूतको यो ‘व्यंग्यात्मक’ टिप्पणीभित्र कूटनीतिक अर्थ लुकेको पक्कै छ।
...
 
वाणिज्य तथा आपूर्ति, परराष्ट्र र आयल निगमका अधिकारीको कुरा सुन्दा, सरकारको मनस्थिति ‘क्रसरोड’ मा उभिएको त्यो यात्रुको जस्तो छ, जसलाई सही बाटो ठम्याउन दुविधा भइरहेको छ।
 
भारतसँगको सम्बन्धमा चिसोपना आएपछि सरकारले उत्तरी छिमेकी चीनसँग पेट्रोलियम आपूर्ति प्रक्रिया अघि त बढायो, तर त्यसलाई व्यापारिक रूप दिन औपचारिक सम्झौतादेखि भएका सडक पूर्वाधार मर्मतसम्भारमा समेत तात्तिएर अघि बढिहाल्न सकेको छैन।
 
नेपालले आफ्नो कुल मागको एकतिहाइ चीनबाट आयात गर्ने सैद्धान्तिक सहमति जनाएको छ। आपूर्तिका विषयमा आर्थिक तथा प्राविधिक कुरा टुंगो लगाउन भने बाँकी नै छ। मूल्य, आयात विधि, रूट, प्रक्रिया लगायतमा आयल निगम र चिनियाँ समकक्षी चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) बीच थप छलफलपछि मात्र व्यापारिक सम्झौता हुनेछ। सम्झौताको निम्ति पहल गर्ने जिम्मा अब आयल निगम वा नेपाल सरकारकै हो।
 
चीनबाट अनुदानमा प्राप्त १३ लाख लिटर पेट्रोलसम्म त ठिकै छ, सम्झौता गरेर औपचारिक रूपमै किन्न थालेको अवस्थामा भारतको रणनीति के हुनेछ भन्नेले सरकारलाई निर्णय गरिहाल्न अप्ठ्यारो पारिरहेको उच्च सरकारी स्रोतहरू बताउँछन्।
 
यो परिस्थितिमा चीनसँग समझदारी गरेर आएका अधिकारी व्यापारिक सम्झौताको प्रक्रिया अघि बढाउन सरकारको ‘ग्रिन सिग्नल’ कुरिरहेका छन्। सरकार भने यसबाट उत्पन्न हुनसक्ने भारतीय प्रतिक्रिया आँकलन गर्दै दक्षिणी नाडी छाम्न खोजिरहेको बुझिन्छ।
 
यसबीच निगमले अनुदानित तेलको पहिलो खेप काठमाडौं आइपुगेको जानकारी दिँदै व्यापारिक सम्झौतातर्फ अघि बढ्न चिनियाँ पक्षलाई पत्र पठाइसकेको नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका छन्। पहिलो खेपमा १२ ट्यांकरले ओसारेको पेट्रोल काठमाडौंको थानकोट डिपो आइपुगिसकेको छ। दोस्रो खेप पनि आउने क्रममा छ।
 
‘पहिलो खेप आउनेबित्तिकै हामीले व्यापारिक कारोबार सम्भव रहेको जानकारीसहित मूल्य, परिमाण लगायत विषयमा थप वार्ता गर्न पेट्रो चाइनालाई चिठी पठाइसकेका छौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सरकारी तहबाट वार्ताको निम्तो गर्न वाणिज्य मन्त्रालयलाई पनि चिठी बुझाइसकेका छौं।’
 
निगमको यो पत्राचारमा चीनसँग समझदारीपत्र हस्ताक्षरदेखि पेट्रोल आयात गर्दाको अनुभवसम्म समावेश गरिएको उनले बताए।
 
देशको राजनीति तथा अर्थतन्त्रमै दुरगामी प्रभाव पार्नसक्ने ‘क्रसरोड’ बाट अघि बढ्न सरकारका लागि ती अधिकारीहरूको अनुभव उपयोगी हुनेछ, जो चीनसँग समझदारी गर्न बेइजिङ गएका थिए। चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा गएको उक्त टोलीका केही अधिकारीले बेइजिङबाट तिब्बतको ल्हासा जहाजमा र त्यहाँबाट काठमाडौंसम्मको दुरी स्थलमार्गबाटै पूरा गरेका थिए।
 
ती अधिकारीले संगालेका अनुभवमध्ये चारवटा महत्वपूर्ण छन् :
 
पहिलो, चीनबाट नियमित तेल ल्याउन सडक र पूर्वाधारका हिसाबले सहज छ कि छैन ?
 
‘चीन नेपालको आवश्यकताअनुसार जति पनि तेल दिन तयार छ, तर महत्वपूर्ण कुरा कनेक्टिभिटी (सडक सुविधा) हो,’ बेइजिङ वार्ताको सार खिच्दै आयल निगमका भट्टराईले भने।
 
चीनबाट पेट्रोलियम ल्याउन अहिलेलाई दुईवटा सडक मार्ग उपलब्ध छन्– तातोपानी र केरुङ। वैशाख १२ को भुइँचालोपछि तातोपानी नाका बन्द छ। भुइँचालोले सडक र प्रशासनिक संरचना भत्केको कारण देखाइए पनि यो नाकालाई लिएर चीनको आफ्नै ‘रिसर्भेसन’ छ। काठमाडौंसँग नजिक तातोपानी नाका बढी चल्तीमा आए तिब्बत मामिला भड्किन सक्ने जोखिम उसले देखेको छ। त्यही भएर भुइँचालोको बहानामा सीमावर्ति खासा बजारका व्यापारीलाई रणनीतिक रूपले सिगात्से वा अन्य ठाउँमा पुनस्र्थापित गराउन सुरु भइसकेको अधिकारीहरू बताउँछन्।
 
चीनले ‘राजनीतिक रूपमा संवेदनशील’ ठानेको तातोपानी तत्काल नखुल्ने छाँट देखिएपछि नेपालको निम्ति एउटै मात्र बाटो बाँकी रहन्छ– केरुङ।
 
केरुङ नाका प्रयोग गर्दा तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेबाट इन्धन ल्याउनुपर्छ। चीनले ल्हासासम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिसकेको छ। ल्हासाबाट सिगात्सेसम्म रेलमार्ग चालू भइसकेको छ। सन् २०२० सम्म यसलाई केरुङसम्मै तन्काउने चिनियाँ योजना छ।
 
बेइजिङ वार्तामा गएका नेपाली अधिकारी ल्हासाबाट रेलमार्ग हुँदै २ सय ८३ किलोमिटर दुरीको सिगात्से पुगेका थिए। सिगात्सेदेखि केरुङसम्म दुरी ५ सय ४० किलोमिटर छ। वर्षको लगभग दुई–तीन महिना हिमपात हुने यो क्षेत्रमा चीनले दोहोरो लेनको सुविधाजनक सडक निर्माण गरिसकेको भ्रमणमा सामेल भट्टराईले बताए।
 
बाटोमा आउँदा–आउँदै हिमपातमा परेर गाडी झन्डैझन्डै चिप्लिन आँटेको स्मरण गर्दै उनले भने, ‘हिउँ पर्दा कठिन हुन्छ, तर हिउँ पन्छाएर आवागमन खोल्नु चिनियाँहरूका लागि ठूलो कुरा होइन।’ नेपाली टोलीको गाडी बीच बाटोमा चिप्लिएर फस्दा पनि चिनियाँ पक्ष तत्काल उद्धार गर्न आइपुगेको उनले बताए।
 
उनको भनाइमा, समस्या केरुङदेखि नुवाकोटसम्म हो। यो बाटोको करिब १०–१५ किलोमिटर खण्डमा फुस्फुसे पहिरो गइरहन्छ। बाटोसमेत साँघुरो छ। ट्यांकर वा अन्य सवारीको निर्वाध ओहोरदोहोर कठिन हुनसक्छ। त्यसो त यो कालोपत्रे भइसकेको बाटो हो। तर, मर्मतसम्भार अभावले कालोपत्रे खोज्नुपर्ने भएको छ। ‘ठाउँ ठाउँमा पिच सडक देखापर्छ, एकैछिनमा हराइहाल्छ,’ उनले भने।
 
भारतीय नाकाबन्दीलगत्तै निगमको एउटा टोली केरुङबाट तेल ल्याउन सकिन्छ कि सकिँदैन भनी स्थलगत अध्ययन गर्न सीमासम्म पुगेको थियो। टोलीले त्यतिबेलै यहाँको कठिनाइ भाँपेर मर्मतसम्भारको निम्ति आग्रह गरेकै हो। उक्त आग्रह सरकारको प्राथमिकतामा परेन।
 
‘हामीले मर्मतसम्भारको सिफारिस गरेलगत्तै सुरु गरेको भए अहिले धेरै काम भइसक्थ्यो,’ भट्टराईले भने।
 
सकारात्मक पक्ष के भने, काठमाडौंबाट केरुङसम्मको करिब १ सय ५० किलोमिटर सडक बाह्रै महिना चल्तीमा आउँछ। नियमित मर्मतसम्भारले अहिलेभन्दा सुविधाजनक बनाउन सकिन्छ। सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनेपछि त यो सिधै ल्हासा हुँदै मध्यचीनसँग सहज रूपले जोडिने भइहाल्यो। त्यो अवस्था विचार गरेर नेपालको आवश्यकताअनुसार केरुङमा पेट्रोलियम भण्डारण निम्ति चीनसँग औपचारिक आग्रह गर्नुपर्ने अधिकारीहरू बताउँछन्।
 
‘सिगात्सेमा पेट्रो चाइनाको ठूलो स्टोरेज छ, केरुङसम्मै रेल आउने भएपछि त्यहाँ पनि समथर जग्गा हेरेर पेट्रोलियम स्टोरेज बनाइदिन सक्छन्,’ भ्रमणमा सामेल वाणिज्य मन्त्रालयका अधिकारीले भने, ‘नेपालका लागि दुई–तीन महिनाको माग पूरा हुने गरी केरुङमा स्टोरेज बनाउन ऊ तयार हुनसक्छ।’
 
केरुङमा स्टोरेज क्षमता विस्तारसँगै नेपालले पनि नुवाकोटको कुनै समथर भूमि हेरेर डिपो स्थापना गर्न सक्ने उनको भनाइ छ। टोलीले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार नुवाकोटको पिपलटार यसको निम्ति सम्भाव्य हुनसक्छ।
 
‘भारतबाट आउने तेल अमलेखगन्जमा जम्मा गरेर देशभरि वितरण गरेजस्तै चीनबाट आउने तेल पिपलटारमा जम्मा गर्ने हो भने सोझै काठमाडौं ल्याउन र गल्छीको बाटो पश्चिमतिर लैजान सजिलो पर्छ,’ वाणिज्यका ती अधिकारीले भने, ‘केरुङको स्टोरेजबाट पिपलटारसम्म पाइपलाइन बिछ्याउने योजना पनि अघि बढाउन सकिन्छ, जसले ढुवानी अझ सहज हुन्छ।’
 
दोस्रो, पेट्रोलियम आयात त सम्भव देखियो, के ग्यास ल्याउन पनि त्यत्तिकै सहज छ ?
 
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनका अनुसार अहिले मूल समस्या नै खाना पकाउने ग्यासको हो। चीनबाट अन्य इन्धन ल्याउन सम्भव देखिए पनि चिसो मौसम र साँघुरो सडकका कारण ग्यास ढुवानी कठिन रहेको उनले बताए।
 
निगम र नेपालका उद्योगहरूसँग ग्यास ढुवानी गर्ने बुलेट छैन। अहिलेसम्म आइओसीकै बुलेटबाट ग्यास भित्रिँदै आएको छ। पेट्रो चाइनाले प्रयोग गर्ने २८ टनको बुलेट केरुङको बाटो ल्याउन अप्ठ्यारो रहेको अधिकारीहरू बताउँछन्। एउटै आस भनेको १४ टनको बुलेट हो। चीनका अन्य पेट्रोलियम कम्पनीले यो आकारको बुलेट प्रयोग गर्दै आएका छन्। त्यसलाई नेपाल ल्याउन सकिन्छ कि सकिँदैन भन्नेतर्फ अध्ययन हुन बाँकी छ।
 
‘केरुङबाट ठूला ग्यासका बुलेट ल्याउन सकिन्न,’ वाणिज्य मन्त्री पुनले सेतोपाटीसँग भने, ‘पेट्रो चाइनाले प्रयोग गर्ने २८ टनको बुलेट ल्याउन नसके पनि १४ टनको ल्याउन सकिन्छ कि भनेर हामी अध्ययन गर्दैछौं।’
 
ध्यान दिनुपर्ने तेस्रो कुरा हो, मूल्य अनुपात।
 
केरुङ बजारमा पेट्रोलको खुद्रा मूल्य १ सय १५ रुपैयाँ हाराहारी छ। यसमा चीनको आन्तरिक करसमेत जोडिएको छ। नेपालले औपचारिक आयात गर्ने हो भने आन्तरिक करमा छुट पाउनसक्छ, जुन भारतबाट पाउँदै आएको छ। ढुवानी लागतका हिसाबले भने चीनबाट ल्याउँदा महँगो पर्नेमा निगमका अधिकारी सहमत छन्।
 
चीनबाट तेल ल्याउँदा कति मूल्य पर्नसक्छ भन्नेबारे केहीअघि अर्थ मन्त्रालयमा अनौपचारिक छलफल भएको थियो। त्यसले निकालेको मोटामोटी हिसाबअनुसार काठमाडौंसम्म आइपुग्दा भन्सार र भ्याटबाहेक पेट्रोल प्रतिलिटर १ सय ३५ रुपैयाँ पर्ने स्रोत बताउँछ। भन्सार र भ्याटसमेत जोडेपछि यो थप महँगो पर्नेछ। अनुदानित तेल ल्याउँदा त भन्सार छुट नदिएको सरकारले व्यापारिक कारोबार सुरु भएपछि भन्सार लिँदैन भनी पत्याउन मुश्किल छ। तैपनि आन्तरिक कर समायोजन गरेर केही सहुलियत दिन सकिनेमा निगम अधिकारी विश्वस्त छन्।
 
उनीहरू त कतिसम्म सकारात्मक छन् भने, वार्षिक निश्चित परिमाणको तेल सधैं किन्ने विश्वास दिलाए चीनले प्रचलित बजार मूल्यमा फरक नपर्ने गरी उपलब्ध गराउनसक्छ। बेइजिङ वार्ता क्रममा मूल्यको कुरा गम्भीर रूपमा नउठाइएकाले तत्काललाई यो यकिन भन्न सकिन्न।
 
‘दीर्घकालीन योजनासहित अघि बढ्ने हो भने अहिले केही महँगो परे पनि रेलमार्ग, स्टोरेज र पाइपलाइन विस्तारपछि लागत कम हुनसक्छ,’ निगमका भट्टराईले भने, ‘पेट्रो चाइनासँग हुने अबको वार्तामा मूल्यबारे छलफल हुनेछ।’
 
चौथो, चीनबाट तेलसँगै भूराजनीतिक प्रभाव पनि भित्रिने जोखिम।
 
चीनसँग तेल किन्नु दीर्घकालीन रूपमा सम्भव भए पनि तत्काल यसले नेपालको माग धान्न नसक्ने बेइजिङ गएका अधिकारीहरू स्वीकार गर्छन्। वाणिज्य मन्त्री पुनले पनि चीनबाट मात्र आयात गरेर तत्काल नेपालको माग पूरा नहुने बताएका छन्। अर्कातिर, एकतिहाइ मात्रै ल्याउनलाई पनि केही आधारभूत संरचनाको तयारी जरुरी छ, जुन निश्चित रूपमा रातारात हुनेवाला छैन। सबभन्दा ठूलो कुरा त, हामीसँग बाह्रै महिना चल्ने सडक त छ, तर त्यो जुन हालतमा छ, त्यही हालतमा देशको ‘लाइफ लाइन’ बन्न सक्दैन। 
 
भौगोलिक दुरी तथा सडकको कठिनाइ बेइजिङले पनि बुझेको छ। त्यही भएर चिनियाँ तेलको विषयमा बढी प्रचारप्रसार गरेर जनअपेक्षा नउकास्न उसले सुझाउँदै आएको अधिकारीहरू बताउँछन्। अर्कातिर, नेपालतर्फ सहयोगको हात बढाउँदा आर्थिक रूपले नजिकिँदै गएको भारतसँगको भूराजनीतिमा पर्ने प्रभाव चीनकै लागि पनि चासोको विषय हुनेछ। जुन दिन नेपालसँग पेट्रोलियम समझदारी भयो, त्यसै साँझ चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीले ‘नेपाल मामिलामा भारतसँग छलफल गर्न सक्ने’ जनाउ दिनु त्यसैको संकेत हुन सक्छ।
 
यो स्थितिमा भारतले निहुँ खोजेर आपूर्ति ठप्पै पार्न सक्ने जोखिम छँदैछ। भारत सरकारले प्रत्यक्ष केही नबोले पनि नेपालको तेल आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई हतियार बनाउनसक्छ। नेपालको तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा पारवहन सुविधा नदिएर खोँचे थाप्नसक्ने सम्भावना पनि नकार्न सकिन्न।
 
बेइजिङ समझदारी अघि बढाउने कि भारतसँग कुरा मिलाउनतिर लाग्ने भन्ने ‘क्रसरोड’ मा सरकार दुविधाग्रस्त उभिनुको कारण यही भूराजनीतिक प्रभाव नै हो।
 
त्यसो भए अब के त ?
 
वीरगन्ज काण्डपछि भारतसँगको सम्बन्धमा नयाँ जटिलता उत्पन्न भएको छ। मधेसवादी दलहरूसँग वार्ता भाँडिने खतरा बढेको छ। यसले भारतको नाकाबन्दी अझ कडा हुनसक्छ। भारतीय राजदूतले आइओसीलाई जोडेर गरेको व्यंगात्मक टिप्पणी, विदेश मन्त्रालयको विज्ञप्ति र प्रधानमन्त्री नरेन्द्र मोदीकै चासोले आगामी दिनमा स्थिति असहज हुँदै जानेतर्फ नै संकेत गर्छन्।
 
वाणिज्य तथा आयल निगमका अधिकारीको रायमा, यो अवस्थाले चीनसँगको पेट्रोलियम आपूर्ति समझदारीलाई औपचारिक व्यापारिक सम्झौतामा बदल्ने खाँचो बढाएको छ। आपूर्ति थप असहज हुने स्थिति हेर्दा चीनबाट थप तेल झिकाउनुको विकल्प छैन। व्यापारिक सम्झौता नै नगरी थप तेल माग्न सकिन्न। यसो गर्दा आइओसीले व्यापारिक सम्बन्ध नै तोड्ने जोखिम त छ, तर चीनसँगको समझदारी भारतीय रवैयाकै परिणाम हो भनेर आफ्नो तर्क जोडदार रूपमा राख्नुको विकल्प छैन।
 
अर्को कुरा, जोखिमका बाबजुद चीनसँग समझदारी गरिसकेपछि अब भारतको डरले व्यापारिक सम्झौतालाई पछाडि धकेल्ने हो भने यो प्रक्रिया यहीँ तुहिनेतर्फ पनि अधिकारीहरू शंका व्यक्त गर्छन्।
 
‘यस्तो अवस्थामा पनि सम्झौता गर्न सकेनौं भने चीनबाट व्यापारिक रूपमा तेल ल्याउने सम्भावना त्यसै तुहिन्छ,’ निगमका नायब कार्यकारी निर्देशक भट्टराईले भने, ‘अहिले पनि हुन नसकेको सम्झौता अब कहिल्यै हुन्न।’
 
यति लामो बाटो हिँडेपछि पछाडि फर्कंदा चीनकै विश्वास पनि गुम्ने उनले बताए। ‘चीनसँग समझदारी गरेर हामीले फस्ट टर्म जाँच पास गर्यौं, अनुदानित तेल काठमाडौंसम्म ओसारेर सेकेन्ड टर्म पास गर्यौं, अब फाइनल जाँच व्यापारिक सम्झौतापछि मात्र पास हुनेछौं,’ उनले भने।
 
सबभन्दा महत्वपूर्ण कुरा, कुनै पनि राजनीतिक मतभेद आउनेबित्तिकै भारतले तेलको अस्त्र प्रयोग गरेर नेपाललाई झुकाउँदै आएको छ। २०२७ सालमा उत्तरी क्षेत्रबाट भारतीय चेकपोस्ट हटाउँदा होस् वा २०४५ मा चीनसँग हतियार सम्झौता गर्दा, भारतले हरेकचोटि राजनीतिक खटपटमा प्रतिशोध साँध्न तेल आपूर्तिलाई नै हतियार बनाउँछ। यी सबै परिस्थितिमा नेपालले कुनै न कुनै रूपमा आफ्नो सार्वभौमिकता र आत्मस्वाभिमान सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था भोग्दै आएको छ। 
 
नेपालको यो निरीहता तबसम्म कायम रहन्छ, जबसम्म पेट्रोलियम पदार्थजस्तो ‘लाइफ लाइन’ का निम्ति भारतसँग मात्र निर्भर रहन्छ। देशको सार्वभौमिकता र स्वाभिमानमा सम्झौता गर्नुपर्ने परिस्थिति फेरिफेरि नआओस् भनेर पनि यो निर्भरता अन्त्य गर्नुपर्ने खाँचो छ।
 
‘हामीले अहिले चीनसँग सम्झौता गरिहाल्यौं भने त्यो निर्भरता केही हदसम्म अन्त्य हुनेछ,’ निगमका नायब कार्यकारी निर्देशक भट्टराईले भने, ‘एकचोटि सम्झौता गरिसकेपछि चीनबाट तेल आयात गर्ने सहज वातावरण बन्दै जानेछ। भोलिको सरकारले पनि यसलाई निरन्तरता दिन बाध्य हुनेछ।’
 
‘यो वास्तवमै नेपालको निम्ति नीतिगत डिपार्चर (फड्को) को घडी हो,’ उनले भने। 

setopati

Monday, November 2, 2015

Kamal Thapa rejects Signature about blockade

  • मन्त्री कमल थापाले हस्ताक्षर बुझ्न नमानेपछि परराष्ट्र मन्त्रालय बाहिर कोणसभा गरेर विरोध जनाउँदै युवा संघ

१६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री कमल थापाले भारत विरुद्धको हस्ताक्षर बुझ्न नमानेपछि एमाले सम्बद्ध युवा संघ नेपालले ५ लाखको हस्ताक्षर मन्त्रालयमा दर्ता गराएको छ ।

समय दिएर पनि आफूहरु पुगिसकेपछि थापाले कार्यक्रम रद्द गरेको युवा संघका उपाध्यक्ष रमेश पौडेलले बताए । ‘उहाँले समय दिएर पनि क्यान्सिल गर्नुभयो, नियतमाथि प्रश्न उठाउने ठाउँ छ,’ पौडेलले भने ।

Rajib Pahari

राजिव पहारी

भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीका विरुद्ध युवा संघले काठमाडौंमा ५ लाख जनताको हस्ताक्षर संकलन गरेको अध्यक्ष राजिव पहारीले बताए ।

मन्त्री थापाले संकलित हस्ताक्षर बुझ्न नमानेपछि युवा संघले परराष्ट्र मन्त्रालयको प्रांगणमै कोणसभा आयोजना गरी मन्त्री थापाको बिरोध गरेको छ ।

भिडियो हेर्नुस्

कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष पहारीले भने, ‘नेपाली जनताले दिएको कुर्सीमा बसेर भारतको चाप्लुसी गर्न पाइदैन । यो सरकार राष्ट्रियता स्वाधीनताको जगमा बनेको हो भन्ने कुरा मन्त्रीले बिर्सन हुँदैन ।’

५ लाखको हस्ताक्षर रहेका कपडा मन्त्रालयमै दर्ता गराएर युवा संघ टोली फर्किएको थियो । थापाले कार्यक्रम अन्तिममा रद्द गर्नुको कारण खुलेको छैन ।

Sunday, November 1, 2015


काठमाडौं, १६ कात्तिक । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले भारतले नाकाबन्दी नलगाइ पारबहन सन्धी मात्रै उल्लंघन गरेको आरोप लगाउनुभएको छ । उहाँले शब्द जे प्रयोग भए पनि भारतले नेपालमा नाकाबन्दी नलगाएको दाबी गर्नु भयो ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा उप्रधानमन्त्री थापाले भन्नुभयो, ‘तपाईहरूले जे शब्द प्रयोग गरे पनि अहिलेको आपूर्ति व्यवस्था असहज हुनु भनेको भारतले द्विपक्षीय पारबहन सन्धी उल्लंघन गरेको छ । यस विषयमा म अरु भन्न चाहँदैन । आपूर्ति व्यवस्था सहज हुन दिनुपर्छ ।’
राप्रपा नेपालका अध्यक्ष समेत रहनु भएका परराष्ट्रमन्त्री थापासँग भारतले गरेको यो नाकाबन्दी हो की होइन भन्ने पटक–पटक गरिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘तपाईले जे भने पनि म त्यो शब्द प्रयोग गर्ने पक्षमा छैन ।’
उहाँले मधेसी मोर्चाको आन्दोलनका सबै माग पूरा भएको दाबी गर्दै आन्दोलन फिर्ता लिन आग्रह गर्नु भयो ।
‘मधेसी मोर्चाले उठाएका अधिकांश माग पूरा भएका छन्’, उपप्रधानमन्त्री थापाले भन्नुभयो, ‘सिमाङ्कनको विषय राजनीतिक रहेकाले राजनीतिक रुपमै समाधान गर्नु पर्छ ।’


काठमाडौं, कात्तिक १५ । भारतले नेपालमा गर्दै आएको हस्तक्षेप निकै गम्भीर भएको बताउँदै चीनका विज्ञहरुले नेपाललाई अर्को सिक्किम बनाउने रणनीति अन्तर्गत भारतले काम गरिरहेको दावी गरेका छन् ।

नेपाल मामिलाका जानकार चिनियाँ विज्ञहरुले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पहिलोपटक बेइजिङमा सम्मेलन गर्दै ब्रिटिशकालीन रणनीति अन्तर्गत रहेर भारतले नेपालमा हस्तक्षेप बढाउँदै गएको बताएका हुन । उनीहरुले भारतको उद्देश्य नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण गरी आफ्नो अधिनस्थ बनाउने रहेकोले त्यसमा सचेत हुनुपर्नेमा जोड दिए ।

नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार, गत साता बेइजिङमा नेपालसम्बन्धी पहिलो सम्मेलन भएको थियो । उक्त सम्मेलनमा प्रोफेसर वाङ होङ वुईलगायतले नेपालमा भारतीय हस्तक्षेपका बारेमा चर्चा गरेका थिए । समाचारमा अगाडि उल्लेख छ– बेइजिङ इन्टरनेशनल युनिभर्सिटिको इण्डिया रिसर्च सेन्टरले गत साता आयोजना गरेको नेपालसम्बन्धी पहिलो सम्मेलनमा प्रोफेसर वाङ लगायतका विज्ञ र सरकारी अधिकारीहरूले नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे आफ्नो धारणा राखे। बेइजिङमा नेपाल मामिलाका ुप्राधिकार विज्ञु मानिने वाङ होङवेले नेपालबारे लामो अनुसन्धान गरी पुस्तक लेखेका छन्।

“भारतले ब्रिटिशकालीन दक्षिण एसिया रणनीतिलाई जन्मजात नै निरन्तरता दिएको छ र हिमालय दक्षिणको भूभागलाई आफ्नो सैन्य क्षेत्र मानेको छ” दिल्लीको यो नीति नै नेपाल–भारत सम्बन्धमा मुख्य समस्याका रुपमा रहेको इन्गित गर्दै प्रोफेसर वाङ होङवेले भने, “नेपालमा भारतको हस्तक्षेप धेरै गम्भिर छ, भारतका केही सेवानिवृत्त अधिकारीहरूले त नेपाल दोस्रो सिक्किम बन्नुपर्छ भनेका छन्।”

