Wednesday, August 12, 2015

नेपालमा विक्रम संवत कसरी चलनमा आयो ?

कसरी हटाइए नेपाल संवत र शक संवत ?


नेपालमा हाल चलन भएको विक्रम संवत चालू भएको भर्खर १११ वर्ष पुगेको छ । योभन्दा पहिले १३५ वर्षसम्म शक संवत र त्योभन्दा पनि पहिले ८९० वर्षसम्म नेपाल संवत् लागु भएको थियो । त्यसैबारेको इतिहास म यहाँ पर्गेल्दै छु ।
नेपाल संवत एउटा यस्तो संवत हो, जो नेपालको भूगोलमै सृजित भयो । यो कुनै एक व्यक्तिको नामबाट होइन‚ बरु राष्ट्रकै नामबाट निरन्तरित भइआएको छ । इतिहास बोल्छ, राजा राघवदेवको पालामा शङ्खधर भन्ने सामान्य व्यक्तिले इस्वी संवत् ८७९ मा देशभरका ऋणहरू मोचन गरी यो संवत सुरु गरे । नेपाल खाल्डोभित्र यसले ८९० वर्षसम्म राजकीय संवतको रुपमा राज गर्‍यो । पृथ्वीनारायण शाहले सन् १७६९ मा नेपाल लिएपछि उनले शक संवत चलाए र नेपाल संवतको राजकीय निरन्तरता टुट्न गयो । तथापि यो संवत पछि पनि प्रतापसिंह शाहको समयमा तिब्बतसँगको सम्झौता गर्दा प्रयोग भएको देखिन्छ । पृथ्वीनारायण शाहले सुरु गरेको शक संवतको निरन्तरता सन् १९०४ मा राजा त्रिभुवनको पालासम्म अर्थात १३५ वर्षसम्म कायम रह्यो । त्यसपछि विक्रम संवत सुरु गरियो १९६१ वैशाख १ गतेदेखि । नेपालमा हाल यसको राजकीय हैसियतको उमेर १११ वर्ष पुगेको छ ।
nepal-sambat-post
भनिन्छ, शक संवत् र नेपाल संवत् दुवै तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरूको स्थिति अगाडि वा पछाडि भइरहने हुँदा शासन व्यवस्थामा असजिलो हुन्थ्यो । सजिलो बनाउन चन्द्र शमशेरले ज्योतिषीहरूको सल्लाह लिएर तिथि र बारहरूमा तल माथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाख १ गतेदेखि नेपालमा चलाए ।
स्मरणीय के छ भने तिथिको आधारमा चल्दै रहेका नेपाल संवत् र शक संवतमा जम्मा ३५४ दिनको एक वर्ष हुन्छ भने विक्रम संवतको वर्ष ३६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपलामा पूरा हुन्छ । गणितीय हिसाब जे भए पनि यसमा चन्द्र शमशेरको आफू सूर्यवंशी हुनुको गर्वलाई स्थापना गर्न यो सूर्यको गतिमा संचालित विक्रम संवत चलाएको हो भन्ने धेरै विद्वानको मत छ । मेरो मतमा विक्रम संवत गैरहिन्दु जातिमाथि हिन्दु राष्ट्रवादको विजयको प्रतीकस्वरूप भारतीय उपमहाद्वीपमा परापूर्व कालदेखि प्रतिष्ठापित भइआएकोले त्यसैको निरन्तरतास्वरूप चन्द्र शमशेरले हिमाली भेगका जनाजातिहरूमाथिको विजयको सानमा यो संवत चलाएका थिए ।
राजकीय संवत जुनसुकै भए पनि नेपाल संवत चन्द्रमाको तिथिमितिसम्मत भएकै कारण यसलाई जनताले चाड, पर्व, जन्म, मृत्यु आदि सबै संस्कारको तिथि गणना र चिना, धर्मपत्र, लेख, किताब, शिला, धातुपत्र आदिको मिति प्रयोगमा आफ्नै हिसाबले निरन्तरित गर्दै ल्याएका छन् ।
तर उल्लेख्य के छ भने विक्रम संवतलाई राजकीय संवत घोषणा गरेको १६ वर्षतिरै अर्थात् सन् १९२० को दसकमा यसको विरोध भएको थियो । नेपाल भाषाका आन्दोलनकर्ता बौद्ध विद्वान धर्मादित्य धर्माचार्यले कलकत्तामा बसेर नेपाल संवतलाई राजकीय संवतको रूपमा स्थापना गर्ने अभियान सुरु गरेका थिए । त्यसपछि सन् १९५० मा राणा शासनको अवसानपछि यसलाई भाषा, साहित्य र संस्कृतिकर्मीहरूले आन्दोलनको रूपमा अघि बढाए । पछि सन् १९७९ देखि नेपाल भाषा मंका खल:ले यस अभियानलाई संगठित रूपमा अगाडि बढायो ।
पंचायत सरकारले यस आन्दोलनलाई दबाउन शान्तिपूर्ण र्यायलीहरूमै धावा बोलेर अभियानकर्ताहरूलाई पिट्ने र जेल हाल्ने समेत गर्यो । अन्तत: पंचायतकालको अवसानपछि सन् १९९० मा यसका संस्थापक शङ्खधरलाई विभूति मानेर राजकीय सम्मान दिइयो । अझ शाहकालको अवसानपछि सन् २००८ मा सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा घोषणा गर्योप र २०११ अक्टोबर २५ मा यसको कार्यान्वयन प्रक्रियाबारे सिफारिसका लागि एउटा कार्यदल नै गठन गर्‍यो। २०१३ देखि नेपाल संवतको पहिलो दिनलाई नववर्षको रूपमा बिदा दिने चलन कायम भयो । विक्रम संवत वा शक संवत आयातीत संवत मानिने हुँदा नेपालका माटोप्रेमीहरू नेपाल संवतलाई नै नेपाली गर्वको संवत मान्दछन् ।
आयातीत मानिएको विक्रम संवतले राजकीय स्थान पाउँदा धेरै देशभक्त चिन्तकहरू नेपाल संवतलाई नै यस स्थानमा विराजमान गराउन चाहन्छन् । विक्रम संवत आयातीत भए पनि नेपाल संवतलाई स्थापित गर्न विदेशी बनाइराख्नु कत्ति जरुरी छैन भन्ने मेरो सोच छ । कैयौं आयातीत मूल्यमान्यता हामीसँग यस्ता छन्, जो हामीसँग आफ्नै माटामा सिर्जित भएकाको तुलनामा बढी प्रचलित छन् जसको पोषण र प्रवर्धनमा हाम्रो उल्लेखनीय लगानी रहिआएको छ । त्यसैले विक्रम संवतलाई यस माटो पनि लगानी भएकोले यथा कायम गर्दै नेपाल संवतलाई समरूपको उचाइमा स्थापना गर्नसक्छौं भन्ने मेरो मान्यता छ ।
nepal-sambat-kirtipur
विक्रम संवत आज भारतमा पर्ने मालवीका राजाले स्थापित गरेका र उनैको नामबाट यसलाई निरन्तरित गरिएको हुँदा विदेशी संवत भनिने गरिएको हो । तर विवेचनायोग्य के छ भने जुनबेला यसको सुरुवात भयो त्यसबेला न नेपाल बनेको थियो न भारत नै । यी भूमिहरू हज्जारौं जनपदमा बाँडिएका थिए र कहिले कुन, कहिले कुन हुँदै सयौं राज्यअन्तर्गत यताउता हज्जारौं पटक परेका थिए । उत्तरमा मानसरोबरदेखि दक्षिण गंगानदीसम्म र पूर्वमा कामारुप ब्रह्मपूत्रदेखि पश्चिममा हिन्दुकुश पर्वतसम्म फैलिएका हिमवतखण्डका भूमिले अनेकन मूल्यमान्यता सिर्जना गरे । ती सबैलाई सदीयौँ लगाएर परिष्कार गरे । यी अवधिमा यस भूमिमा हज्जारौं राज्य स्थापित भए र नाशिए पनि । तर ती सांस्कृतिक निधिहरूको निरन्तरता तथा परिष्कार प्रक्रिया कहिल्यै रोकिएन ।
विक्रम संवतका संस्थापक विक्रमादित्य आजका नेपाली भूमिकै हुन् भन्ने धारणा नेपालमा नभएको होइन । इतिहासले कुनै प्रमाण नदिए पनि अनेक लोककथा र स्मारकले यस कुराको पुष्टि गर्दछन् । जस्तै:
१) बत्तीसवटा पुतली भएको विक्रमादित्यको सिंहासन भेटिएको स्थानलाई बत्तीसपुतली भनियो रे ।
२) लिच्छवि राजा भूमिवर्मा नै विक्रमादित्य हुन् रे।
३) विक्रमादित्यले बज्रयोगिनीवाट पारसमणि प्राप्त गरी नारायणहिटी स्थापित गरेका रे ।
४) साँखु बज्रयोगिनीको मन्दिरनजिकै विक्रमादित्य राजाको टाउकोकै मूर्ति स्थापित गरिएको छ ।
५) नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेका थिए रे ।
६) पनौतीमा एउटा युवा ऋषिको स्खलित वीर्य खाएर गर्भवती भएकी युवतीबाट विक्रमादित्यको जन्म भएको थियो रे । आदि ।
तर यी कुनै भनाइको पनि ऐतिहासिक पुष्टि भने भएको छैन । बरु एघारौं शताब्दीका कर्नाटकका चालूक्यवंशी विक्रमादित्य षष्ठका सामन्त नान्यदेवले सन् १०९७ मा राजा वामदेवको समयमा सिम्रौनगढबाट नेपाल आक्रमण गरी आफ्नो थिति यता बसाल्न खोजेका प्रमाण भने पाइन्छन् । यही तथ्यसँग उपलब्ध लोककथा गोलमटोल भएको मलाई लागेको छ ।
यो लोककथाको प्रसंग छैठौं विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त नान्यदेवले उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रशस्ति यता प्रवाहित भएको हो भन्ने अड्कल काट्ने ठाउँ भने छ ।
भारतीय इतिहासमा एक होइन थुप्रै विक्रमादित्य देखिन्छन् । अझ विक्रमादित्य कुनै एक राजाको नाम होइन, पराक्रमी राजाको पदवी भएको देखिन्छ । हिन्दुभन्दा इतरसंस्कृतिका आक्रमण र उनीहरूका स्थापनाविरुद्ध लड्ने, जित्ने र आफ्ना संस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरूलाई ‘विक्रमादित्य’ मानिने इतिहासले प्रमाणित गर्दछ ।
जस्तै: पहिलो विक्रमादित्य मालवीका सातकर्णी (इसापूर्व १०० देखि इसापूर्व ४४०) थिए । उनले आफूलाई विदेशी शकहरूलाई खेदी विक्रमादित्यको उपाधिले विभूषित गरे । यिनैले इसापूर्व ५७ सालमा नयाँ संवत सुरु गरे, जसलाई पछि विक्रम संवत भनियो । पछि पाँचौं शताब्दीमा चन्द्रगुप्त द्वितीय, आठौं शताब्दीमा पुलकिशनको द्वितीय पुत्र अनि उनैका नातिसमेत एघारौं कर्नाटकका त्रिभुवन मल्लले विक्रमादित्य उपाधि धारण गरेको देखिन्छ ।Chandra-post
यही पछिला त्रिभुवन मल्ल विक्रमादित्य षष्ठ नेपालको दन्त्य परम्परामा देखिने विक्रमादित्य हुन पुग्दछन् । उनले शक संवत मासेर नयाँ संवत स्थापना गरे भन्ने समेत उल्लेख भारतीय इतिहासमा पाइन्छ (प्राचीन भारत, प्रथम भाग पृ. १६१)।
उसबेला ससाना हज्जारौं राज्यमा विभाजित हिन्दु राष्ट्रहरूका जनताले हिन्दु राष्ट्रवादका प्रतीक ‘विक्रमादित्य’लाई साझा रुपमा आफ्ना आदर्श नायक बनाए । सबै हिन्दु राष्ट्रहरूले विक्रमादित्यका परम्परालाई आफ्ना बनाए । यसरी नै चालूक्य राजवंशको शासन भोग्ने पनौतीले पनि विक्रमादित्यलाई आफ्ना बनायो । नाला होस् वा साँखु होस्‚ बत्तीसपुतली होस् त्यहाँ उपलब्ध लोकआहानहरूले गरेको पनि त्यही हो ।
यसरी विक्रमादित्यहरू कुनै राजनीतिक भूगोलको सीमामा बाँधिएका थिएनन् । त्यसैले विक्रम संवत नेपालमा छोटै समयदेखि प्रचलनमा आएको भए पनि यो हामी नेपाली समेतको धरोहर रहेको नितान्त साझा संवत हो । हामी आफ्नै लोक दन्त्य परम्पलाई समेत नकार्न सक्दैनौं । त्यसैले नेपाल संवतलाई पूर्ण नेपाली बनाउन विक्रम संवतलाई भारतीय बनाइराख्दा आफैलाई दुख्ने कुरो मलाइ लाग्दछ ।
तर कुरोको चुरो के छ भने चन्द्र शमशेरले किन शक संवतलाई मासेर विक्रम संवतलाई स्थापित गरे ? माथि भनिएझैँ शक संवतको प्रचलनमा तिथिमिति एकनास नरहने हुँदा प्रशासनिक कार्यमा सरलताका लागि सूर्यको गतिअनुसारको स्थिर गति रहने विक्रम संवतको प्रचलन सुरु भएको भन्ने कारण कतिसम्म सही हुनसक्छ ? इस्वी संवतको तुलनामा विक्रम संवतको गते कहाँ एकरुप रहेको छ र ? यो पनि त तलमाथि परिरहेको छ । त्यसरी यो तलमाथि हुने तिथिको प्रयोगले फरकै के पार्छ ? हिन्दु संस्कृतिका हरेक संस्कार चन्द्रगतिकै तिथिमितिमा त कार्यान्वयन हुन्छ । प्रशासनिक कार्यमा यो प्रयोग गर्नै नमिल्ने के छ ? यी सबै तर्क यता आएर राणा र शाह वंशका पक्षधर पण्डितहरूले यसको प्रतिष्ठालाई उँचो बनाउन पर्गेलेका कारणहरू मलाई लाग्दछ ।
भारतीय इतिहासबाट बुझिन्छ‚ विक्रम संवतको प्रतिस्थापनमा हिन्दु राष्ट्रवादिता स्पष्ट हाबी छ । चन्द्र शमशेरमा आफू राजपूत हुनुको गर्व र हिन्दु राष्ट्रवादिताको ज्वर थियो । शक संवत चल्दै थियो‚ चन्द्र शमशेरले पुरोहितहरूको बहकाउमा नेपाली भूमिमाथि राजपूतहरूको विजयको सान देखाउने हिसाबमा हिन्दु राष्ट्रवादिताको प्रतीक “विक्रम संवत”लाई स्थापित गरे । संवत फेर्नैपर्ने कुनै अर्को ठोस कारण देखिन्न । उनमा नेपाली राष्ट्रवादिता नै थियो भने उनले नेपाल संवतलाई फेरि प्रतिस्थापन गर्नसक्थे । तर उनको नजरमा नेपाल संवत एक विजित तुच्छ जातिका सामान्य जनताको छोरोबाट स्थापित भएको संवत थियो, यो उनलाई कदाचित स्वीकार्य थिएन ।

डा. कविताराम श्रेष्ठ

source: esamata


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook