Thursday, April 14, 2016

पीडित भन्छन्: मधेसी दलको त कुरै नगर्नुस्
वीरगन्जः ‘मधेसी दलको त कुरै नगर्नुस्’, भारततर्फ परेका नम्बरी जग्गाका धनी पर्सा पिडारीगुठीका चनरजित रामले भने, ‘मधेसीको हक अधिकारका लागि लडेको भन्छन्, तर मधेसी जनताकै जग्गा भारतबाट मिचिँदा पनि एक शब्द पनि बोलेका छैनन् ।  

 
नेपाल र भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमाक्षेत्रका जीर्ण स्तम्भको मर्मत सम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिडारीगुठी गाविस २ र ३ को लालपुर्जा भएकै १० बिघा आठ कठ्ठा १५ धुर जग्गा भारततर्फ परेपछि पीडामा परेका जग्गाधनीहरु दल र तिनका नेताप्रति निक्कै आक्रोशित छन् । 

 
लालपुर्जा भएकै जग्गा भारततर्फ पर्दासमेत यहाँका दलका नेताहरु आफ्नो पीडा बुझन एक पटक पनि नआएको पीडितहरुको गुनासो छ ।


‘नेताहरु भनेका साँच्चै स्वार्थी नै हुन्’, पिठारीगुठीका अर्का पीडित शिवप्रसाद महतोले भने, ‘यिनीहरुलाई जनताको पिरमकासँग कुनै मलब छैन, चुनावमा घरघरै हात जोड्दै भोट माग्न आउँछन्, चुनाव सकिएपछि नाकमुख पनि देखाउँदैनन् ।’ 


पुस्तौनीदेखि हकभोग गर्दै आएको लालपूर्जा भएकै जग्गा भारतमा पर्दा नेताहरुले एक पटक पनि आफूहरुको पक्षमा नबोलेको उनले बताए । 


पीडित जग्गाधनीहरुका अनुसार सीमास्तम्भ गाडिएपछि भारतमा परेको नेपालीको जग्गाबारे जानकारी लिन कुनै पनि दलका नेताहरु पिडारीगुठीमा गएका छैनन् ।


जनताकै लागि राजनीति गरेका नेताहरु जनतामाथि पीडा पर्दा पनि गाँउमा नआएपछि पीडित जग्गधनीहरु दल र तिनका नेताप्रति निक्कै आक्रोशित भएका हुन् ।   


‘मलाई नेताको बानी थाहा छ, उनीहरु आफ्ना लागि मात्रै राजनीति गर्छन्’, पीडित जग्गाधनी चोकट राउत कुर्मीले भने, ‘हामी नता भनेको त भोटका लागि मात्र हौँ, हाम्रो दुखदर्दसँग उनीहरुलाई मतलब नै छैन ।     


२००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकले तयार पारेको नक्साअनुसार नेपाल र भारतको नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले अहिले सीमाक्षेत्रका जीर्ण स्तम्भको मर्मत सम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाडने काम गरिरहेको छ । 
नयाँ स्तम्भ गाडने क्रममा भारततर्फ परेका पिडारीगुठीको नेपाली जग्गाका सबै धनीहरुसँग लालपुर्जा छ । २०२१ ÷०२२ सालमा भएको सर्भे नाप नक्साका आधारमा सरकारले उनीहरुलाई २०२३ सालमा जग्गाधनी प्रमाण दिएको हो । 


अहिले दुबै देशको टोलीले भने २००७ सालमा नेपाल र भारतको नापी विभाग उच्च्स्तरीय बैठकबाट तयार नक्सा अनुसार नयाँ पिलर गाड्ने काम गरिरहेकाले २०२३ सालमा लालपुर्जा पाएकाहरुको पनि जग्गा भारततर्फ पर्न गएको हो । 


पिठारीगुठीका पीडितहरुले चैत ५ गते जिल्ला प्रशासन कार्यालय पर्सामा गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले चैत ६ गते पिठारीगुठीमा पुगेर स्थलगत अनुगमन गरेको थियो । टोलीमा त्यस क्षेत्रका सांसद जयप्रकाश थारु पनि सहभागी थिए । 


‘सिडिओ आएका दिन सांसद थारु पनि आएका थिए । तर उल्टै उनले पिलर गाड्ने काममा अवरोध नगर्न आग्रह गरे’, पीडित जग्गाधनी लक्ष्मण हजार दुसादले भने, ‘त्यसपछि उनको पनि नाकमुख देख्न पाइएको छैन ।’  


‘गरिबको समस्या सुनीदिने कोही छैन यो देशमा, स्थानीय अगुवा कारी चौधरीले भने, ‘गाँउलेको जग्गा खोसिएको छ, तर यहाँका न त नेताले बोलिरहेका छन्, न कसैले एउटा विज्ञप्ती पनि निकालेको छ , भारतको विरोधमा बोल्ने साहस यहाँका नेताहरुमा छैन ।’  


राजनीतिक दलका स्थानीय नेताहरुले भने दुई देशबीचको सीमाको विषय भएकाले आफूहरुले केही बोल्न नमिल्ने बताएका छन् । 


नेपाल सद्भावना पार्टीका महासचिव एवम् पर्साका स्थानीय नेता शिव पटेलले दुई देशबीचको सम्बन्ध र नीतिको कुरा भएकाले झट्टै केही बोल्न ठीक नहुने बताए । 


‘पिलर गाड्ने कुरा दुई देशबीचको सम्बन्ध र नीतिको कुरा हो, उनले भने, ‘त्यो नीति अहिलेको सरकारले बनाएको हो । हामीले गएर सीमांकन गर्र्ने होइन, सिमांकन राज्यले गर्ने हो  । हामी अधिका प्रसाद बन्दैनौँ ।’


उनले नेपालको भूमि भारत या चीन जसले मिचे पनि त्यो सह्य नहुने बताए । ‘नेपालको जग्गा चाहे भारतले मिचोस या चीनले त्यो नेपालीका लागि सह्य हँुदैन’, उनले भने, ‘यस विषयमा दुवै देशका सीमांकन टोलीले गम्भीर बन्नुपर्छ । पिडारीगुठी गाविसका जनताले आफ्नो जग्गा फिर्ता पाउनुपर्छ ।’

Source Annapurnapost

Popular Posts

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook