वीरगन्ज – नेपाल–भारतको सीमा क्षेत्रमा नयाँ सीमा स्तम्भ गाड्ने क्रममा भारततर्फ परेको पर्साको पिडारीगुठी गाविसका पिडित जग्गा धनीहरुले मुअब्जाको सट्टा आफ्नै जग्गा फिर्ता पाउनु पर्ने बताएका छन् ।
सो गाविसका १९ जना नेपालीको लालपुर्जा भएकै १० बिघा आठ कठ्ठा १५ धुर जग्गा भारत तर्फ परेको छ । नेपाल र भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मत सम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा ति गाविसका नेपालीको लालपुर्जा भएकै १० बिघा आठ कठ्ठा १५ धुर जग्गा भारत तर्फ परेको हो । पिलर गाड्ने क्रममा लालपुर्जास सहितको नेपाली भुभाग भारत तर्फ परेपछि विवादीत जग्गाको गत चैत ६ गते स्थलगत अनुगमन गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको टोलीले पिडित जग्गाधनीहरुलाइ मुअब्जा दिने आश्वासन दिए पनि पिडित जग्गाधनीहरुले भने आफुहरुले मुअब्जा नभइ भारत तर्फ मिचिएको जग्गा नै फिर्ता पाउनु पर्ने बताएका हुन् ।
२००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकले तयार पारेको नक्सा अनुसार नेपाल र भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले अहिले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मत सम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाडने काम गरिरहेको छ । नयाँ स्तम्भ गाडने क्रममा भारत तर्फ परेका पिडारीगुठीको नेपाली जग्गाका सबै धनीहरुसंग लालपुर्जा छ । २०२१ /०२२ सालमा भएको सर्वे नाप नक्साका आधारमा सरकारले उनिहरुलाई २०२३ सालमा लालपुर्जा दिएको हो ।
अहिले भने २००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकले तयार पारेको नक्सा अनुसार नयाँ पिलर गाड्ने काम गरिरहेकाले २०२३ सालमा लालपुर्जा पाएकाहरुको पनि जग्गा भारत तर्फ पर्न गएको हो ।
पिठारीगुठीका पिडितहरुले चैत ५ गते जिल्ला प्रशासन कार्यालय पर्सामा गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले चैत ६ गते पिठारीगुठीमा पुगेर स्थलगत अनुगमन गरेको थियो ।
स्थलगत अनुगमन गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले नयाँ सीमा स्तम्भ गाड्ने क्रममा भारत तर्फ परेको नेपाली जग्गा फिर्ता गर्न नमिल्ने जवाफ दिदै पिडित जग्गा धनीहरुलाइ प्रमाणका आधारमा मुअब्जा उपलब्ध गराउन आफुले पहल गर्ने बताएका थिए ।
पर्सा पिडारीगुठी २ का पिडित जग्गधनी ७० वर्षिय बृद्ध चोकट राउत कुर्मीले आफुलाई जग्गाको बदला जग्गा नै चाहिने बताए ।
यस्तै एक बिघा आठ कठ्ठा जग्गा गुमाएका पिडारीगुठी ३ का लक्ष्मण दुसादले पनि आफुहरुलाइ मुअब्जा नभइ आफनो जग्गा नै फिर्ता चाहिने बताए ।
‘सिडिओ साबले मुअब्जा दिलाउछु भनेका छन्, तर हामीलाई यो कुरा पटक्कै चित्त बुझेको छैन’ , भारत तर्फ मिचिएको जग्गाको लालपुर्जा देखाउदै उनले भने , ‘हामीलाई मुअब्जा होइन हाम्रो नेपाली भूमी नै फिर्ता चाहिन्छ , नभए सरकारले अर्को जग्गा खोजेर हामीलाइ दिनुपर्छ ।’
सरकारले आफुहरुको जीउने आधार नै खोसेर भारतलाई बुझाइ दिएको आरोप उनको छ । पिठारीगुठी ३ का रामजीवन महराकी पत्नि लीलावती देवी चमारले पनि आफुलाई मुअब्जा नभइ आफनो जग्गा नै चाहिएको बताइन् । आठ कठठ जग्गा गुमाएका पिडारीगुठी २ का शीवप्रसाद महत्तोले पनि भारतमा मिचिएको जग्गा फिर्ता पाउनु पर्ने माग गरे ।
‘यो हाम्रो जन्मधर्ती हो , हामी हाम्रो आमा सरहको जन्मधर्तीलाइ मुअब्जा र पैसामा साट्न चाहन्नौ’, उनले भने ।
पर्सासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्रका मुख्य र सहायक गरि दुइ सय ३८ वटा सीमा स्तम्भ हराएका छन । भारतसँग जोडिएका पर्साको करिब १ सय सात किलोमिटर लामो खुला सीमामा मुख्य र सहायक गरी कुल एक हजार ७० सीमा स्तम्भ रहेका छन् ।
source ;- ratopati
0 comments:
Post a Comment