Tuesday, September 22, 2015



बेलायतमा गोर्खाली सेनाले सेवा गर्न थालेको २ सय वर्ष पूरा भएको अवसरमा गोर्खा सैनिकको बहादुरीको वर्णनले बेलायती अखबारहरु भरिए । ती मध्ये केहीले गोर्खा सैनिक कति भयानक हुन्छन् भन्ने बुझ्न केही घटनाहरु उल्लेख गरेका छन् । घटनामध्ये पनि ८ घटना यस्ता पनि छन् जसले गोर्खा सैनिकको बहादुरीका अगाडि जो कोही झुक्न बाध्य हुन्छ ।

सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ । त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रोसहित गोर्खाली सेनाले कैयन युद्ध लडे । त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए । अहिले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन्छन् भन्ने प्रमाणित भएको छ ।

गोर्खाली सेनाका केही बहादुरीपूर्ण घटनाहरु यस्ता छन्ः

१. सन २०१० मा अफगानिस्तानमा गोर्खाली सैनिक दिपप्रसाद पुन एक्लैले ३० तालिबानी लडाकुको एक चिहान बनाए । उनी चेकपोइन्टको छतमा बसेर ड्युटी गरिरहेका थिए । ठीक त्यहीबेला तालिबानीले एके फोर्टी सेभेन, ग्रिनेड जस्ता घातक हतियारसहित चारैतिरबाट धावा बोले । दिपप्रसादलाई मार्न तालिबानीहरु छतमा चढ्न खोजे । तर उनले आफूसँग भएको १७ ग्रिनेड, ४ सय राउन्ड गोलीले ३० जना तालिबानीलाई एक एक गरी भूँईमा बजारी दिए । पुनको बहादुरीलाई बेलायतमा उच्च बहादुरीका लागि दिइने भिक्टोरिया क्रसबाट सम्मान गरियो ।

२. सन् २००८ मा गोर्खा सैनिकको एक टोली अफगानिस्तानमा एम्बुसमा पर्यो । घटनामा युवराज राई नराम्ररी घाइते भए । क्याप्टेन गजेन्द्र आङदाम्बे, राइफलम्यान धन गुरुङ र मञ्जु गुरुङले युवराजलाई ३२५ फिट माथि खुला स्थानमा बोकेर पुर्याए । टोलीका एक गोर्खाली भने घाइते युवराजको र आफ्नो राइफल बोकेर सत्रुसँग लड्न फर्किए ।

३. सन १९४५ मा राइफल म्यान लक्ष्मण गुरुङ आफ्ना दुई साथीहरुसँग आफ्नो मोर्चामा थिए । त्यहीबेला २०० जापानी सेनाले फायर खोलिदियो । गुरुङका दुवै साथीहरु नराम्रोसँग घाइते भए । जापानी सेनाले गुरुङको सानो समूहमा ग्रिनेड फ्याक्न थाल्यो । गुरुङले सुरुका दुईवटा ग्रिनेड जापानी सेनाकै समूहमा फर्काइदिए । तर जब तेस्रो ग्रिनेड फकाउन खोजे त्यो गुरुङको दाहिने हातमा विष्फोट भयो । विष्फोटमा गुरुङका औलाहरु, दाहिने पाखुरा र अनुहारमा गहिरो चोट लाग्यो । त्यसपछि जापानी सेना गुरुङकै शिविरमा अघि बढ्यो । तर गुरुङले देब्रे हातले राइफल चलाएर ३१ जापानीलाई मृत्युको घाटमा पुर्याइदिए । त्यसपछि बाँकी जापानीले अघि बढ्ने हिम्मत गरेनन् । सो युद्धमा गुरुङको विजयी भयो । उनले पछि भिक्टोरिया क्रस प्राप्त गरे ।

४. भानुभक्त गुरुङ एक त्यस्ता योद्धा थिए जसले दोस्रो विश्वयुद्धमा एक्लैले बर्मामा जापानी सेनालाई हायलकायल पारेका थिए । जापानी सेनाको सबैजसो बंकर एक्लैले कब्जा गर्ने भानुभक्तलाई पनि भिक्टोरिया क्रसबाट सम्मान गरिएको थियो । भानुभक्तको प्लाटुनमा जब १० जनामात्रै थिए, त्यहीबेला जापानी सेनासँग घमासान युद्ध भयो । भानुभक्तको प्लाटुनलाई जापानीहरुले राइफल, ग्रिनेड, मोर्टारले प्रहार हुन थाल्यो । केही लुकेर प्रहार गर्नेहरुले पनि गरे । भानुभक्तले पनि एक रुखमा लुकेर जापानी सेनाको बंकरमा गोलाबारुद वर्षाउन थाले । आफ्ना अन्य साथीहरुकै अगाडि उनी बंकरमा अगाडि बढे । दुईवटा ग्रिनेड प्रहार गरेर जापानीको हौसलामा क्षतविक्षत पारिदिए । आफ्नो खुकुरीले दुई जापानी सत्रुको गर्दन छिनाए । अर्को एकलाई ढुंगाले हिकाएर समाप्त पारिदिए । फेरि आक्रमणमा उत्रेका तीन जापानीलाई उनले गोलीको निसाना बनाए ।

५. बेलायती सेनामा गजे घलेको ठूलो ख्याती छ । सन १९४३ मा बर्माकै लडाइमा जापानी र बमेली सेनाको अखडा कब्जा गर्न दुई पटक गोर्खा सैनिक असफल भइसकेको थियो । तेस्रो पटकका लागि घलेलाई जिम्मेवारी दिइयो । तर घले आफै घाइते थिए । उनको पाखुरा र खुट्टामा चोट थियो । तर पनि उनले आफ्ना दुश्मनहरुलाई एक एक गरी सिध्याए । त्यो बहादुरी स्वरुप बेलायतले गजे घलेलाई भिक्टोरिया क्रसले सम्मान गर्यो ।

६. गोर्खालीको बहादुरी देखेर बेलायतका एक कर्णेल नै एक पटक कायल भएका थिए । सन १९४३ मा जर्मन सेनाविरुद्ध ट्युनिसियामा युद्ध छेडियो त्यसबेला गोर्खाली सेनाको नेतृत्व कर्णेल जोन पिटरले गरेका थिए । युद्ध चर्किदै गयो । दोहोरो हानाहानमा गोर्खाली सेना खुकुरी लिएर मेसिनगन चलाइरहेका जर्मन सेनामाथि जाइलागे । युद्धमा कर्णेल जोन पनि घाइते भए । तर युद्ध नजिति उपचार गर्दीन भनेर अडान लिए । अन्ततः युद्ध जिते । कर्णेल जोनले पनि ठूलो सम्मान पाए ।

७. सन २०११ मा ३५ वर्षका रिटायर्ट गोर्खा सैनिक बिष्णु श्रेष्ठ भारतमा रेल यात्रा गरिरहेका थिए । डाकाहरुले रेल बाटो मै कब्जा गरे । त्यसपछि डाकाहरुले यात्रुका सबै रुपैयाँ, गहना लुट्न थाले । विष्णु निहत्था थिए तर उनको साथमा एउटा खुकुरी चाहिँ थियो । विष्णुले आफ्नो खुकुरी झिकेर डाकाहरुमाथि एक्लै जाइलागे । उनले तीन भारतीय डाकालाई मुला काटे झै काटेर सिध्याइदिए । आठ जनालाई उठ्नै नसक्ने गरी मुर्छीत पारे । जबकी डाकाहरुसँग खुडा, तरबार र पेस्तोलसमेत थियो । तीन जनालाई काटे पछि बाँकी डाका भागे । त्यो घटनामा रेलका महिलाहरुलाई बलात्कारबाट समेत विष्णुले जोगाए । त्यसबेला विष्णुको बहादुरीको प्रशंसा भारतीय मिडियामा धेरै भएको थियो ।

८. इन्डोनेसियाको बोर्नेओमा सन १९६५ मा तनाव बढिरहँदा क्याटेन रामबहादुर लिम्बुले तीन पटक सत्रुको किल्लामा आक्रमण गरे । पहिलो आक्रमणमा धेरै गोलाबारी भयो । सो क्रममा दुई गोर्खाली सैनिकलाई गोली लाग्यो । एकको मृत्यु नै भयो । धेरै घाइते भए । सत्रुपक्षले फाइदा लिनु अघि नै लिम्बुले ग्रिनेड प्रहार गरे । उनी एक्लैले ग्रिनेड प्रहार गर्दै सत्रुहरुलाई युद्धमैदानबाट १०० यार्ड पर धकलिदिए । त्यसपछि लिम्बुले आफना घाइते साथीहरुलाई गोलाबारीबीच बोकेर १०० यार्ड वर सुरक्षित स्थानमा ल्याए । उनको त्यो साहसलाई बेलायतले भिक्टोरिया क्रस दियो ।


भारतले नेपालको नयाँ संविधानप्रति असन्तोष जनाउँदै विज्ञप्ति निकालेपछि ट्विटर प्रयोगकर्ताले ब्यापक आलोचना गरेका छन्। भारतले आफ्नो कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो।

संविधान जारी भएको २४ घण्टा नबित्दै भारतले लगातार दुई विज्ञप्ति निकालेर आफ्नो असन्तुष्टि जनाएको थियो।

अहिले ट्विटरमा नेपालमाथिको हस्तक्षेप रोक्न भारतलाई आह्वान गर्दै ह्यासट्याग #BackOffIndia चलाएका छन्।



#BackOffIndia पाकिस्तान नम्बर १ मा छ भने यो ट्रेन्ड विश्व ब्यापी बन्दै गएको छ

यो समाचार तयार पार्दा नै वर्ल्डवाइड ट्रेन्डिङमा ह्यासट्याग परेको छ।

Sunday, September 13, 2015

फोटो :शिवराज भट्ट (गेटीगाउँमा सामाजिक सद्भाव खलबलिन नदिन बैठक बसेका थारु–पहाडी समुदाय )


धनगढी: कैलालीको अत्तरिया नगरपालिका–१२ का ६४ वर्षका डम्बर साउदले थारु युवतीसँग भगाएर विवाह गरेको पनि ४० वर्ष भयो । सोही गाउँकी जगलाल चौधरीकी छोरी ध्योमुनि चौधरीसँग उनले प्रेम विवाह गरेका हुन् ।

चार दशकअघिको थारु समाजमा पनि ससुराली पक्षले त्यो विवाहलाई सहजै पचायो । त्यसपछि साउद परिवार र थारु समुदायको विहेवारी नै चल्यो । डम्बरका जेठा छोरा राजु साउदले पनि अत्तरिया नगरपालिका–१२ का बीरबहादुर चौधरीकी छोरी कलावतीसँग विवाह गरे ।


यो उनको मागी विवाह थियो । माइला छोरा कमल साउदको पनि धनगढी नगरपालिकासँग जोडिएको फुलवारी गाविसकी दीलकुमारी चौधरीसँग विवाह भयो । कमलको विवाह भएको पनि १६ वर्ष भइसकेको छ । आफ्नो प्रेम विवाह र छोराहरूको मागी विवाह गरेका डम्बरले कान्छी छोरी शान्ति साउदको विवाह पनि थारु युवासँग गराएका छन् । शान्तिसँग अत्तरिया नगरपालिकाकै दशिराम चौधरीले २०५५ सालमा विवाह गरे ।

‘दशैंका बेला सम्धी पट्टीका सबैजना मेरो घरमा आउँछन् । टीका जमरा लगाइन्छ’ डम्बरले खुसी हुँदै भने । ‘माघीमा हामीले सम्धीको घर छाड्दैनौं ।’ थारु समुदायको दशैं भन्दा पनि ठूलो चाड माघी हो । ‘हाम्रोमा दशैंमा बोका ढालिन्छ भने थारु सम्धीकोमा माघीमा बंगुर । यो हामी दुवै समुदायको परम्परा हो’ उनले भने ।

अत्तरिया नगरपालिका मात्रै होइन, कैलालीको धेरै नगरपालिका र गाविसमा थारु र पहाडी समुदायबीचमा रगतको सम्बन्ध छ । धेरै थारु र पहाडी समुदायबीच विहेबारी चलेको छ । एकले अर्कोको चाडमा रमाउने गरेका छन् भने दुःख पिडाका बेला एकअर्कालाई सघाउने गरेका छन् ।

भदौ ८ गते सोही गाउँमा मृत्यु भएका चन्द्रराज पनेरुको मलामीमा सहभागी तीन सयजनामध्ये दुई सयजना राना र थारु समुदायका रहेको वडा नागरिक मञ्चका उपाध्यक्ष टेकबहादुर बुढाले बताए ।


‘यसरी मिलेको समाजमा अहिले काटमार भइरहेको छ । दाजुले भाइको हत्या गरिरहेको छ । चाहे सुदूरपश्चिम टुक्रियोस वा नटुक्रियोस । हामी बस्ने यही ठाउँमा हो भन्ने कुरा बुझ्नुपर्छ’, उनले भने ।

भदौ ७ गते भएको टीकापुरको हिंसात्मक घटनापछि अत्तरिया नगरपालिका–१२ गेटीगाउँका ३ सय ६० घर परिवार थारु, रानाथारु र पहाडी समुदाय सामाजिक सद्भाव नखल्बलियोस भनेर सचेत छन् । ‘कसैको व्यक्तिगत झगडा भयो भने पनि, त्यसलाई जाती विषेशमा नजोड्ने हामीले निर्णय गरिसकेका छौं । समाजिक मेलमिलाप समितिले झगडियाबीच मेलमिलाप गराई हाल्छ’ वडास्तरीय सामाजिक मेलमिलाप समिति सदस्य सोनादेवी चौधरीले भनिन् ।

‘आन्दोलनमा सहभागी भएर गाउँ फर्किएपछि, आन्दोलनका कुरा गाउँमा आएर गर्न पाइदैन । समुदायलाई दुःख लाग्ने गरी कसैले कसैलाई होच्याउने कुरा गर्न पाइदैन’ गेटी गाउँका थारु भलमन्सा यज्ञराज चौधरीले भने ।

‘मेरो घरको उत्तरतिर पहाडी समुदायका शेरबहादुर खत्रीको साँध छ । पूर्वमा डिल्लीराज ओझाको । यस्तै दक्षिणमा मीनबहादुर खत्री र पश्चिममा पदम पन्तको आली जोडिएको छ । साँधसीमाना जोडिएको ठाउँमा, पहिलो काम लाग्ने व्यक्ति छिमेकी नै हुन् । त्यसैले पनि हामी मिलेर बसिएन भने, राजनीतिक फाइदा लिने व्यक्तिले फाइदा लिइहाल्छन्’ उनले भने ।

यज्ञराजकै जस्तो पहाडी मूलका व्यक्ति मोहन चन्दको साँध सीमाना पनि पूर्वमा लाबहादुर चौधरी, पश्चिममा भागिराम चौधरी, महेश चौधरी र बुद्धिराम चौधरीसँग जोडिएको छ ।
‘अव भन्नुस म मात्रै होइन, धेरै पहाडीको साँधसिमाना थारुसँग जोडिएको छ भने धेरै थारुको पहाडियासँग । अनी हामी दुई समुदायका दाजु भाई हौं, हामीबीचमा कलहको विउ रोप्ने राजनीतिक स्वार्थपूर्तिका लागि सत्तामा जाने नेता हुन्’, उनले भने ।

गेटी गाउँका थारु र पहाडी समुदायका व्यक्तिले कैलालीको सामाजिक सद्भाव त्यति बिग्रि नसकेकाले अझै त्यसलाई सहज बनाउन आग्रह गरेका छन् । ‘हाम्रो गाउँ नमुना गाउँ हो । गेटी गाउँको सन्देश अरु ठाउँमा पनि पुर्‍याइदिनुस्’ गेटीका स्थानीय कर्णसिंह बोहराले भने । गेटी गाउँमा बसोबास गर्ने ३ सय ६० परिवारमा चौधरी थारु, खुना थारु, राना थारु र सुदूरपश्चिमको नौ जिल्लाका पहाडी समुदायको टासिएको बस्ती छ ।

गेटीका राना समुदायका अगुवा छोटेलाल रानाको विचारमा पनि थारु पहाडीबीच नङ र मासुकै सम्बन्ध छ । ‘हामी एकै नेपाल आमाका छोराछोरी हौं, नेताले कलहको विउ रोपेकाले डर भने लाग्ने गरेको छ । तराई भर सल्केको आगो गेटाको नमूना सद्भाव भएको ठाउँमा पनि सल्किन्छ भन्ने पिर लागिरहन्छ’ उनले भने ।



स्रोत :- annapurnapost.com/

Thursday, September 10, 2015

किरातीहरुको शासनकाल कमजोड भएपछि नेपाल ५३ भागमा बिभाजित भयो यसरी बिभाजित भएको नेपाललाई गोरखाका राजा पृथिबीनारा़ण शाहाको साहस र गोर्खेली सेनाको अटले एकिकरण गर्न तम्सिए र वि.स. १७९९ बाट वि.स १८६३ सम्म सेना पति अमर सिह थापा सम्म आई पुग्दा नेपालको सिमाना पुर्वमा टिस्टा देखी पस्श्चिममा सतलज सम्म एकिकृत भएर बिशाल नेपालको रचना भयो। तर 1 Nov 1814 का दिन ईस्ट ईन्डिया कम्पनिको तर्फ बाट जनरल हिस्टिगंस्ले नेपाल बिरुद्द बिधिवत युद्धको धोषणा गरे । ५ ठाउ बाट अग्रेजले नेपालमा आक्रमण गर्यो । जस्मा नेपालले ३ ठाउमा विजय हात पार्यो भने २ ठाउमा कपट पुर्ण हारको शिकार बन्यो ।

यसरी पराजयको शिकार बनेको नेपाल माथी अग्रेजले असमान र अन्याय पुर्ण सुगौली सन्धी गर्न मजबुर पारीयो
तर नेपाल त्यस्तो असमान संधि गर्न राजि नभए पछि अग्रेजले जितेका तराईको केही भू- भाग फिर्ता गर्यो र सन् 1815 Dec 2 का दिन नेपालको तर्फ बाट चन्द्र शेखर उपाध्याए र गजराज मिश्र र ईस्ट ईन्डीया कम्पनि तर्फ बाट लेफ्टेनेन्ट कर्नेल ब्राडशाहा बिच सुगैलीमा सुगैली संधिमा हस्ताक्षर भयो र नेपालले एक तिहाई भू-भाग ईस्ट ईन्डीया कम्पनिलाई सुम्पनु पर्यो ।
सन् 1857 मा भारतमा ईस्ट ईन्डीया कम्पनि सरकारको बिरुद्दमा चलेको सिपाही बिद्रोहमा जंगबहादुरले सेना सहित ठुलो सहयोग गरे त्यस बाट खुसी भएर ईस्ट ईन्डीया कम्पनि सरकारले 1860 Nov मा सुगैली संधि अनुसार नेपाल ले गुमाएको भू-भाग मध्ये बाँके, बर्दिया,कैलाली र कंचनपुर फिर्ता दियो ।


यसरी सुगौली संधि पछि २ पटक नेपालको भू-भाग फिर्ता भएपछि बर्तमान को नेपाल बन्यो सन् 1947 मा बेलायत (ईस्ट ईन्डीया कम्पनि) द्वारा भारत स्वतन्र भयो र अगस्ट १४ र १५ तारिखमा पाकिस्तान र भारतको स्थापना भयो । छिमेकी मुलुकको नाताले भारत संग नेपालको सन् १९५० मा नया संधि भयो । सन् १९५० मा भारत संग भएको संधिले बेलायत (ईस्ट ईन्डीया कम्पनि ) संग भएको सबै सन्धि हरु रद्द गर्यो अर्थात सुगौली सन्धि पनि रद्द भयो । 



त्यसै समय सन् १९५० को नेपाल–ब्रिटेन (ईस्ट ईन्डीया कम्पनि ) सन्धिबाट पनि सुगौली सन्धि रद्ध गरिएको छ !
यसर्थ सुगैली सन्धि बाट गुमेको पश्चिमको कुमाउ र गढवाल अनि पूर्वमा दार्जिलिंग र सिक्किम स्वत नेपालको हुन आउछ ।
तर बास्तबिकतामा यस्तो भएको छैन ।  भारतको संविधानमा पनि ति भू-भागहरु भारतको हो भनेर उल्लेख गरियको छैन ।
यसै मुद्दामा भारतको सुप्रिम कोर्टले पनि सम्बैधानिक रुपले गलत ठह्रायर मुद्दा खारेज गर्न सकेन र सबैधानिक रुपमा नुरुपण गर्दा ति भू-भाग फिर्ता गर्नु पर्ने स्थिती आए पछि राजनैतिक मुद्दाको करार दएर राजनैतिक रुपमा समाधान खोज्न भन्यो ।
तर भारतको दब दबा रहेको नेपालको राजनितिमा कुनै नेताले यो बिषयमा कुरा उठाउने साहस भएन र यस्तो फैसलाले भारत लाई फाईदा पुग्यो र नेपाली लाई घाटा!!


हाम्रो ईतिहास केवल विरता र गौरवको मात्र होईन थुप्रै पराजय, असफल र भोग्नु परेको अन्याय को पनि हो।
नया सोच र द्रिष्टीले जब ईतिहास खोतल्न सुरु हुन्छ तब ईतिहासले नयाँ र युगान्तकारी र प्रगतिशील आधार हरु प्रदान गर्दै जान्छ ।

Sunday, September 6, 2015

भगवती जात्रामा सहभागी नेपाली सेना । 

तत्कालिन नेपाल-अंग्रेज युद्धको सम्झनामा आइतवार पाल्पाको तानसेनमा जात्रा निकालिएको छ । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरुप तानसेनमा एक सय ९६ औं जात्रा निकालिएको हो ।


वि.सं. १९७२ मा अंग्रेजसँगको युद्धमा जानुअघि तत्कालिन तैनाथवाला कर्णेल उजीरसिंह थापाले अष्टभुजा माता भगवतीलाई लडाइँ जित्नेका साथ भाकल गरेका थिए । त्यतिबेला लडाइँ फत्ते गरी पाउँ भनी हरेक वर्ष सरकारी सम्मानका साथ रथयात्रा चलाउने कर्णेल उजीरसिंहले भाकल गरेको भन्दै सरकारी स्तरमै हरेक वर्ष रणउजीरेश्वरी भगवती जात्रा मनाउने गरिएको तानसेनका संस्कृतिविद् निर्मल श्रेष्ठ बताउँछन् ।

पाल्पाका तात्कालीन तैनाथवाला कर्णेल उजिरसिंहले भाकल पूरा भई विजय प्राप्त गरेको भन्दै विसं १८७२ मा तीनतले भगवती मन्दिर निर्माण गरेका थिए ।
भगवती जात्रा तानसेन
हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाईन यो जात्रा नेपाल अंग्रेज युद्धसँग जोडिएको हुँदा राष्ट्रिय महत्वको भनेर चर्चा हुदै आएको छ । वि.सं १८७१-७२ सालमा नेपाल अंग्रेजहरुबीच जीतगढीको युद्धमा जीत हुन नसके पनि पश्चिममा नालापानी, मलाउँ, जैठक आदि क्षेत्रमा जित भएपछि अंग्रेजहरुले आफ्नो अनुकुल नेपाललाई सुगौली सन्धीमा हस्ताक्षर गर्न बाध्य बनाएको थियो ।

सुगौली सन्धीले नेपालको सिमाना पूर्वमा मेची नदी, पश्चिममा महाकाली, दक्षिणमा चुरे पहाड साँध लगाईदियो । नेपालले अधिकांश मैदानी इलाका गुमाउनु परे पनि मुख्य विवादको रुपमा रहेकेा बुटवल भने अंग्रेजले नेपाललाई नै दियो । बुटवल नेपालले पाउने सन्धी गरिएपछि पाल्पाका तैनाथवाला उजिरसिंह थापा निकै खुशी भए ।

जीतगढीमा भएको विजयपछि खुशी देखिएका उजिरसिंहले जीतगढी युद्धमा जानुअघि तानसेनको भगवती सामु गरेको भाकल गरेका थिए । आफ्नो भाकल स्वरुप विजयी भएको विश्वासमा उजिरसिंहले तानसेनमा भगवतीको भब्य र कलात्मक मन्दिर बनाउने योजना स्वरुप वि.सं. १८७१-७२ मा भएको युद्धको समाप्तीपछि मन्दिर बनाएका हुन् ।

उक्त मन्दिर चाँडै नै भत्किन गएकोले उजीर सिंहका भाई माथवरसिंह थापा पाल्पाको तैनाथवाला भएर आएको बेला वि.सं. १८८६ मा मन्दिरको जिर्णोद्वार गराएको अभिलेख रहेको इतिहासविद् डा. कर्णबहादुर बाँनियाले भगवतीजात्राबारेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो रणउजीरेश्वरी भगवती जात्राको दिन तानसेनमा सरकारी विदासमेत दिने गरिएको छ ।

पाल्पा सदरमुकाम तानसेनमा भब्य रुपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी र स्याङ्जाबाट समेत आउने गर्दछन् ।

काठमाडौमा धार्मिक संस्कृति सँग जोडिएका विभिन्न खालका जात्राहरुलाई महत्वका साथ लिने र राष्ट्रपतिले समेत नजर गर्ने परम्परा रहेको भएपनि पाल्प्ााको ऐतिहासिक महत्वको यो जात्रालाई भने सरकारको नजर पुग्न सकेको छैन ।

पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले बि्रटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरि विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित भगवतिको रथ निकाल्ने गरिएको हो ।

वि.सं.१९९० सालको भुईचालोले मन्दिर चर्किएर १९९२ सालमा भत्किएपछि तत्कालिन श्री ३ जुद्धशमशेरबाट मन्दिर जिर्णोद्वार गराउने हुकुम प्रमांगीअनुसार उजीरसिंहकै सन्तानले मन्दिरको वि.सं.२०३१ सालमा मन्दिरको मर्मत सम्भारको लागि तत्कालिन राजा वीरेन्द्रबाट एक लाख रुपैंया निकासा गराएको स्थानीय संस्कृतिकर्मीहरु बताउँछन् ।

यो जात्रा तानसेनमा स्थानीय रुपमा मनाईदै आएको भए तापनि यो जात्राको राष्ट्रिय महत्व रहेको छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ ।

तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट बाजागाजाका साथ शुरु हुने रथयात्रा तानसेन दरबार परिसर हुँदै दरबारको मुलढोकाबाट निकालेर बजार परिक्रमा गरिन्छ । नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्राको बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने गरिन्छ ।

Saturday, September 5, 2015


निर्मल श्रेष्ठ 
सन् १८१५ जुन १८ मा वाटरलुको मैदानमा नेपोलियनको सौभाग्य सूर्यको अस्त हुनुअघि मई १८१३ मा अंग्रेजले विटोरिया भन्ने ठाउँमा फ्रान्सलाई परास्त गरी पिरेनिज पारिसम्म खेदेपछि प्रायद्विपीय युद्धमा हारसँगै नेपोलियनको पूर्ण पराजयजस्तै भइसकेको थियो। यस घटनाले अंग्रेजहरू कति हौसिएका थिए भने विश्व साम्राज्यको कल्पना बोकेर अंग्रेज सरकार र ब्रिटिसको इकोनोमिक इन्जिनको रूपमा रहेको इस्ट-इन्डिया कम्पनीले स्वतन्त्र राज्यहरूमाथि आँखा गाड्दै विभिन्न बहानामा त्यस देशको प्राकृतिक संसाधन र व्यापारमा आधिपत्य कायम गर्न खोजिरहेको थियो।


नेपालको राज्य विस्तार अभियानमा नेपालको दर्बिलो सैन्य शक्ति देखेर उत्तरको चीन र दक्षिणको कम्पनी सरकारलाई असह्य भइरहेको थियो। नेपालको बढिरहेको कदमलाई कसरी थाम्ने भन्ने ताकमा उनीहरू थिए।


राज्यविस्तार अभियानमा बृहत् नेपाल पश्चिम काँगडादेखि पूर्वमा टिस्टासम्म समेटिएको थियो। १८०९ अगस्त २४ मा काँगडाको किल्ला छोड्नुपरेपछि गोरखालीहरूको राज्य विस्तार गर्ने क्रम थामियो। तर पनि पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलजसम्म नेपालको आधिपत्य कायमै थियो।

ब्रिटिस संसद्ले इस्ट-इन्डिया कम्पनीको अधिकार पत्र (चार्टर) सन् १८१३ मा नवीकरण गर्दा इस्ट-इन्डिया कम्पनीलाई भारतमा व्यापार गर्ने एकाधिकार समाप्त गर्दै चीनसँगको व्यापार र चिया व्यापारमा मात्र सीमित गरायो। चीनमा जाने सुगम बाटो र चिया खेतीको लागि अनुकूल जमिन जुन कम्पनी सरकारलाई आवश्यक थियो, त्यो बाटो र भूभाग बृहत् नेपालको सरहदभित्र नै थियो।

सजिलै व्यापारिक मार्ग र चिया खेती योग्य भूभाग नेपालबाट प्राप्त गर्न सकिँदैन भन्ने नेपालको भित्री मनसाय बुझेका अंग्रेजले कपट गरेर भए पनि ती भूभाग हासिल गर्नेतिर उन्मुख भए। पूर्वका बाईसवटा गाउँ र बुटवल एवम् स्युराजको विषय उठाएर खिचिलो निकाल्न थाले।


नेपाल सरकार र कम्पनी सरकारबीच सन् १८०१ मा भएको व्यापार सन्धिको धारा ५ मा सीमासम्बन्धी केही विवाद भए दुवै पक्ष बसी विवादको समाधान गर्न सकिने प्रावधान थियो। तर समस्या समाधानको बाटो हुँदाहुँदै त्यसलाई लत्याई १८१४ नोभेम्बर १ मा हेस्टिङका मारक्युस मोरिया रुवान्डाले नेपालमाथि एकतर्फी युद्ध घोषणा गरे।

शक्ति पृथकीकरण गरी नेपालमाथि सर गर्ने अभिप्राय बोकी कम्पनी सरकारले नेपालमाथि पाँच ठाउँबाट हमला गर्‍यो। पाँच नाकामध्ये तेस्रो नाका बुटवल हुँदै पाल्पा सर गर्न गोरखपुरबाट जो सुलेमान उडको नेतृत्वमा भारी गोलाबारुद र ठूलो संख्यामा सेनाका साथ नेपालतिर बढेपछि नेपालको तर्फबाट बाटो-घाटो मर्मत गर्नुका साथै गढी-गौँडा, आड बनाउन पाल्पाका तैनाथवाला कर्णेल उजिरसिंह थापा लागे।

भौतिक संसाधनको तयारी गर्नुका साथै सो लडाइँमा विजय श्री प्राप्त गर्न साइत जुराउने काम पनि भयो। साइत जुराउने काममा भगीरथ जैसीको ठूलो भूमिका रह्यो। लडाइँमा विजय हासिल भएपछि भगीरथ जैसीको खुर्पाजुङमा रहेको केवलटारी बिर्तामा परिणत गरी तिरो माफ गरिएको थियो। 

कर्णेल उजिरसिंह थापाको भाकलअनुसार जितगढीको लडाइँमा विजय भएपछि उणउजिरेश्‍वरी भगवती मन्दिरमा पूजाआजा हुँदै आएको छ। 

त्यसबखत पाल्पा तानसेनको मध्येभागमा अवस्थित शक्तिको ठूलो चर्चा पाएकी महिषासुर मर्दिनी भगवतीको पाउ छोएर कर्णेल उजिरसिंह थापाले युद्धमा विजय श्री प्राप्त भयो भने विशाल मन्दिर निर्माण गरी सिन्दूर जात्रा गर्नेछु र भगवतीको महिमा चारैतिर फैलाउनेछु भनेर भाकल गरे। धार्मिक आस्थाले गर्दा लडाइँमा जाने सैनिकहरूमा जोस, जाँगर, उमंग र शक्ति थपियो।

नेपालको तर्फबाट कर्णेल उजिरसिंह थापाको नेतृत्वमा पाल्पा बुटवल क्षेत्रमा शत्रुको मुकाबिला गर्न हतियार, गोलाबारुदसहित तीन हजार नेपाली फौज बुटवलको जितगढीतिर लाग्यो। घमासान युद्ध भयो। कम्पनी सरकारबाट पाँच ठाउँबाट गरिएको आक्रमणमा चारवटा नाकाहरूमा नेपालको स्थिति प्रतिकूल हुन गयो।

तर पाल्पालाई सर गर्ने मनसाय लिएर बुटवलको जितगढीमा आक्रमण गरेको कम्पनी सरकार एकपटक होइन, पटक-पटक हार खाएर भाग्नुपर्‍यो । यस युद्धमा नेपालको विजय भयो। कम्पनी सरकारले यस युद्धमा नेपालीको रणकौशल, वीरता, धीरता र रणआतंक नजिकबाट छामेर गए।

कम्पनी सरकारको जितगढीमा पराजय भएपछि जो सुलिभान उडलाई तुरुन्तै इङल्यान्ड फिर्ता पठाइयो। सन् १८१९ मा लेफ्टिनेन्ट जनरल र सन् १८३६ मा फुल जनरलसम्म पदोन्नति भएका जनरल उड जितगढीमा पराजयपछि यिनलाई अर्को कुनै ठूलो सैनिक जिम्मेवारी सुम्पिएन। सन् १८५१ मा यिनको मृत्यु हुँदा यिनी टावर अफ लन्डनका गभर्नर थिए।

लडाइँमा विजय श्री हासिल गरेपछि भाकलबमोजिम कर्णेल उजिरसिंह थापाले तीनतले मन्दिर १८७२ सालमा सुरु गरी १८७६ मा पूरा गरी मन्दिरको प्रदक्षिणा मार्गको वायव्य कोणमा सूर्य, ईशान कोणमा विष्णु, आग्नेय कोणमा शिव, नैऋत्य कोणमा गणेशको मूर्ति साथै गर्भगृहको मध्यभागमा अष्टधातुबाट बनेको अठार बाहु भएकी महिषासुर मर्दिनी भगवतीको प्रतिमा प्रतिस्थापन गरी यसलाई दुर्गा पञ्चायनको रूप दिए।

श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दूर जात्रा गरे। यसरी भगवतीको महिमा चार चौरास फैलाउन हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी जात्रा चल्दै आएको छ। कर्णेल उजिरसिंह थापाले तीनतले मन्दिर बनाई महिषासुर मर्दिनी भगवतीको मूर्ति स्थापना गरिसकेपछि त्यस मन्दिरको व्यवस्थापन, नित्य–नैमित्तिक पूजा, वर्ष बन्धक पूजा, जात्रा सञ्चालन आदिको लागि विभिन्न गुठी राखिदिएका थिए।

यसैगरी मन्दिर स्थापना गर्दा पूजाहारीको पनि व्यवस्था गरेका थिए।वराहमिहिरले बृहत्संहितामा देवीको मन्दिरमा पूजाआजा गर्न मातृमण्डलको ज्ञान भएको पूजाहारी हुनुपर्ने विधिविधानको उल्लेख भएअनुसार ललितपुर महानगरे जय श्री मित्र संस्कारित मयुरवर्ण विहारका गौतम गोत्रका चन्द्रमणि गुभाजुलाई यस मन्दिरको पुजाहारीको रूपमा ल्याइएको थियो।

यस मन्दिरको पुजाआजा अहिलेसम्म उनैका ६ पुस्ताका दरसन्तानले चलाउँदै आएका छन्। खलकहरूबीच महिना-महिनाको पालो बाँधी मन्दिरमा पूजा गर्ने चलन छ भने चन्द्रमणिका सन्तानमा उमेरले पाकालाई मूल पूजाहारी हुने व्यवस्था छ।

कर्णेल उजिरसिंह थापाले मन्दिर व्यवस्थापनको लागि गरेको थितिलाई उनका छोरा काजी सेरजङ थापा क्षेत्री (भीमसेन थापा धर्मपुत्र ) ले निरन्तरता दिँदै पुजाहारीको थमौती गरेको थमौती पत्र लेखी दस्तखत गरेका कागजपत्र छ। भगवतीको पूजाआजा गर्न पाटनदेखि चन्द्रमणि गुभाजुलाई ल्याएको पुराना कागजबाट प्रस्ट हुन्छ।

हिन्दु मठमन्दिरमा बौद्धमार्गी पुजाहारीहरूको व्यवस्था गरिनु अचम्मलाग्दो र जातीय, धार्मिक सहिष्णुताको कुरामा हेक्का राखेको झल्किन्छ।भगवतीको रथयात्रा गर्दा कर्णेल उजिरसिंह थापाका प्रतीक उजिरसिंह थापाकै खड्गसाथ राखिने प्रचलन छ।

कर्णेल उजिरसिंह थापाले रथयात्रा सुरु गर्दा रथमा चन्द्रमणि गुभाजुका साथ रथभित्र कर्णेल उजिरसिंह थापा नै बसी बजार परिक्रमा गर्ने गरेको जन श्रुति छ । हाल मूल पूजाहारी हिक्मतबहादुर गुभाजु रथभित्र बस्ने गर्दछ।

नित्य पूजा गुरुमण्डल विधिअनुसार गरिने र जात्रा (वर्षवन्धन पूजा, कारण पूजा), कालरात्रि अष्टमी र चैते दसैंमा त्रिसमाधी तान्त्रिक विधिद्वारा पूजा गरिने गरिन्छ। श्री ७ रणउजिरेश्वरी भगवतीमा पुजाहारीलाई ४० मुरी धान खान्कीका रूपमा व्यवस्था गरिएको थियो भने मूल पुजाहारी भई जात्रामा रथभित्र बसी पूजा गर्नेलाई थप चार मुरी धान र सो दिन जम्मा भएको नगद तथा जिन्सी आधा पाउने व्यवस्था रहेको थियो।

हाल त्यो व्यवस्था खारेज भएको छ। यो मन्दिर तानसेन बजारको मध्यभागमा अवस्थित छ।राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्दै रणकौशल, वीरताको पहिचान दिँदै सरदार सूर्य थापालगायत अम्बर अधिकारी, कुम्भेदान वृषासुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहोरा, हबल्दार रणसुर बानिया एवं जुठे बस्नेतलगायत पाँच सय जनाको रगतले सिञ्चित, ठडिएको रणउजिरेश्वरी भगवती मन्दिरको सदा चम्किरहने गजुरले राष्ट्रियतालाई खबरदारी गर्दै आएको छ।

बिरालोको चिल्ला पन्जाभित्र लुकेको तिखा नङ्ग्राजस्तै बाहिरियाको दखल तीव्र भइरहेको बखत जसरी विश्व साम्राज्यका संवाहकको रूपमा देखिएको नेपोलियनलाई पनि आच्छु-आच्छु पार्न सफल भएका अंग्रेजलाई वीरता, रणकौशल र रणआतंक प्रदर्शित गर्दै पहाडको कुनाकन्दरामा पनि राष्ट्रियता र वीरता बोकेका यस्ता शक्ति रहेछ भन्ने जुन सन्देश दिए, त्यसको गोडमेल गर्नु आजको खाँचो हो।

Friday, September 4, 2015

डा.सुरेन्द्रराज देवकोटा |vai:- kantipur


टीकापुर र सुर्खेतबाट पनि नसिके मुलुक दुर्घटनामा
संसारमा नेपाल मात्रै यस्तो देश होला राजनीति गर्नेहरूले आफ्नो विषयमा भन्दा अरू विषयवस्तुमा विशेष दखल हासिल गरेका हुन्छन्। त्यसैले आज तीन÷चार?) पार्टीका सभापतिहरू हातमा सिसाकलम लिँदै मुलुकको भूगोल, इतिहास, समाज र अर्थव्यवस्था पन्छाउँदै संघीयताको नक्सा कोर्न व्यस्त देखिन्छ।



नयाँ नेपालको नयाँ नक्सा कोर्ने क्रममा बच्चा र प्रहरीहरूको अमानवीय हत्या, सर्वसाधारण नागरिकको जीवन उत्सर्ग र ५० प्रतिशतभन्दा बढी नै जनता दिनहुँको बन्दले पीडित हुन पुगे। आज कुनाकुनामा अराजकताले छाएको छ, जनमानसमा सन्त्राश र आक्रोश छ। सत्ताधारीहरू रटान् लगाउँदैछन् संविधान आउने बेलाको प्रसव वेदना हो यो ! तर के नयाँ नेपालको निम्ति सदैव रक्तपातपूर्ण राजनीति नै हाम्रो नियति हो र?


विगत सात वर्षमा नगरेको कामलाई सात हप्तामा नै टुंग्याएर राजनीतिक पुरुषार्थ देखाउने घडी टरिसकेको छ किनकि अब जति नक्सा बदलिँदै जान्छ त्यत्तिकै अनुपातमा जनता विकर्षित हुँदै गएका छन्। अहिले नक्सा÷रेखा-सिमाना जे भन्नुस्, त्यसले नै जनताको भावनमा कित्ताकाट गरेको छ वर्तमानको परिदृश्यहरूले र भोलि तिनीहरूको न्वारान गर्ने समयमा कस्तो रूप लेला (? ) अकल्पनीय लाग्छ।
त्यसपछिका समयहरूमा डाँडाडाँडामा स्वनामधारी झन्डा गाडेर कसले कसको रिसइबी फेर्ने हो सामान्य कल्पनाभन्दा बाहिर भएपछि असम्भव देखिएन । के नेपालीले खोजेको संघीयताको उद्देश्य त्यस्तै थियो र हो?

उता ठूलाबडाहरू हातमा डाडु र पन्यु लिएर जनताको टपरीमा आफूखुसी भागशान्ति गर्ने भनेर तिनीहरूले जे गरिराखेका थिए र छन्, त्यो संघीयता होइन, त्यसलाई अंग्रेजीमा 'जेरी म्यान्डरिङ' भनिन्छ। जसको भावार्थ हुन्छ-चुनाव जित्नका लागि निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यक्तिगत÷पार्टीगत चलखेल। अमेरिकी राजनीतिमा सन् १८१२ मा सुरु भएको त्यस्तो चलखेल आज नेपाली नेताहरूले भित्र्याए।

अमेरिकाको म्यासाच्युसेट्स राज्यमा तात्कालीन गभर्नर एलब्रिज जेरीले राज्यको चुनाव जित्न आफूलाई सजिलो हुने गरी चुनाव क्षेत्र निर्धारण गर्ने कानुन बनाएपछि उनको पार्टीले ४० मध्ये २९ सिट जित्यो। बोस्टनको एउटा अखबारले त्यसलाई जेरी म्यान्डरिङको फल भनेर र नामकरण गरेको थियो।

जसमा 'जेरी' गभर्नरको थर र छेपारो (स्यालम्यान्डर) जस्तो निर्वाचन क्षेत्रहरू बनाएपछि जेरी र म्यान्डर जोडिन पुग्यो। अहिले नेपाली राजनीतिमा त्यही भइरहेको छ, जहाँ संघीयताको खोलमा मात्र विभिन्न व्यक्ति÷पार्टीहरूको निर्वाचनसम्बन्धी चलखेल मात्रै भइराखेको छ किनकि तिनीहरूको बाँडफाँटमा पूर्वको नेतालाई यो मन परेन, पश्चिमको अर्को नेतालाई त्यो चाहियो, उत्तरतिरका अर्का महाशयलाई के मन परेन र दक्षिणका अर्का मूर्धन्यलाई त्यो नभई चित्त नबुझ्ने भयो।

तिनीहरूलाई न त समाजको भावना र आधार चाहियो, न त आर्थिक स्रोत, सम्पदा र सम्भावना नै आवश्यक पर्‍यो । फेरि काठमाडौंबाट नै सबै नियन्त्रण हुने भएपछि देशको भूगोल त कसैलाई जरुरत नै परेन। त्यसैले तिनीहरूले सीमांकन रेखा जति बटारे पनि तिनीहरूको मक्सद मात्र जेरी म्यान्डरिङभन्दा माथि उठ्दैन र त्यो नै संघीयताको बिर्सजनको सुरुआत हुन सक्छ।

वास्तवमा संघीयताभन्दा पनि नेपाली जनताले ०४६-०४७ को परिवर्तनपछि सक्रिय स्थानीय सरकारको आवश्यकता महसुस गरेका थिए र छन् जसले गर्दा स्थानीय जनताले आफ्नो आधारभूत आवश्यकता आफैंले पहिचान र निर्धारण गरी, आफैंले नीति र योजना तर्जुमा एवं कार्यान्वयन गर्ने अवसरको प्रतीक्षामा थिए र अझै पनि त्यसैको आशामा छन्।

तर बहुदलीय प्रजातन्त्र आएपछि कांग्रेसभित्रको चरम व्यक्तिवादी र गुटबन्दी प्रवृत्तिले गर्दा सम्भवतः त्यो हुन सकेन। त्यतिबेला पनि थुप्रै कांग्रेसको माननीय एवं शुभचिन्तकहरूले छिटोभन्दा छिटो सत्ता विकेन्द्रीकरण र तल्ला निकायमा शक्ति हस्तान्तरण गर्दै जानुपर्ने विचार नराखेका होइनन्।

यद्यपि स्थानीय सरकारसम्बन्धी एउटा ऐन आउन करिब १० वर्ष लाग्यो र त्यसैबीच माओवादीको अराजक हत्या र उग्रवादले मुलुक अर्को भुमरीमा फसिसकेको थियो। ०६२-६३ सालको अर्को आन्दोलनले पहिलेदेखि संयोजित जनताको उकुसमुकुसलाई संघीयतारूपी शब्दले ठूलो ‘राहत’ दिन पुग्यो । आज करिब १० वर्षपछि 'संघीयता' फेरि 'आहत' बन्ने सम्भावना बढ्दै गएको छ।

रक्तपात र हठवादमा कोही पनि अटाउँदैन। आगो लागिरहेको तराई, नरसंहार टीकापुर, उम्लिएको कर्णाली र सुर्खेतबाट पनि नेताहरूले सिक्दैनन् भने मुलुक दुर्घटनामा पर्ने सम्भावना बढ्दै गएको छ। आफैं हर्ताकर्ता भएर देशको जेरी म्यान्डरिङ गर्ने काम बन्द गरून्।

अहिले जसरी २-४ जना मिलेर जेरी म्यान्डरिङ गर्दैछन्, त्यसले आम नेपाली जनताले चाहेको अथवा नेपालको सर्वांगीण विकासको निम्ति पक्कै हितकर हुने छैन। यसले जीवनपर्यन्त राजनीतिक हालीमुहाली गर्नेका निम्ति मुलुकको नक्सा तलमाथि पारेर सीमित व्यक्तिहरू असीमित आनन्दमा रमाउने एउटा राजनीतिक वर्गलाई मात्र फाइदा दिन्छ।

तर नेपाललाई विकास चाहिएको छ, जहाँ स्थानीय जनताले आफ्ना निम्ति आफैंले योजना, नीति र कार्यक्रम तर्जुमा र कार्यान्वयन गरून्। संसद्ले बहस गरिराखेको मस्सौदामा त्यस्तो स्थानीय सरकारको बारेमा मौन छ, उही पुरानो जिविस÷गाविस÷नगरपालिकालाई नयाँ संघीयताको जामा लगाइदिए सबैतिर राम राज्य हुनेछ भन्ने दिवासपना देख्नु छुट्टै पक्ष हो। वास्तविक धरातलमा उभिएर हेर्दा अहिलेको मस्यौदा÷विधेयकले स्वावलम्बी मुलुकको नै कल्पना गरेको छैन भने स्थानीय सरकारको के कुरा गर्ने?

वर्तमानको सिमाना नक्सा कोर्ने रडाकोले वास्तवमा जनताको निम्ति अपरिहार्य संघीयताको गुदी नै अपहरण हुँदैछ अथवा भइसक्यो। समग्र देश र जनताप्रति सोच्ने शक्ति बाँकी कतै छ भने संघीयतालाई नितान्त नयाँ ढंगबाट सोच्ने समय छ। दुनियाँभरका प्रारुपहरूको नक्कल गरेर खिचडी पकाउनुभन्दा सर्वथा मौलिक माग र क्षमतालाई आत्मसात गर्दै नेपाली परिप्रेक्ष्यमा सक्रिय स्थानीय सरकारको प्रावधान उत्तम विकल्प हुन सक्छ।

त्यसका निम्ति वर्तमानका हरेक निर्वाचन क्षेत्रलाई एउटा-एउटा स्थानीय सरकारको खाकामा रूपान्तर गरेर, प्रत्येक स्थानीय सरकारलाई राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय÷पर्यावरणीय एवं सांस्कृतिक अधिकारसम्पन्न बनाउन सकिन्छ। सायद माननीय विमलेन्द्र निधिको सोचपत्रको उद्देश्य पनि त्यस्तै हो।

मौलिक संघीयताले हरेक स्थानीय सरकारलाई नै त्यहाँको सम्पूर्ण विकास निर्माणको जिम्मा दिन सक्नुपर्छ। जसले गर्दा प्रदेशको आवश्यकता पर्दैन। प्रजातन्त्र, विकास र नैसर्गिक अधिकारहरूको दिगो कार्यान्वयनका खातिर स्वावलम्बी स्थानीय संस्थाहरूको निर्माण, संवद्र्धन र सक्षमता आवश्यक छ न कि व्यक्तिहरू।

उदाहरणका लागि सरकारले माननीयज्यूहरूलाई विकास गर्न जसरी करोडौं पैसा बाँडेको छ, त्यो गलत प्रवृत्ति हो। माननीयहरूलाई नै त्यसरी नै पैसा बाँड्ने हो भने सम्पूर्ण गाविस-नगरपालिका÷जिविसलाई मृत घोषणा गरे भइहाल्छ । अथवा वार्षिक एक करोड माननीयहरूको तलबभत्ता भन्दिए पनि हुन्छ, तर माननीयहरूको व्यक्तिगत पहलमा स्थानीय विकास हुन्छ भन्ने सोच बेकार हो।

तसर्थ पूर्ण विकेन्द्रीकरण, शक्ति र अधिकार स्थानीय जनतालाई हस्तान्तरण गर्न सक्रिय स्थानीय सरकार जति प्रभावकारी र किफायती हुन्छ, त्यति प्रदेशहरू हुँदैनन्। मुलुकमा दुई तहका कार्यपलिका (केन्द्रीय र स्थानीय) दुई तहको न्यायालय (केन्द्रीय र स्थानीय) दुई तहका विधायक (केन्द्रीय र स्थानीय) को प्रावधान हुन सक्यो भने स्वावलम्बी र सम्मुन्नत नेपालको वास्तविक परिविम्ब अगाडि बढाउन सकिन्छ।

नकि अहिले जस्तो जन्मँदैमा परस्परविरोधी भावनाको वीजारोपण भएपछि संघीयता 'प्यान्डोरा बक्स' हुन सक्छ। त्यतिले नपुगेर सीमांकनको विवादले समाजमा मनोवैज्ञानिक चाप बढाएको छ किनकि विवादित प्रदेशहरूमा स्थानीय समुदायको राज्यप्रति सदैव संशकित, अविश्वास र नकारात्मक सोच रहिरहन्छ वा बढ्दै जान सक्छ।

जब जनता आफ्नै राज्य ÷प्रदेश÷सरकारप्रति उदासीन हुन्छन्, तब न प्रदेश राज्यले तिनीहरूलाई अपनत्व दिलाउन सक्छ, न त जनताले त्यहाँ आफ्नो सरोकार देख्दछन्। अनि प्रदेश विघटनको सुरुआत हुन्छ। सायद भारतबाट लिने पाठ त्यो पनि हो।

त्यसैलाई बुझेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथ ग्रहणलगत्तै भन्दै थिए सहयोगात्मक संघीयता। अब नेपालको नै डाडु र पन्यु हातमा लिएर बसेकाहरूले के बुझेका छन् ?

वास्तवमा, नेपाललाई एक्काईसौं शताब्दीमा विश्वसामु प्रतिस्पर्धी बनाउन यस्तो संविधानको आवश्यकता छ, जहाँ स्थानीय सरकारलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सिँचाइ, पूर्वाधार निर्माण, वातावरण÷पर्यावरण एवं संस्कृतिसम्बन्धी सम्पूर्ण अधिकार प्रदत्त भएको होस्, जसले गर्दा ताप्लेजुङदेखि कपिलवस्तु अथवा मुगुका जनताले आपसमा, निजी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्सँग साझेदारी भएर काम गर्ने अवसर मिलोस्।

तब संसारभर नेपाली छरिनुपर्ने बाध्यता हुने छैन, अन्यथा रक्तपात र हठवादमा कोही पनि अटाउँदैन। आगो लागिरहेको तराई, नरसंहार टीकापुर, उम्लिएको कर्णाली र सुर्खेतबाट पनि सिक्दैनन् भने मुलुक दुर्घटनामा पर्ने सम्भावना बढ्दै गएको छ। आफैं हर्ताकर्ता भएर देशको जेरी म्यान्डरिङ गर्ने काम बन्द गरून्।

Thursday, September 3, 2015

तराई मधेसमा बढ्दो हिंसात्मक झडपसँगै भारतीय भूमिकालाई लिएर सरकारी अधिकारीहरु असन्तुष्ट बनेका छन् । विषेश गरी वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावास र बिराटनगरमा सरकारी अनुमितिविनै सञ्चालित भारतीय क्याम्प अफिसका अधिकारीको भूमिका शंकास्पद रहेको सरकारी अधिकारीको निश्कर्ष छ ।
विराटनगरमा रहेको भारतीय क्याम्प अफिस


केही साताअघि इटहरीमा भएको हिन्दुवादीहरुको प्रदर्शनका बेला बिराटनगरमा अवस्थित भारतीय क्याम्प अफिसको सहयोग रहेको स्थानीय प्रशासनले पत्तो लगाएको थियो । रअका पूर्वअधिकारी आरके सिंह बिराटनगरको जेनियल होटलमा केही दिन बसेका थिए ।

स्थानीय गुप्तचर अधिकारीहरुका अनुसार नेपाल सरकारले पत्र लेख्दासमेत अटेर गरी कार्यालय सञ्चालन गरेर बिराटनगरमा बसेको भारतीय क्याम्पले नेपालको आन्तरिक मामिलामा सुराकी गर्ने र सरकार विरुद्ध आन्दोलनमा उत्रेका राजनीतिक दलका कार्यकर्तासँग सम्पर्क गर्ने गरेको पाइएपछि उनीहरुको गतिविधिमाथि सरकारले निगरानी बढाएको गृह मन्त्रालय स्रोतले बतायो ।

त्यसैगरी वीरगञ्जमा रहेको वाणिज्य दूतावासले पनि नेपालको आन्तरिक मामिलामा चलखेल बढाएको भन्दै सुरक्षा निकायले उनीहरुको गतिविधिमाथि निगरानी बढाएको बताइएको छ ।

यसैवीच वीरगञ्जका केही उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री कार्यालयमा टेलिफोन गरेर त्यहाँ आन्दालनेकारी नेतालाई आर्थिक सहयोग गर्ने उद्योगहरु सुचारु रहेका र अन्यलाई बन्द गरिएको गुनासो पोखेका छन् ।

वीरगञ्जमा पहिलो मधेस आन्दोलनलाई सम्बोधन गरेर संघीयता प्रदान गरेका गिरिजाप्रसाद कोइरालाको शालिकसमेत ढालिएको र महोत्तरीमा कांग्रेसको कार्यालय जलाइएको घटनालाई नेपाली कांग्रेस गम्भीरतापूर्वक लिएको एक नेताले अनलाइनखबरलाई बताए ।

दोहोरो भूमिका खेलेको आरोप
वीरगञ्ज वाणिज्य दूतावासकी कन्सुलर अन्जु रञ्जन
भारतीय गृहमन्त्री राजनाथ सिंहको ‘विवादास्पद अभिव्यक्ति’को काठमाडौंस्थित भारतीय दूतावासले खण्डन गरिसकेको छ । तर, नेपालसँग सीमा जोडिएका पश्चिम बंगाल, बिहार उत्तर प्रदेशका कतिपय नेताहरुले मधेस आन्दोलनमा सहयोग पुर्‍याएको र कैलाली, गौर, वीरगञ्ज लगायतका ठाउँमा भएका झडपमा दक्षिणतिरबाट मानिसहरु आएको सरकारी अधिकारीहरुको दाबी छ । तर, सरकारी अधिकारीहरुको दाबीलाई भारतीय दूतावासले खण्डन गरेको छ ।

यद्यपि भारतीय संस्थापन पक्षले एकातिर नेपालको मामिलामा निरपेक्ष रहेको बताउने गरेको र अर्कोतर्फ स्थानीय स्तरमा पुरानै तरिकाले चलखेल गर्ने गरेको सत्तापक्षको बुझाइ छ ।

नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकमा विदेशी चलखेल भएको ठहर गर्दै यसबारे पार्टीले चिन्ता व्यक्त गरेको छ । भारतीयहरुले नेपालको मामिलामा दोहोरो भूमिका खेलेको र आन्दोलनकारीलाई उक्साउने गरेको परराष्ट्रमन्त्री र गृहमन्त्रीले एमाले बैठकमा रिपोर्टिङ गरेका थिए ।

संविधान निर्माण हुनै लागेका बेला छिमेकीले जानाजान आन्दोलनकारीलाई उक्साएको निश्कर्षमा गृहमन्त्री र पराराष्ट्र मन्त्रीसमेत पुगेपछि यसले दुई देशको सम्बन्धमा समस्या सिर्जना गरेको छ । राजनाथको भनाइ उधृत गर्दै भारतीय पत्रकारले नै समाचार लेखेपछि नेपालको मामिलाले दिल्लीमा समेत खैलाबैला मच्चिएको छ ।

विगतमा कांग्रेस आइको सरकारले नेपालमाथि समदृष्टि राख्न नसकेको भन्दै ‘नेपाल-नीति’ परिमार्जन गर्ने बताएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुरानै ब्युरोक्रेसी एवं ‘रअ’को सिकञ्जामा परेको कांग्रेसका एक नेताले बताए ।

नेपाल मामिलामा मोदीको विदेश नीति खराब बाटोतिर अग्रसर भइरहेको सरकारी अत्रिकारीहरुले विश्लेषण गरेका छन् । छिमेकी शक्तिले असहयोग गरे पनि भदौभित्र संविधान जारी गरी छाड्ने अठोटमा कोइराला सरकार रहेको बालुवाटार स्रोतले अनलाइनखबरलाई बतायो ।

स्रोत :- onlinekhabar

Wednesday, September 2, 2015

हरेक ठूला परिवर्तनहरूमा इतिहासको 'क्रमभंगता' ले जन्म लिन्छ। एउटा कालखण्डको पटाक्षेप हुन्छ र एउटा नयाँ युगको जन्म हुन्छ। पुराना मान्यताहरू भत्किन्छन् र नयाँ मान्यताको सूत्रपात हुन्छ। तर इतिहासको वस्तुगत एवं समाजशास्त्रीय व्याख्याको दृष्टिकोणबाट हेर्दा, जुनसुकै पछिल्लो युगको आरम्भ केवल एउटा संयोग मात्र होइन, यो अघिल्लो युगको नियमित निष्कर्ष हो। अर्थात् नयाँ युगको प्रारम्भको जननी पुरानो युग नै हो, तर पुरानाको निरन्तरता होइन। त्यसैले समयको परिवर्तनलाई कसैले रोक्न सक्दैन। रोक्ने प्रयासले दुर्घटना निम्त्याउँछ। यो प्राकृतिक नियम नै हो।

 
 डा. युवराज संग्रौला
पुरानो सामाजिक संरचनाले आधुनिक चाहना र विकासका प्रक्रियालाई समायोजन गर्न सक्तैन, त्यसैले समाजमा सामाजिक एवं आर्थिक परिवर्तनका घटना अपरिहार्य हुन्छन्। त्यसैले सामाजिक परिवर्तनहरू पुराना 'सोचाइ र विचारधारा' का विरुद्ध एउटा चुनौतीका रूपमा प्रकट हुन्छन्। तर मानिस ‘आदतको दास बनेको हुन्छ' ऊ पुरानो 'आदत' लाई बदल्न डराउँछ। 
 
मानवीय 'चेतना' जसलाई हाम्रो आफ्नै दर्शनशास्त्रमा 'मानस' (बुद्धि, विवेक र अन्तस्करणको संयोग) ले हामी मानिसलाई यस 'आदत' बाट बाहिर आएर नयाँ प्रणालीमा 'समायोजन' गर्ने क्षमता र शिल्प प्रदान गर्दछ। त्यसैले हामी 'गाईभैंसी' भन्दा फरक हुन्छौं। गाईभैंसी गोठ बदल्न रुचाउँदैन, हामी मानिस ‘पुुरानो आबास बदलेर नयाँ आबासमा विराजमान हुने कुरालाई विकास भन्छौं'।

राष्ट्र व्यक्तिको ‘पहिचानको धरोहर हो।' संस्कृति र धर्म मानिसका जीवन प्रणालीका परिचायक हुन् तर राष्ट्र आधुनिक युगमा मानिसको 'सार्वभौम' अस्तित्वको परिचायक पनि हो। राष्ट्रभित्र भाषा, संस्कृति र अन्य पहिचानहरूको अस्तित्व कायम रहेको हुन्छ। त्यसैले आधुनिक राजनीतिशास्त्रले मानिसलाई 'कुनै न कुनै राष्ट्रसँग गाँसिनुपर्ने' अपरिहार्यताको बोध गराउँछ। 
 
 
कुनै राष्ट्रको जन्म ‘लामो सभ्यताको क्रमबाट' निर्माण हुन्छ र ‘यसको निर्माण विविध संस्कृतिको अन्तक्र्रियाबाट बनेको हुन्छ। प्राचीन आर्य सभ्यता (सनातन दर्शन), शाक्य सभ्यता (बौद्ध दर्शन) र किराँत सभ्यता (मुन्धुम दर्शन) को सहिष्णुतापूर्ण अन्तक्र्रियाबाट 'नेपाली राष्ट्र' र नेपाली सभ्यताको जन्म भएको छ। त्यसैले 'नेपाल भारत वर्ष' मा एउटा अविच्छिन्न, नियमित र क्रमबद्ध अस्तित्व कायम राख्दै आएको एउटा 'महान् सभ्यता'को प्रतिनिधित्व गर्ने देश हो। 
 

 
भारत वर्षमा 'नेपाल मात्र' एउटा अविच्छिन्न राष्ट्र हो, जसले आफ्नो प्राचिनता कायम राखेको छ। त्यसैले नेपाली हुनुमा ऐतिहासिक गौरवको 'भाव अंकित' रहेको छ। कसैले नेपाली राष्ट्रियताको अपमान गर्दछ वा नेपाली राष्ट्रियताप्रति आँच आउने कार्य गर्दछ भने या त त्यो मानिस नेपालको प्राचीनता र सभ्यतासँग गाँसिएको हुँदैन या त ऊ नेपालविरुद्ध कसैद्वारा सञ्चालित हुन्छ। 
जसरी 'परिवर्तनको दौरान' कथित 'अखण्डता' का प्रश्नहरू उठिरहेका छन्, ती 'अखण्डता' रुढिवादी संकीर्ण सोचहरूबाट जन्मिएका हुन् र ‘नेपाली राष्ट्रियता’ का पक्षधर छैनन्। ती सोचाइहरूले 'नेपाली राष्ट्रियता' को जगेर्ना गर्ने ‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षा' प्रति घात गरिरहेका छन् । आत्माबाट आफूलाई ‘नेपाली भन्नेहरू' ले यस प्रश्नलाई मनभित्र मन्थन गर्नैपर्छ।
 
'राष्ट्रिय सुरक्षा' हरेक राष्ट्रको स्वतन्त्र अस्तित्वको पर्याय मात्र होइन, अउल्लंघनीय अधिकार पनि हो। हामी पूर्वीय मानवीय मान्यताबाट प्रभावित दर्शनका अनुुयायी हौं। महान् चिनियाँ दार्शनिक कन्फुसियसले भनेका थिए, 'जे कुरा वा जस्तो व्यवहार तिमी अर्कोबाट चाहँदैनौँ, त्यही कुरा वा व्यवहार अर्कोलाई गर्नु अन्याय वा अनैतिकता हो।'
 
 यसै सन्दर्भमा केही महत्वपूर्ण तथ्यहरू माथि विचरण गर्नैपर्छ। भारतका कैयन् भूभागमा अशान्ति छ। झारखण्ड नक्सलाइट आन्दोलनको चपेटामा छ । कश्मीर आतंककारीको निरन्तर हिंसाको चपेटामा छ। 
 
अहिले गुजरातमा पटेल स्वायत्तताको आन्दोलन बलिरहेको छ। केही समय पहिला तेलंगाना राज्यको निर्माण भयो। गोर्खाल्यान्ड आन्दोलन निरन्तर रहेको छ। आसाममा बोडो विद्रोह जीवित छ। अर्थात् भारत 'नेपालभन्दा अशान्त' छ। तर नेपालले ‘गोर्खाल्यान्डसँग वार्ता गर, नक्सलाइटलाई मिलाएर लैजाउ कहिल्यै भनेको छैन'। 
 
नेपाल एउटा राष्ट्र हो। उसले आफ्नो पुनर्संरचना गर्ने र आफ्नो संविधान बनाउने कुरा नितान्तः स्वाधीन घरेलु मामिला हो। तर भारतबाट त्यहाँका नेतादेखि साधुसमेत नेपालमा निर्देशन जारी गर्छन्। भारतले नेपाल देशसँग भन्दा कुनै व्यक्ति, नेता र कुनै दलसँग बढी कूटनीतिक व्यवहार गर्दछ।
 
यही प्रवृत्तिले नेपाल र भारतका सरकारका बीचमा तनाव भइरहन्छ। यसैले नेपालीहरूलाई भारतप्रति शंकालु बनाइरहन्छ। यस समस्याले ‘नेपाललाई राष्ट्रिय सुरक्षाप्रति चिन्तित पार्छ। त्यसैले नेपालको कूटनीतिलाई असन्तुलित बनाइरहन्छ।' भारतले केवल नेपाल राष्ट्रसँग मात्र कूटनीति कायम गर्नुपर्छ। त्यसबाट नेपालमा रहेको भारतप्रतिको शंका समाप्त हुन्छ।
 
नेपालको राष्ट्रियता ऐतिहासिक धरोहरका सन्दर्भमा 'सीता, गार्गी र गौतमबुद्ध' सँग गाँसिएको छ। अर्थात् लुम्बिनी र जनकपुरको प्राचीनतासँग गाँसिएका छन्। नेपाललाई हिमशृंखलाले चीनसँग जोडेका छन् र दक्षिणको समथर भूभागले 'भारत' सँग। 
 
नेपालको यस अवस्थितिले ‘हिमालयन सभ्यताको शृंखला' निर्माण गरेको छ। त्यसैले नेपाल दुई देशबीचको भूभाग मात्र होइन, दुई सभ्यतालाई जोड्ने कडी पनि हो। यसर्थ नेपाल चीनप्रति निरपेक्ष वा असम्बधित बन्न सक्दैन भारतप्रति। 
 
'उत्तर र दक्षिण'ले आफूलाई हेरेर उनीहरूका कूटनीतिक 'रणनीति' बनाए भने नेपालमाथि अन्याय हुन्छ। तर तथ्य के हो भने 'चीन र भारत' कुनै न कुनै रूपमा प्राचीनतादेखि अहिलेसम्म प्रतिस्पर्धी शक्तिका रूपमा रहेका छन्। उनीहरूबीचको सहयोगमा पनि प्रतिस्पर्धा कायमै छ। तर उनीहरू अलग्गिन पनि सक्दैनन्। 
अहिले उनीहरू आर्थिक विकासको सहयोगमा जोडिएका छन् र शक्तिको होडबाजी उनीहरू दुवैका लागि घातक हुन्छ। 'प्रतिस्पर्धा त्यस अर्थमा उनीहरूको आपसी सहयोग' को कडी बन्‍न पुगेको छ।
'भारत र चीन' बीचको सहयोगले पश्‍चिमी कूटनीतिक रणनीतिमा पुर्‍याउने प्रभाव व्यवस्थापन गर्न उपस्थित पश्चिमी रणनीतिको व्यवस्थापन गर्नुपर्ने बाध्यता नेपालको आन्तरिक वा बाहिरी सुरक्षाका लागि निरन्तर चुनौती बनिरहेका छन्।
एसियाको यो नयाँ विकासले विश्वको शक्ति सन्तुलनलाई प्रभावित गर्दछ र पश्चिमको शक्ति सन्तुलनको रणनीति खलबल्याउँछ। त्यस शक्ति सन्तुलनको स्थायित्व कायम राख्न पश्चिमले ‘भारत र चीन' बीचको बढ्दो व्यापार, परनिर्भरता र अन्तक्र्रियालाई ख्याल गर्नुपर्ने र आफ्नो विरुद्धमा जानबाट रोक्नुपर्ने बाध्यता छ। भारत र चीनको बीचमा नेपाल छ। त्यसैले पश्चिमको उपस्थिति नेपालमा अनिवार्य हुन्छ।
 
विगतको भूकम्पले नेपालको रणनीतिक महत्वलाई छर्लंग बनाएको छ । धेरैलाई भ्रम भयो होला 'त्यो पश्चिमी उपस्थिति नेपालीप्रतिको माया हो । होला, त्यो पनि। तर उनीहरूको घनीभूत उपस्थिति मूलतः उनीहरूको नेपालप्रतिको रणनीतिक दृष्टिकोणको प्रकटीकरण हो।
 
एकातिर भारत र चीनबीचको सन्तुलनको आवश्यकता अर्कोतिर 'भारत र चीन' बीचको सहयोगले पश्चिमी कूटनीतिक रणनीतिमा पुर्‍याउने प्रभावलाई व्यवस्थापन गर्न उपस्थित पश्चिमी रणनीतिको व्यवस्थापन गर्नुपर्ने बाध्यता नेपालको आन्तरिक वा बाहिरी सुरक्षाका लागि निरन्तर चुनौती बनिरहेका छन्। एउटा सत्य कुरा के हो भने 'राष्ट्रको कूटनीतिक सम्बन्धमा मानवीयता छलफलको विषय नै होइन। 
 
नेपालमा जेजति विदेशी शक्ति उपस्थित छन्, तिनीहरू नेपालका लागि होइन, आफ्नै स्वार्थका संरक्षणका लागि उपस्थित छन्। अर्थात् राजनीतिक दलका नेतालगायत अहिले आन्दोलन गर्नेहरू जजसलाई जजसको सहयोग, भरथेग र गोडामोलाइ छ' त्यो तपाईंहरूको फाइदाको लागि होइन, उनीहरूकै हितका लागि हो। तर यो बुझ्न नसक्दा नेपालीहरू बाँडिएका छन्।
 
विदेशी 'चलखेल' का सिकार बनेका छन् । अर्थात् नेपाली राष्ट्रिय सुरक्षामाथि धेरै ठूलो चुनौती देखिएको छ।दक्षिणबाट आउने चुनौतीहरू विविध छन्। भारतसँगको खुला सिमानाले नेपालको 'तराई भारतीय' अपराधीहरू, काला व्यापारीहरू, हतियार व्यापार गर्नेहरू र भारतविरुद्ध आतंक मच्चाउनेहरूको आ श्रयस्थल बन्दै आएको छ। त्यो आ श्रयस्थलको विस्तार काठमाडौंसम्म आइपुगेको छ। 
 
यस्ता 'तत्व'बाट नेपाली राजनीतिका पात्रहरू घेरिएका छन्। हिजो माओवादीलाई हतियार ल्याइदिनेदेखि आज आन्दोलन गर्नेहरूलाई खर्च उपलब्ध गराउने र सत्तासीन दलका नेतालाई प्रभावित पार्नेसम्मका कार्यमा यस्ता अपराधीहरू संलग्न छन्। 
 
अर्कोतिर 'धर्म' को नाममा नेपालमा प्रभाव जनाउनेको संख्या पनि कम छैन। 'मठ' का नाममा नेपालीलाई 'इन्डियनाइज्ड' गर्नेको प्रभाव सानो छैन । ठूला-ठूला नेता बिहानै साधुका मठमा भेटिन्छन्। साधुको सेवामा राज्य गाँजासम्म वितरण गर्दछ। 
 
राज्यका कर्मचारी बढुवाका लागि साधुका मठमा पुग्छन्। 'हिन्दु धर्म' का नाममा आधुनिक भारतीय साधुका भजन र गुणगान नेपाली मन्दिरमा घन्किन्छन्। अर्कोतिर धार्मिक निरपेक्षताको खेलमा ‘क्रिस्टिनियटी' व्यापार गर्नेको संख्या पनि कम छैन।
 
पश्चिमी प्रभाव 'गैरसरकारी' संस्थाबाट बगिरहेको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू नेपालमा पश्चिमी प्रभावको निर्माण गर्छन्। 'आन्दोलन'लाई मानव अधिकारको आवरणमा खर्च जुटाइदिन्छन्। 
 
महिला, दलित र जनजातिका आन्दोलनमा विदेशीहरूलाई 'स्वयंसेवक' को बिल्ला लगाएर उपस्थित गराउँछन् र 'धर्म निरपेक्षता' को पाठ पढाउँछन्। अर्थात् 'कथित बुद्धि र पैसा' पश्चिमका हतियार हुन्, जसले नेपालको राष्ट्रिय सुरक्षामा ठाडो हस्तक्षेप गर्दछन्। 
 
गैरसरकारी संस्थाहरू नेपालमा सरकारसँगको सहकार्य होइन, प्रतिपक्षको भूमिका निर्वाह गर्दछन्। उनीहरू 'कर्मचारीहरूलाई विदेश घुमाउँछन्' र आफ्ना समर्थक बनाउँछन् । पश्चिमी देशहरूको नेपालमा मूलतः तीनवटा स्वार्थहरू छन्। (१) भारत र चीनको चियो गर्नु। (२) गरिब नेपालीलाई पैसा दिएर धर्म सन्तान प्राप्त गर्नु वा गरिब नेपाली महिलाको कोखलाई सन्तान जन्माउने कारखाना बनाउनु। र (३) धर्म प्रचारको थलो बनाउनु।
 
यिनै प्रभावले नेपाल कति धेरै ग्रस्त भइसकेको छ भने उसको अन्तर्राष्ट्रिय छवि कमजोर भएको छ। कमजोर नेपाल 'माथिका स्वार्थ'का लागि लाभदायक हुन्छ। त्यसैले कहिले ‘नेपाललाई असफल राज्यको घोषणा गर्ने प्रयास गरियो। कहिले कुनै निकायको अधीनमा राख्ने प्रयास गरियो। 
 
कहिले जातीय विभाजन रेखाको प्रयोग गरियो । र, भूकम्पपछाडि नेपालको 'पर्यटन' क्षेत्र तहसनहस पार्ने प्रचारहरू भइरहेका छन्। 'नेपाललाई' अहिले आन्दोलनको उद्गम स्थान बनाइएको छ । गरिब नेपाल कमजोर हुन्छ। नेपाललाई झन्झन् गरिब बनाइँदै छ।
 
थरुहटविरुद्ध 'अखण्ड सुदूरपश्‍चिम' होस् वा 'हिंसात्मक थरुहट' आन्दोलन, अन्ततः विदेशी पैसा र विदेशी अपराधीहरूको भूमिका नेपथ्यमा देखिएकै छ। अब नपाली राजनीति र त्यसा पात्रहरूका अगाडि विकल्प छैनन्। 
 
त्यसैले (१) संविधान तत्काल घोषणा हुनुपर्छ। संसारको कुनै देशमा फूलपातीको रमझममा संविधान घोषणा भएको छैन। संविधान परिवर्तनको वाहक हो र त्यसले इतिहासको क्रमभंगताको प्रतिनिधित्व गर्दछ। त्यस्तै अवस्थामा यथास्थितिका प्रवर्तकहरू तथा उग्रवादीहरूसँग सामना गर्नैपर्छ। 
 
(२) कतिपय सीमांकन समस्याहरू भविष्यमा 'विज्ञहरूले' समाधान गर्नेछन्। त्यसैले जुन सम्झौता गर्न राजनीतिक दलहरू पुगेका छन्, त्यसको कार्यान्वयनमा उनीहरू अडिग रहनैपर्छ। 
 
(३) देशको राष्ट्रिय सुरक्षा गर्ने निकाय नेपाली सेना हो। त्यसको सुदृढीकरण गर्नुपर्छ। विभिन्न क्षेत्र र जातिको प्रतिनिधित्व सुनिश्चित गर्दै त्यसको संख्या नेपालको सिमानाको संरक्षण गर्न सक्ने गरी वृद्धि गर्नैपर्छ। 
 
(४) आन्तरिक सुरक्षा गर्ने दुइटा प्रहरी संगठनको संख्यात्मक वृद्धिका अतिरिक्त उनीहरूलाई तत्काल आधुनिकीकरण गर्नुपर्छ। 
 
(५) संविधानको घोषणासँगै 'राष्ट्रिय सरकार' को निर्माण गर्नुपर्छ र नेपालको भौतिक र शैक्षिक पुनर्निर्माण योजनालाई युद्धस्तरमा सञ्चालन गर्नुपर्छ। (६) खास-खास क्षेत्रलाई नेपालका मौलिक संस्कृति जोगाउने प्रयोजनका लागि संविधानपछि संवैधानिक महत्वका ऐनहरूद्वारा 'स्वशासित' क्षेत्रको घोषणा गर्ने गरी, उनीहरूका भाषा र संस्कृतिसँग जोडिएका स्रोतहरूको व्यवस्थापन गर्ने कानुन बनाई कार्यान्वयन गर्ने अधिकार दिनुपर्छ।
 
तत्काल संविधानको घोषणा भएन भने 'राज्यलाई असफल घोषित गर्ने खेल हुनेछ। यस खालका प्रयास भित्रभित्रै भइरहेका छन्।' त्यसकै लागि विगतमा कतिपय राष्ट्रले आफ्ना 'भिसा कार्यालयहरू' नेपालबाट अलग गरे। 
 
अहिले कतिपय देशहरूमा नेपाललाई चेतावनी दिन दूतावास बन्द गर्ने योजना बनाइरहेका छन्। दक्षिण एसियामा ‘स्वशासनमा नेपाल अग्रणी घोषित भएको छ, मिलिनियम डेभलपमेन्ट गोलका अधिकांश उद्देश्यहरू प्राप्त गर्ने देश नेपाल हो। 
 
संसारमा नै नेपाल कम अपराध भएको देश पनि हो । तर पनि 'नेपाल भ्रष्टाचार, अशान्ति र अराजकता' को देश हो भनी व्यापक प्रचार गरी ‘नेपालप्रति अन्तर्राष्ट्रिय नकारात्मक मनोविज्ञान' को निर्माण गरिएको छ। कतिपय आन्दोलन यिनै चाहनासँग जोडिएका छन्। 
 
यी सबै चुनौतीलाई उत्तर दिनु आवश्यक छ। तसर्थ समयमै संविधान घोषणा नेपालको अस्तित्वको पर्याय हो।' तसर्थ विवादास्पद संघीयतालाई आउने दिनमा मिलाउने गरी सोह्रबुँदेको मर्मअनुसार संविधान घोषणा गरिए, देशको 'अस्तित्व र सार्वभौमिकता' को संरक्षण गर्न सकिन्छ । भोलि सीमांकनका विषयहरू 'जनमतसंग्रह' बाट पनि मिलाउन सकिन्छ।
source:- annapurnapost.com

Tuesday, September 1, 2015

आजकै दिन अर्थात् २०६१ सालको भाद्र १६ गते राजधानी विहानैदेखि तनाबग्रस्त बन्न पुग्यो । राजधानीमा बिहानैदेखि आगजनी र तोडफोडका घटनाहरु भए । विशेषगरी वैदेशिक रोजगारसँग सम्बन्धित म्यानपावर कार्यालय र विदेशी सञ्चालकको मातहतमा सञ्चालन भएका नेपाली कार्यालयहरु तोडफोडमा परे ।

अघिल्लो दिन अर्थात् भाद्र १५ गतेको दिन रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको            सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्नाले घाँटीरेटी निर्ममतापूर्वक हत्या गरेका थिए । क्रुरतापूर्वक नेपालीको विदेशी भूमिमा हत्या भएपछि त्यसको आक्रोशमा उत्रिएका नेपालीहरुले भाद्र १६ गतेका दिन राजधानी लगायत मुलुकका विभिन्न स्थानमा भएका म्यानपावर लगायतका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए ।

सोही इराक हत्याको विरोधमा उत्रिएका नेपालीहरुले राजधानीमा रहेका म्यानपावरसहित विदेशी एयरलाइन्स र विदेशीले सञ्चालन गरेका कार्यालयहरु समेतमा आगजनी र तोडफोड गरेका थिए । विरोधमा उत्रिएकाहरुले त्यस्ता कार्यलयका सामानहरु सडकमा ल्याएर जलाएका थिए । ठाउँ–ठाउँमा टायर बालेर विरोधकर्ताहरुले नाराबाजी समेत गरेका थिए । नेपालीको निर्ममता पूर्वक हत्या भएको विरोध राजधानीमा भएपनि मृतक परिवार भने भावविह्वलमा डुब्न पुग्यो । १२ नेपालीको हत्याले सम्पूर्ण नेपालीलाई स्तब्ध बनायो । सम्पूर्ण नेपाल र नेपाली नै शोकमा डुबेका थिए, त्यो दिन । आजसम्मै उक्त घटनालाई नेपालीले भुल्न सकेका छैनन् ।

विरोधमा उत्रिएकाहरुले मधेशीमुलकमा नागरिकलाई समेत आफ्नो निशानाको तारो बनाएका थिए । विरोधमै उत्रिएका केही समूहहरु मध्येकाले तत्कालीन स्पेशटाईम दैनिक पत्रिकाको कार्यालय समेतमा तोडफोडगरी कार्यालय ध्वस्त बनाएका थिए । त्यस्तै विरोध जनाउँदै हिडेको एक समूहले कान्तिपुर पब्लिकेशनको कार्यालय समेतमा तोडफोड गरेका थिए भने मुस्लिम समुदायको मस्जिद सम्मलाई विरोधकर्ताले तारो बनाएका थिए ।

इराकमा नेपालीको हत्याकाण्ड र राजधानीमा म्यानपावरमाथी अराजक तरिकाले भएको आक्रमणको आज १२ वर्ष पुरा भएको छ । यस दिनलाई वैदेशिक रोजगार व्यवसायी संघ–संस्थाले कालो दिनका रुपमा मनाउँदै आएका छन् । अवाञ्च्छित तरिकाले म्यानपावरमाथी भएको आक्रमणको विरोधस्वरुप आजको दिन वैदेशिक रोजगार व्यवसायीहरु आफ्ना कार्यालयहरु बन्दगर्दै आएका छन् ।

Popular Posts

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook