काठमाडौं, मंसिर १ । भारतसँगको सीमावर्ती जिल्लाहरुमा दोहोरो नागरिकताधारीको संख्या उल्लेख्य रहेको तथ्य भारतीय पक्षबाटै प्रकाशमा ल्याइएको छ ।
भारतीय अखबार ‘नवभारत टाइम्स’ ले मंगलबार जनाएअनुसार भारतको उत्तरप्रदेश राज्यको महाराजगंज जिल्लामा मात्र लगभग २० हजारजनाले दोहोरो नागरिकता लिएका छन् । उनीहरुसँग नेपाल
र भारत दुबै देशको नागरिकता रहेको सो पत्रिकाले दाबी गरेको छ ।
पत्रिकामा भनिएको छ, ‘महाराजगंज जिल्लाको ८० किलोमिटर लोमो सीमा नेपालसँग जोडिएको छ, जहाँ ४० गाउँका लगभग २० हजार नागरिकसँग दोहोरो नागरिकता छ ।’
उनीहरुले निर्वाचनका समय दुबै देशमा मताधिकार प्रयोग गर्दै आएको पनि सो पत्रिकाले जनाएको छ ।
उक्त पत्रिकाले आगामी डिसेम्बरमा हुन लागेको स्थानीय निर्वाचनलाई आधार बनाएर प्रकाशित गरेको समाचारमा दोहोरो नागरिकता लिनेहरु एउटा समस्याका रुपमा देखिएको जनाएको छ ।
नेपालको नागरिकता लिइसकेका भारतीयलाई भारतमा मताधिकारबाट वञ्चित गरिनुपर्ने सन्देश उक्त समाचारमा दिन खोजिएको छ ।
मधेस आन्दोलनका क्रममा अंगीकृत नागरिकताधारीका लागि समान अधिकारको माग उठिरहेको सन्दर्भमा भारतीय अखबारले नै दोहोरो नागरिकताधारीको समस्यालाई उजागर गरेको परिस्थिती आफैंमा विचारणीय र गम्भीर छ । सीमावर्ती क्षेत्रको एउटा भारतीय जिल्लामा मात्र २० हजारभन्दा बढीसँग नेपालको नागरिकता छ भने पूर्व मेचीदेखि महाकालीसम्मका सीमावर्ती भारतीय जिल्लाहरुमा नेपाली नागरिकताधारीको संख्या कति होला ? अनुमान गर्न कठिन छैन ।
0 comments:
Post a Comment