लगभग दुई हजार वर्षदेखि ‘नेपाल’ काठमाडौंकेन्द्रित रहेर जोडिंदै, टुक्रिंदै गरेको इतिहासकारहरूको भनाइ छ। गोर्खाली राज्य विस्तार अभियानअघि नेपालभित्रका साना राज्यहरू आपसी द्वन्द्वमा थिए। पश्चिमका केही राज्यहरू केही समय मुगल साम्राज्यको प्रभावमा पनि रहे। भारतमा मुगल साम्राज्यको पतन हुँदै अंग्रेजको उदय भयो। त्यही समयमा गोर्खा राज्य शक्ति विस्तार गर्दै पूर्वमा सिक्किम र पश्चिममा काश्मिरको सीमासम्म पुगेको थियो। उत्तरको तिब्बतमाथि गोर्खाली सेनाले सन् १८८८–८९ मा आक्रमण गरेर हरायो। त्यसको परिणाम, हरेक वर्ष तिब्बतले काठमाडौं दरबारलाई पचास हजार नेपाली रुपैयाँ तिर्नुपर्ने भयो। त्यसको दुई वर्षपछि तिब्बतले त्यो रकम नतिरेकाले गोर्खाली सेनाले फेरि आक्रमण गर्यो। तर चिनियाँ फौज
मद्दतका लागि तिब्बत आएकाले गोर्खाली फौज भाग्नुपर्यो। चिनियाँ फौज लखेट्दै रसुवासम्म आइपुग्यो। चिनियाँ सेनासँग सन् १८९२ मा हारेपछि अपमानजनक सम्झौता गर्दै तिब्बतबाट पहिले लुटेर ल्याएका बहुमूल्य वस्तुहरू पनि फर्काउनु पर्यो। रसुवाको चिनियाँ क्याम्पमा दमन शाहले लगेको राजा रणबहादुर शाहको पत्रमा ‘गोर्खालीहरू साना र
जंगली मान्छे भएका हुनाले चिनियाँ सम्राटलाई के उपहार पठाउन उपयुक्त हुन्छ भन्ने थाहा नभएको, माफी होस्’ भन्ने लेखिएको हृषीकेश शाहद्वारा लिखित आधुनिक नेपालको राजनीतिक इतिहास मा उल्लेख छ।
सो पत्रमा चिनियाँ सम्राटको अधीनता स्वीकार्ने, तिब्बत आक्रमणका क्रममा गरेका सबै गल्ती सच्याउने, तिब्बतसँगको व्यापारमा असमान शर्त नलगाउने र विवादित चमु क्षेत्र तिब्बतलाई फिर्ता गर्ने पनि उल्लेख थियो। तर, सो अपमानजनक सम्झौताले गोर्खालीराज्य जोगियो भने ‘दुई ढुंगा बीचको तरुलको फसाद’ बुझ्न पनि गोर्खा दरबार बाध्य भयो। भलै, त्यसपछि पनि चीनले आफूलाई नै खर्चिलो हुने भएकाले हिमालय दक्षिणतिर प्रभाव बढाएन। भोटपट्टि आँखा लगाउनुहुन्न भन्ने पाठ सिकेको गोर्खाली राज्य पनि त्यसपछि पश्चिमतर्फ लाग्यो। तर, अंग्रेजसँग दुई चरणको युद्धपछि सन् १८१६ मा भएको सुगौली सन्धिले
गोर्खा साम्राज्यको त्यताको महत्वाकांक्षालाई पनि ब्रेक लगायो। त्यसपछि अहिलेको नेपाल (तराईको केही भूभाग छोडेर) मा सीमित हुन पुग्यो। सो घटनाले बेलायती शासनको प्रभाव नेपालमा बढाएको काठमाडौंमा बस्ने ब्रिटिश रेसिडेन्टहरूले
कूटनीतिको नाममा काठमाडौं दरबारमा हस्तक्षेप गर्नुले देखाउँछ।
सुगौली सन्धि अघिदेखि नै काठमाडौं दरबारले चीन र अंग्रेजबीच सन्तुलन बनाउने कोशिश गरेको देखिन्छ। अंग्रेजसँग युद्ध चलेको वेला चीनसँग मागेको मद्दत लडाईं सकिएपछि मात्र ल्हासा आइपुगे पनि त्यसलाई आफ्नो पक्षमा भजाउन खोजिएको थियो। काठमाडौंस्थित ब्रिटिश रेसिडेन्टलाई उनको उपस्थितिले चिनियाँ सम्राटलाई अप्रसन्न बनाएको सन्देश पनि दिइयो भने चिनियाँहरूको दबाब रोक्न अंग्रेजको त्रास पनि देखाइयो। त्यस प्रकारको कोशिशलाई अहिले भारतले ‘चाइना कार्ड’ भन्छ। नेपालको अनुरोधमा त्यो वेला चीनका तर्फबाट एउटा पत्र कलकत्तामा रहेका अंग्रेज प्रतिनिधि मार्किस अफ हेस्टिङ्सलाई पठाइएको थियो, जसको आशय यस्तो थियो, “हुन त यो खासै फरक पर्ने कुरा होइन, (तर) यदि तपाईंले हामीप्रति कृपा गर्दै र (चिनियाँ) सम्राटसँग मित्रताको ख्याल राख्दै काठमाडौंबाट कम्पनीका वकीललाई फिर्ता बोलाउने निर्णय लिए राम्रो हुनेथियो र हामी आभारी हुनेथियौं।”
सो पत्रले विदेशी शक्तिले आफ्नो स्वार्थका लागि मात्र नेपालसँग सम्बन्ध राख्ने र मित्रताको नाममा एउटा शक्तिले अर्को शक्तिसँग शत्रुता नमोल्ने देखाउँछ। अहिले पनि कम्युनिष्ट विचारधारा लिएकै कारण चीनबाट विशेष सहयोग पाउने आशा गर्नु देशका लागि घातक हुने देखिन्छ। कुनै एउटा देशको विरोधमा उग्र भावना फैलाउनु पनि अर्को घातक प्रवृत्ति हो।
Wednesday, August 12, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment