डी. कोइराला
सुगौली सन्धिले गोर्खा साम्राज्यलाई Raja of Nipal निपालका राजाको अधिनस्थ मात्र राखेन गोर्खा शान, मान गौरव जे जति थिए सबै सर्वस्व हरण गरिए । यसैको मारमा परेका तात्कालिन सेनानीहरु पीडित हुँदै कोही गोसाईकुण्डतिर लागे, कोही हराए, कोही जितेको जमिनसँगसँगै मेची पारी नै बसे ।
टिष्टावारी मेचीपारीका लोहाङगड, पानीघट्टा, मोति (गडा) गढी, मल्ल गढी, सिलगढी, फाँसीदेवा, चोपडा, (हालको बंगलादेशको सीमानासम्म) वागडोगरा, दुधे, मिरिक, सियोक, सुके, मानेभञ्ज्याङ, रेलिङ, कैजले, कोलबुङ, लोधोमा, दिल्पा, अन्नपूर्णा, बास्बोटे, रिम्विक, राङभाङ्, श्रीखोला, गोर्खेसमान्दिन, फालेलुङ्, सन्दकपुर, गैरीबास, ओख्रे, दरमदिन, बर्मेक, जोरथाङ्, पेलिङ, पाचेखानी, नाम्ची, मल्ली, गिङ, ग्लेनवर्न, सिङ्ला, तकभर, सिहंमाडी, गुन्द्रिबजार दार्जिलिङ, सिद्राबोङ, ओल्ड गोर्खास्टेसन् घुम, जोरबङ्गलो, पुपुङ, टिष्टा भ्याली, तक्दा, मङ्पु, कालीखोला, लाठपञ्चर, खर्साङ, गिद्धे, सिमीटार पङ्खाबारी, अम्बोटे, सोनाद, टुंग, चुङ्थुङ, रिसिहाट, नागरी, पोख्रेबुङ, टर्जम, मेमबस्ती, बिजनबारी आदि ठाउँतिर ढाल फाँड गर्दै बसे भने कोही भुटान देशको कालेबुङ, बमबस्ती, लोले बस्ती, अलगडा बस्ती, लाभा पेदोङ् बस्ती, सिञ्जी बस्ती, गितडाब्लिन बस्ती, कागे लिङ्से बस्ती, गोरुबथान, बाख्राकोट, जलढका, तोदेताङ्ता, नगरकट्टा, बाँदरहाट, सिप्सु बस्ती, हाँगे बस्ती, थालझोडा, पश्चिम डुवर्स, आसाम डुवसतिर बसईँ सर्दै गए ।
कोही तात्कालिन आसामको गौहाटी, तेजपुर, दरङ दिब्रुगढ, चुनपुरा, नेफा, लिखापानीलेदु, लामलिङ् फारकाटिङ् , शिवसागर, नागाहिल, गारुहिल, जयन्तिहिल, सिलोङ् ,मणिपुर, त्रिपुरा, मिजोरम हुँदै बर्मातिर लागे भने कोही महाकाली पारी टनकपुर, बनवासा, पिलिभित बरेली, रिच्छा, हल्द्वानी, नैनीताल, अल्मोडा, रानीखेत, जैथक, देहरादून, भाक्सु, सिमला, झुलाधाट, पिथौरागढ, धार्चुलातिरै बसे ।
आफूले रगत पसिना बगाई ज्यानको बाजी राखेर जितेको भूभाग छोड्न चाहेनन् । हालसम्म पनि त्यसरी हालको हिन्दूस्थानमा बसेकाहरुले पुरानो गोर्खा गौरवको गोर्खा शब्दलाई जातियता स्विकारेर भारतीय गोर्खा कहलिँदै सेनातर्फ जर्नेल, पुलिसतर्फ आईजीपी र निजामति तर्फ आइ.ए.एस, आए.पी.एस., आइ.एफ.एस. अफिसर हँुदै केन्द्र सरकारको सचिव एवं प्रोफेसर, डाक्टर, विश्वविद्यालयको भि.सी, भारत सरकारको (सेक्युरिटि काउन्सिल) सुरक्षा परिषदको सदस्य, एम.पी., एम.एल.ए. र राजदूतसम्म बनेका देखिन्छन् ।
तात्कालिन गोर्खा साम्राज्यको टिष्टा वारीको भूभाग पुनः सिक्किमको नै हुन गए पछि (सिक्कम देश सन् १९७५ मा भारतमा विलय भएको हुँदा) सिक्किम देशका राजा छोग्यालका प्रजा बन्न बाध्य भएका गोर्खाहरु भने सुखिमे राष्ट्रियता स्विकार गरी सिक्कम सब्जेक्ट भएकाहरु जो आफूलाई सिक्किमेली नेपाली भन्छन् (गोर्खा भन्न बिर्सिए) सायद उनीहरुकै नामका साइनाले होला भारत सरकारले नेपाली भाषालाई राष्ट्रिय भाषाका रुपमा भारतको संविधानको अनुसूची ८ ले संवैधानिक मान्यता दिएको छ । यो मान्यताको अभियानमा दिलकुमारी भण्डारीको योगदान रहेको थियो भनिन्छ । उनी सिक्कमबाट एम.पी(सांसद) बनेकी थिइन ।
यसरी अङग्रेजले अनेक षड्यन्त्र गरी खुम्च्याएको जितुवा गोर्खा राष्ट्रलाई हरुवा देश (निपाल) नेपालको परिचय (राष्ट्रियता सहित) स्वीकार गर्न बाध्य पार्ने त्यो तथा कथित अपराध पूर्ण सुगौली सन्धिलाई तात्कालिन राणा प्रधानमन्त्री श्री ३ महाराज चन्द्र समशेर जबराका आफ्ना हस्ताक्षरले २१ डिसेम्बर १९२३ मा सदर गरिदिएको देखिन्छ । त्यो अन्यायपूर्ण सन्धिलाई चन्द्र समशेरले किन सदर गरेका हुन् । यो सन्धि गर्ने चासो अङ्ग्रेजको थियो कि नेपालको थियो । यो सन्धि राष्ट्रवादी कि राष्ट्रघाति थियो त्यसतर्फ विचार गरौं भन्ने यो लेखको अभिप्राय हो ।
यो सन्धिका सम्बन्धमा चन्द्र समशेरले चासो राख्नु जरुरत थियो/थिएन ? गोर्खा गौरवले सुगौली सन्धिको पीडा भुलेको थियो/थिएन ?
श्री ३ महाराज चन्द्र समशेर जबराले अङ्ग्रेजलाई प्रथम विश्वयुद्धमा पूर्ण रुपले नवयुवकहरुका पल्टन पठाएर सघाएकै थियो । जङ्गबहादुरले अङ्ग्रेजलाई खुसी पारी सघाउँदा जसरी नयाँ मुलुक फिर्ता भएको थियो, चन्द्र समशेरले पनि त्यो आशा राख्नु स्वाभाविकै हो । अङ्ग्रेजसँग युद्ध गर्ने सामर्थ्य नेपालसँग थिएन । अङ्ग्रेजहरुसँग युद्ध नगरी सम्बन्धमात्रै राख्न सक्दा पनि नेपालको स्वतन्त्रता र सम्प्रभुतामा कुनै खतरा हुने सम्भावना थिएन । नेपाल स्वतन्त्र राष्ट्र थियो कसैको उपनिवेश थिएन ।
तर उता अङ्ग्रेज भने विश्वयुद्ध लडेको कहिल्यै घाम न अस्ताउने मुलुकको अधिपति भएर पनि अङ्ग्रेजका शत्रु राष्ट्र र मित्र राष्ट्रहरु थिए । उसले मित्रलाई काखी च्याप्ने र शत्रुलाई दबाउने नीति छोडेको थिएन । यस्तो हुँदा हुँदैमा सन् १९२० मा League of Nation को गठन भयो । यो सङ्घको काम अन्यायमा परेका राष्ट्रलाई न्याय दिलाउने भनिएको थियो । सुगौली सन्धिले नेपाल अन्यायमा परेको कुरा जग जाहेर नै थियो । त्यसैले सुगौली सन्धिको वैधानिकतामाथि League of Nation मा कुरा उठ्ने सम्भावनालाई मध्यनजर राखेर षड्यन्त्रकारी अङ्ग्रेजहरुले चन्द्र समशेरलाई सुगौली सन्धि सदर गर्न लगाएको अनुमान गर्न सकिन्छ ।
नेपालबाट सर्वप्रथम एस.एल.सी गर्ने चतुर प्रधानमन्त्री चन्द्र समशेरले त्यो समयमा त्यो सुगौली सन्धि, सदर गर्ने सन्धि, नगरेका भए आफुलाई हेपेको ठानेर अङ्ग्रेज सरकारले राणा र राजालाई खत्तम पारेर नेपाललाई पनि भारतीय राजा रजौटाहरुलाई झैँ पेलपाल गरेर उपनिवेश बनाउन बाँकी नराख्ने सम्भावनालाई पनि गहिरिएर हेरेको थियो होला भन्न सकिन्छ । आफ्नो राणाबंशका हातको शासकीय सत्ता, नारायणहिटीका खोपिमा विराजमान भएका राजा र सन्धिले छोडेर बचेको अंग्रेजले नाम राखिदिएको देश निपाललाई जसरी भए पनि जोगाएर राख्नुपर्ने बाध्यताका सामु बिकल्पहिन भएका प्रधानमन्त्री श्री ३ चन्द्र समशेर जबराले, उकालो चढ्ने बटुवाहरुले उकालाका टुप्पामा हुने देउरालीमा पाती चढाए झैं गरी सुगौली सन्धिलाई सदर गरेको रहेछ भन्ने बुझ्नु परेको छ । सन्धिको शिर व्यहोरा यस्तो छ ।
Whereas peace and friendship have now existed between the British Government and the Government of Nepal since the signing of the Treaty of Segowlie on the 2nd day of December 1815; and…….
. Have agreed upon the following articles;
Article II
All previous Treaties, Agreements and Engagement since and including the Treaty of Segowlie of 1815, which have been concluded between the two Government are here by confirmed, except so far as they may be altered by the present Treaty.
सम्भवतः अङ्ग्रेजले “Nepal” भनेर प्रष्टसँग उल्लेख गरेको सन्धि यो नै पहिलो हो । यदि यो सन्धि चन्द्र समशेरले नगरेको र League of nation ले दूधपानी छुट्टयाउन सकेको भए काँगडा र टिष्टाका बीचको सम्पूर्ण भू–भाग अवश्य पनि नेपालको हुने थियो होला भन्न सकिन्छ । यो तर्कलाई स्विकार गर्ने हो भने चन्द्र समशेरलाई राष्ट्रघाती भन्दा फरक पर्दैैन ।
तर अर्को तर्फ विचार गर्ने हो भने अङ्ग्रेज जस्ता ब्वाँसाहरुको हातबाट पाती चढाएकै भरमा नेपालको स्वाधिनता र स्वाभिमान्लाई जोगाउन सकिन्छ भने किन न जोगाउने भन्ने विचार राखेर पनि सन्धि सदर गरेको हुन सक्छ ।
League of nation भन्ने संस्था सफल हुन सक्छ/सक्दैन यो संस्थाको भविष्यमा अङग्रेज सरकारको हैसियत के कस्तो हुन जान्छ भन्ने अङग्रेजको कुटिल कुटनीतिको गहिराइ आँक्न सक्ने प्रधानमन्त्री चन्द्र समशेरले अनुमान गरेर नै सन्धि सदर गरेको हुनु पर्दछ
।
उक्त सदर गरेको सन्धिका सम्बन्धमा यो तर्क दिनु हो भने चन्द्र समशेरलाई राष्ट्रघाती नभनेर राष्ट्रवादी मान्नु उपयुक्त देखिन्छ । किनभने त्यो राणाकालिन समयका देशका समस्या समाधान गर्ने तरिका र हालको गणतन्त्र देश नेपालका वर्तमान समस्यालाई समाधान गर्ने तरिकालाई न्यायको तराजुमा जोखेर हेर्ने हो भने उनी राष्ट्रवादी मात्र नभई महाँ राष्ट्रवादी भन्दा फरक पर्दैन ।
साँच्चै भन्ने हो भने राणाकालिन इतिहास लेखिए जस्तो लाग्दैन । राणाकालमा भएका राष्ट्रहितका कामहरुलाई राणाहरुका निहितस्वार्थ पूर्ति गर्ने कामहरु हुन् भन्ने प्रचार गरेकै भरमा इतिहास बंग्याउन मिल्दैन । राणाहरुले गरेका भनिएका सबै कामलाई नराम्रा नै हुन् भन्ने प्रचार गरेकै भरमा राष्ट्रबादी बनिन सकिँदैन भन्ने कुरा अबका नेताहरुले बुझ्नु अनिवार्य भएको देखिन्छ । ठूला राष्ट्रबादी नेता बनिन, प्रजातन्त्रको खोल ओडेर जनतालाई झुटा आश्वासन बाँडेर हिँड्ने तथाकथित स्वनामधन्य नेताहरुले विगतका असली इतिहास अध्ययन नगरी सतही भाषण र हचुवा निर्णय गरेकै भरमा देशलाई सही बाटोमा हिँडाउन मुस्किलै पर्न जाने देखिन्छ ।
source :-kakakul.com
0 comments:
Post a Comment