ुभारत र नेपालबीचको सिमा विवाद र चीनको दक्षिण एसिया नीतिका चुनौतीु विषय रहेको सम्मेलनको अध्यक्षता बेइजिङ इन्टरनेशनल युनिभर्सिटिस्थित इण्डिया रिसर्च सेन्टरका कार्यकारी निर्देशक सु लीयङले गरेका थिए । सुका अनुसार प्रोफेसर वाङले नेपाल–भारत सम्बन्ध दाजुभाई र नेपाल–चीन सम्बन्ध मित्रको रुपमा परिभाषित गरिँदै आएको बताए।

“भूगोल र साँस्कृतिक सामिप्यताले नेपाल–भारतबीचको सम्बन्ध दाजुभाईको जस्तो छ भने चीन–नेपाल छिमेकी मित्र राष्ट्र हुन्”, वाङलाई उद्धृत गर्दै निर्देशक सुले भने, “त्यसैले छोटो समयमा चीनले नेपालमा भारतको प्रभावलाई प्रतिस्थापन गर्न सक्दैन ।”

संविधानमा मधेशको मागलाई उचित सम्बोधन गर्न दबाब दिने क्रममा भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेसँगै बेइजिङमा नेपालको विषयलाई लिएर सरकारी र विज्ञ तहमा निरन्तर छलफल भइरहेको छ । संविधानको स्वागत गर्दै मधेशी र थारु आन्दोलनकारीको माग वार्ताद्वारा समाधान गर्न सुझाव दिएको चीनले अहिलेको संकटमा नेपाल सरकारलाई आवश्यक सबै सहयोग गर्न तयार रहेको बताइसकेको छ । पछिल्लो समय मधेलाई छुट्टयाउने अभिव्यक्ति आउन थालेपछि चीनले “राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता रक्षाका लागि” नेपालले गरेका प्रयासहरूमा आफ्नो साथ रहनेु प्रतिवद्धता फेरी दोहोर्याएका छन्।

बेइजिङमा पहिलो पटक २७ अक्टोबरमा आयोजना गरिएको नेपाल सम्मेलनमा चीनको विदेश मन्त्रालय, चाइना एकेडेमी अफ सोसल साइन्स, सिआईसिआईआर लगायतका थिङ्कट्याङक सम्वद्ध विज्ञहरू सहभागी भएका थिए । सम्मेलनमा नेपालका लागि पूर्व चिनियिाँ राजदूत चेङ सुयोङले चीन, नेपाल र भारतबीच त्रिदेशीय आर्थिक करिडोर निर्माणको पहल भइरहेको र त्यसले बेइजिङमाथि ठूलो जिम्मेवारी थपेको उल्लेख गर्दै नेपाललाई अहिले छिमेकीबाट आर्थिक लगायतका सहयोग आवश्यक रहेको बताए ।

साउथवेष्ट युनिभर्सिटिस्थित हिमालय इन्स्टिच्यूटका कार्यकारी निर्देशक सुन लीझाउले नेपालका राजनीतिक पार्टीहरू र राजाको शासनबारे चर्चा गर्दै नेपालमा चीनको सहयोग तिब्बतको सुरक्षासँग पनि सम्बन्धित रहेको खुलाए । चीनको राज्यपरिषद् अन्तर्गतको अनुसन्धान संस्थाका विज्ञ झेङ गाङले चीनको दक्षिण एसिया भूरणनीति तथा ुएक पेटी एक मार्गु नीतिमा नेपालको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

हवेइ युनिभर्सिटि अफ इकोनोमिक्स एण्ड विजनेशस्थित नेपाल अनुसन्धान केन्द्रका उपनिर्देशक सु बीन झाङ, रेन्मिन युनिभर्सिटिका पीएचडी फेलो रुपक सापकोटा लगायतले नेपाल–भारत सम्बन्ध र चीनको दक्षिण एसिया नीतिबारे आफ्नो धारणा राखेको कार्यक्रममा चीनका करिब ४० जना विज्ञ सहभागी थिए ।

Popular Posts

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook