काठमाडौं– ‘तेल ल्याए भइहाल्यो नि हामीलाई केको खसखस ! सके ल्याए हुन्छ, हामीलाई मतलब छैन । यी मन्त्रीले तेल ल्याउने त बोतलमा न होला, त्यो पनि मिनिरल वाटरको बोतलमा ।’ (लामो हाँसो)
यो कुनै सामान्य नागरिकको व्यंग्य होइन । वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति हेर्ने शाखामा वरिष्ठ सहसचिवको हो । मुलुक भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आक्रान्त बनेको छ । नागरिकको चुलो बल्न छाडेको छ । सवारीसाधन चल्न छाडेका छन् । अस्पताल र अत्यावश्यकीय सेवा ठप्प हुने अवस्थामा पुगेको छ ।
नागरिकको दैनिकी कष्टकर बन्दै गइरहेका बेला वाणिज्य तथा आपूर्ति मन्त्रालयको काम समस्या समाधानमा बढ्ता केन्द्रित हुनुपर्ने हो । तर, त्यसो भने हुन सकेको छैन र गरिएको छैन । तर, सोही मन्त्रालयका सहसचिव जीवराज कोइराला सिंहदरबारको आफ्नो कार्यकक्षमा बसेर नवनियुक्त मन्त्री गणेशमान पुनको उछित्तो काढ्ने र काम गर्न नदिन उद्यत रहेका छन् ।
माथि उल्लेख गरिएको व्यंग्यात्मक भनाइ उनै कोइरालाको हो । कोइराला वाणिज्य तथा आपूर्ति महाशाखाको प्रमुख हुन् । विगत पाँच वर्षभन्दा बढी समयदेखि उनी सोही शाखामै रहेका छन् । हरेक मन्त्री र सचिवलाई रिझाएर आफ्नो दुनो सोझ्याउन लागिपरेका छन् । यस विषयमा जानकारी लिन खोज्दा सहसचिव कोइराला सम्पर्कमा आएनन् ।
छोरालाई दिल्लीमा छात्रवृत्ति, बुवा इन्धन संकट चर्काउने योजनामा
सहसचिव कोइरालाले मन्त्री पुनलाई मानवीय हैसियत समेत बिर्सेर तल्लो स्तरमा उत्रिएर गाली गर्ने र काम गर्न खोज्नेलाई समेत हतोत्साहित गर्ने गरेका छन् । त्यसको पछाडि उनलाई भारतीय दूतावास र भारतीय पक्षको खास सहयोग रहेको बुझिएको छ । भारतीय दूतावासको छात्रवृत्तिमा कोइरालाले आफ्ना छोरालाई दिल्ली मेडिकल कलेजमा पढाएका छन् । निःशुल्क आफ्ना छोरालाई पढाएका कोइरालाले भारतविरुद्ध हुने सबै गतिविधि कन्ट्रोल गर्न खोजेको सोही शाखाका एक अधिकृतले बताए । कोइरालाले हेर्ने महाशाखाबाट सबै सूचना लैनचौर दूतावासमा पुग्ने गरेको आरोप लाग्न थालेको छ । नेपाल सरकारको जिम्मेवार कर्मचारी भएर पनि कोइरालाले सरकार काममा सहयोग गर्ने गरेको गुनासो उठेको छ । चीनमा भएको द्विपक्षीय वार्ताको सूचना समेत वणिज्य तथा आपूर्ति लैनचौर जाने गरेको केही अधिकारी बताउँछन् ।
मन्त्रीलाई गाली गर्दै बस्छन् सचिव उपाध्याय
सहसचिव कोइराला मात्रै होइन, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय पनि संकट समाधान गर्ने भन्दा पनि बल्झाउन लागिपरेका छन् । चीनसँग द्विपक्षीय वार्ता गर्न सचिवको नेतृत्वमा टोली जानुपर्ने भए पनि आफू बिरामी भएको बहाना गरी नगएको बताइएको छ । उनले भारतबाट इन्धन ल्याउने पक्षमा कुनै पहल गरेका छैनन् । वीरगन्ज नाकामा रोएिका इन्धन ट्यांकरलाई मार्ग परिवर्तन गरेर ल्याउने विषयमा समेत सचिव उपाध्यायले रोकेका छन् । उनले स्वीकृति नदिएका कारण वीरगन्जमा रोकिएका इन्धनका ट्यांकर र खाना पकाउने ग्यासको बुलेट नेपाल ल्याउन सकिएको छैन ।
सुनील थापाले समेत गरेका थिए गुनासो
मन्त्रीले ल्याए भइहाल्यो नि भन्दै सचिव उपाध्याय दिनभर मन्त्रालयको आफ्नै कार्यकक्षमा पत्रकार र आगन्तुकसँग कुरा काटेर बस्ने गरेका छन् । नेपाल आयल निगमलाई उचित निर्देशन नदिने, अकर्मण्यतामा बस्ने र संकट बढाउने काममा सचिव उपाध्यायको भूमिका गतिलो नभएको भन्दै पूर्वमन्त्री सुनीलबहादुर थापाले समेत असन्तुष्टि व्यक्त गरेका थिए । मन्त्रालयबाट बिदा हुने समयमा थापाले यस्ता कर्मचारी हुँदासम्म मुलुकले दुःख पाउने भन्दै गुनासो गरेका थिए ।
सचिव उपाध्याय र सहसचिव कोइरालाको कार्यशैलीबारे मन्त्री पुनलाई पनि जानकारी दिइएको छैन । इमानदारीपूर्वक इन्धन संकट समाधान गर्न लागिपरेका मन्त्री पुनलाई असफल बनाउन उनीहरूले योजनाबद्ध रूपमा लागेका छन् । नेपाल सरकारको निर्देशन भन्दा पनि भारतीय दूतावासको निर्देशनमा चल्ने कर्मचारीका कारण समस्या बढदै गएको सोही मन्त्रालयका कर्मचारी बताउँछन् ।
सचिव र सहसचिवले सहयोग गरेनन् –राजदूत उपाध्याय
त्यसो त भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले समेत वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहयोग नगरेका कारण इन्धन आयात गर्न समस्या भएको बताएको छन् । नागरिक दैनिकमा आज प्रकाशित समाचारअनुसार मन्त्रालयले इन्धन आयातमा कुनै पनि पहल नगरेको र दूतावाससँग कुनै पनि समन्वय र छलफल नगरेको उल्लेख छ ।
राजदूत उपाध्यायले सचिव र सहसचिव कोइरालाको कार्यशैली गलत भएको भन्दै परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइसकेका छन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग पनि राजदूत उपाध्यायले सचिव र सहसचिवलाई सरुवा नगर्दासम्म काम गर्न मुस्किल भएको बताएका थिए ।
बेइजिङ गएको टोलीमा ‘भारतका दूत’
त्यसो त इन्धन आयातका विषयमा छलफल गर्न बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलमा रहेका एक नेपाली अधिकारीको व्यवहार शंकास्पद देखिएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव भविन्द्र अर्यालको भूमिका शंकास्पद रहेको भन्दै बेइजिङस्थित नेपाली दूतावासले उनको गतिविधिमाथि निगरानी गरेको छ । ‘अर्यालले द्विपक्षीय छलफलका क्रममा भएका सबै सूचना चुहाउने खतरा देखेर उनका गतिविधिमाथि निगरानी राखेका हौँ,’ बेइजिङस्थित नेपाली दूतावास स्रोतले भन्यो ।
यस्तै, वाणिज्य विभागका कर्मचारीको भूमिका पनि संकट समाधान गर्ने भन्दा पनि बल्झाउनेतिर केन्द्रित रहेको छ ।
पेट्रोलियम पदार्थ ल्याउने विषयमा द्विपक्षीय कुराकानी गर्न उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल कात्तिक ९ गते चीनतर्फ प्रस्थान गरेको थियो । भारतले अघोषित नाकाबन्दी गरेपछि मुलुकभर इन्धनको चरम संकट भएपछि वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ टोली चीन गएको थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले चीनका उच्च अधिकारीसँग इन्धन आयातका विषयमा कुराकानी जारी राखेको छ । टोलीमा अर्याल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरे, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, परराष्ट्र मन्त्रालयका सहसचिव भविन्द्र, चीनका लागि नेपाली राजदूत महेशमान मास्के, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, निर्देशक सुशील भट्टराई र नापतौल तथा गुणस्तर विभागका महाप्रबन्धक विश्वबाबु पुडासैनी छन् ।
0 comments:
Post a Comment