Sunday, August 7, 2016

रियो ओलम्पिकमा सहभागी ११ हजार खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी नेपाली पौडीबाज गौरिका सिंह महिला एक सय मिटर ब्याकस्ट्रोक स्पर्धाको आफ्नो हिटमा पहिलो भए पनि अघिल्लो चरणमा भने पुग्न सकिनन् ।

हिट एकबाट प्रतिस्पर्धा गरेकी गौरिकाले निर्धारित दूरी पूरा गर्न एक मिनेट ०८.४५ सेकेन्ड समय खर्चिइन् । उनले आफ्नो हिटमा सामोआकी एभ्लिना एफोआ र कोसोभोकी रिटा जेक्विरीलाई पछि पारिन् । निर्धारित दूरी एभ्लिनाले एक मिनेट ०८.७४ र रिटाले एक मिनेट १२.३१ सेकेन्डमा पूरा गरे ।

समग्रमा भने गौरिका सहभागी ३४ खेलाडीमध्ये ३१ औं स्थानमा आइन् । गौरिकाले एभ्लिना र रिटासँगै केन्याकी पौडीबाज तालिसा लानोएलाई पनि पछि पारिन् । तालिसाले निर्धारित दूरी पार गर्न एक मिनेट १०.०२ सेकेन्ड समय खर्चिइन् । गौरिका यसअघि आफैले बनाएको कीर्तिमानभन्दा पनि पछि परिन् । उनले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्धारित दूरी एक मिनेट ७.३१ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।

गौरिकाका स्पर्धामा सहभागी ३४ मध्ये १६ जना खेलाडी अघिल्लो चरणमा पुग्न सफल भए । उक्त स्पर्धामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेकी अमेरिकी पौडीबाज क्याथलिन बाकेर ५८.८४ सेकेन्डसहित पहिलो स्थानमा रहेर अघिल्लो चरणमा पुगिन् । १६ औं स्थानमा रहेर अघिल्लो चरणमा पुगेकी आइसल्यान्डकी पौडीबाज एग्लो ओस्कले निर्धारित दूरी एक मिनेट ००.८९ सेकेन्डमा पूरा गरेकी थिइन् । अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने क्रममा आठजना खेलाडीले एक मिनेटभन्दा कम समयमा निर्धारित दूरी पूरा गरेका थिए भने आठजना खेलाडीले एक मिनेटभन्दा पनि बढी समयमा दूरी पूरा गरे ।
ओलम्पिक सुरुहुनुभन्दा एक साता अघिदेखि गौरिकाको विषयमा विश्वभरका सञ्चार माध्यामले कान्छी खेलाडी र भूकम्पबाट जोगिएकी खेलाडी भन्दै प्राथकिताका साथ समाचार संप्रेषण गरेका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीमध्ये गौरिका सबैभन्दा कम उमेरको खेलाडी भएको पक्का गरेको थियो । त्यसैले रियो ओलम्पिकमा दुई सय ६ देशबाट सहभागी खेलाडीमा गौरिकाको चर्चा निकै चल्यो ।

गौरिका आइतबार १३ वर्ष र दुई सय ५५ दिनकी भएकी छन् । बेलायतमा परिवारसँग बस्दै आएकी गौरिका रियो ओलम्पिकमा सहभागिता जनाउन उतैबाट रियो पुगेकी थिइन् । भारतमा ६ महिनाअघि भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन पनि गौरिका बेलायतबाट भारत आएकी थिइन् । भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न सागमा गौरिकाले नेपाललाई एक रजत र तीन कांस्यसहित चार पदक दिलाएकी थिइन् । नेपाली पौडी खेलाडीले सागको ब्यक्तिगत स्पर्धामा पदक जितेको पहिलो पटक थियो । गौरिकाले सन् २०१५ को जुनमा पहिलो पटक नेपालको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेकी हुन् ।

उनले एक वर्षको बीचमा सातवटा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । उनले नेपालको तर्फबाट गत अगस्टमा रुसको काजनमा भएको विश्व च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी थिइन् । गौरिका रियो ओलम्पिकमा कान्छी खेलाडी भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्यापक रुपमा स्थान पाएपछि गौरिकासँगै नेपालको समेत ओलम्पिकका चर्चा भएको थियो । रियो ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका र शिरीष गुरुङले भाग लिएका छन् । पौडी खेलाडीले आईओसीको अनिवार्य कोटामार्फत सहभागिताको अवसर पाएको हो । शिरीषले भने मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।

source :- Dcnepal




0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook