डी कोइराला
भारतले हेप्यो, भारत सरकारले हेप्यो, भारतीय दादागिरी भयो, भारतीय विस्तारवाद बढ्न थाल्यो भन्ने भनाइ आम नेपाली जनताका ओठमा झुण्डिएको छ । राजनीतिको फुटपाथमा भएका नेपालीहरुमध्ये नेता बन्ने धुनमा सवार भएको भविष्यमा बन्ने नेताले पनि साच्चै नेता नहुञ्जेलसम्म रट्ने स्तोत्र पनि यहि हो । यो स्तोत्र जपेर नेता बनेका मान्छेहरु नेपालमा धेरै नै छन् भन्दा फरक पर्दैन ।
नेता हुनका लागि के के आवश्यक पर्छ, म जस्तै राजनीति नजान्ने लठुवाले जान्ने कुरै भएन । लठुवाका चलन चल्तीका परिभाषालाई मान्नु हो भने चुनावमा उठ्ने जति सबै नेता हुन् । चुनाव हार्नु जित्नु भनेको स्वभाविक प्रकृया हो । हाम्रो देशमा चुनाव जित्नेको भन्दा चुनाव हार्नेको फलिफाप भएका थुप्रै उदाहरण छन् । चुनाव हार्नेको फलिफाप देखेर नै होला जनाधार नभएका मान्छेहरुको भीड पार्टी अफिसमा देख्न सकिन्छ । चुनाव आउने बेला पार्टी अफिसमा भन्दा ठूलो भीड हेर्नु प¥यो भने पार्टीका सभापतिको निवासमा जानु पर्छ । त्यो निवासको बैठककोठा, भान्साकोठा, सुत्नेकोठा, बरण्डा, घरको छत, करिडोर, फूलबारी जताततै भीडै भीड मात्र देख्न सकिन्छ ।
पार्टीमा खटें, सेवागरें, उचित मूल्याङ्कन हुन सकेन, यो पटक टिकट पाउनु प¥यो हजुर यस्तै अनुनय विनयका आवाजले सभापति निवास गुञ्जयमान् हुन्छ । टिकट पाउनासाथ अनुनय विनय गर्ने स्वर बदलिन्छ । स्वर बदलिनुको अर्थ नेता हुनु नै हो भन्ने लगाउन सकिन्छ । टिकट पाउनासाथ फलिफाप पाउन सक्ने लिष्टमा नाम दरिन्छ । यस्तो प्रकृयाबाट बनेका नेताहरुमा देश र जनताको सेवाका नाममा चाकडी गर्न सक्ने र चाकडी गराउन सक्के कला भने अनिवार्य छ । नत्र भने यस्ता कला नभएका नेता असफल श्रेणिमा पर्दछन् । त्यसैले सफल श्रेणिको नेता बन्नका लागि चाकडी महात्म्यको अध्ययन र अनुभव अनिवार्य हुन आउँछ ।
यस्तो चाकडी महात्म्यको अनुभव हुने नेताहरु माननीय, मन्त्री, राजदूत, विभिन्न आयोगका अध्यक्षजस्ता पदहरुमा सजिलै पुग्न सक्छन् । यस्तो अनुभव स्वदेशमा र विदेशमा दुवै तिर काम लाग्न सक्छ र त्यस्ता अनुभवी नेताहरु कामयावी भइसकेका थुप्रै उदाहरण नेपालमा देखिएका छन् । म चाकडी चाप्लुसीको विरोधी हुँ, भ्रष्टाचार र अनियमितताको शत्रु हुँ भन्नेहरुमध्ये चाकडी चाप्लुसी गर्दै फाइदा बटुलेर झोला भरेका अनगिन्ती उदाहरण छन् भने भ्रष्टाचार र अनियमिततालाई शुत्र बताउनेहरु अदालतको आदेशबाट दोषी प्रमाणित भई कतिले त जेल सजायसम्म भोगी सकेका छन् ।
चाकडी र चाप्लुसी खुल्ला रुपमा नहुने प्रकृया हो तर त्यस्ता कुराको खुलासा झन् छिटो हुन्छ । चाकडी चाप्लुसी ठिक ढंगबाट भएन भने बुम¥याङ्ग हुन्छ । यस्ता बुम¥याङ्ग हुने नेताको कुरै नगरौ, नेताका पनि नेताको मात्रै कुरा खोदल्ने हो भने, राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन समशेर, प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत मित्रराष्ट्र भारतलाई चाकडी पु¥याउन नसकेकै कारणले बुम¥याङ्ग भए । राजा ज्ञानेन्द्र त्यसैले गए ।
भारतको इशारामा चलेको अनुभूति स्वीकारेर बुम¥याङ्ग नपर्ने प्रधानमन्त्रीहरु मध्ये मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र बावुराम भट्टरार्ईलाई मान्दा बढी तर्क संगत हुने देखिन्छ । भित्र जे जस्तो भए पनि देखाउन राम्रै देखाइन्छ, हेर्ने आफ्ना मान्छेहरुले पनि राम्रै हेर्छन्, गुणगान गाउँछन्, सतहमा हेर्नेले देख्ने यस्तै हो ।
मोहन समशेर
प्रधानमन्त्री मोहन समशेर गए सन् १९५० मा भारत र बेलायतसँग सन्धि गरे वापत । सतहमा हेर्नेले देख्यो प्रजातन्त्रका विरोधी भएकाले गए ।
विश्वेश्वरप्रसाद कोइराला
प्रधानमन्त्री विश्वेश्वरप्रसाद गए, नेपाल भारत मैत्री सन्धि १९५०, भारतलाई उदाङ्गो पार्न लगाए वापत । सतहमा हेर्नेले देख्यो बहुदलीय व्यवस्था अफाव सिद्ध भएर गए ।
पुष्पकमल दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल गए, भारत पहिले नगएर चीन गए वापत । सतहमा हेर्नेले देख्यो, प्रधान सेनापति रुक्माङ्गत कटुवाल काण्डले गए ।
पूर्व राजा ज्ञानेन्द्र
राजा ज्ञानेन्द्र गए सार्कमा चीनलाई पर्यवेक्षक बनाए वापत । सतहमा देख्नेले देख्यो निरंकुश राजा वापत गए ।
मातृकाप्रसाद कोइराला
बाहिर झलक्क हेर्दा कति राम्रो गहिरीएर भित्र हेर्दा कुहिएको फर्सीजस्तो क्रम परापूर्व देखि चल्दै आएको हो । परापूर्वका परम्पराको डगरमा हिड्नेहरुमध्ये, कोशी नदी भारतलाई सुम्पीने, भारतीय सेनाको मिसन नेपाल भित्राउने आदि काम गर्ने प्रधानमन्त्री मातृकाप्रसादलाई हेर्दा राष्ट्रको आवश्यक्ता अनुरुप काम गर्ने दूरदर्शी थिए भन्नसक्नेले भनेकै छन् ।
मनमोहन अधिकारी
त्यस्तै सन् १९५० को नेपाल भारत मैत्री सन्धिले नेपालको भइसकेको टिष्टा वारीको दार्जीलिङ, भारतको पश्चिम बंगाल राज्यको अभिन्न अंग हो भन्नसक्ने प्रधानमन्त्री मनमोहन अधिकारी भारतका लागि शुभचिन्तक भए, महान् भए होलान् भने नेपालका लागि के भए ? राष्ट्रवादी कि राष्ट्रघाती ।
गिरिजाप्रसाद कोइराला
भारतीय सल्लाह, सुझाव वा आग्रहबाटै निर्वीवाद रुपमा आवत जावत गर्ने भारतीयहरुलाई नागरीकता दिने नीति बनाए पछि ती नै भारतीयलाई नेता मन्त्री बनाएर आफू निष्कण्टक रुपमा प्रधानमन्त्रीमा आजिवन बस्ने लक्ष्य राख्ने गिरिजाप्रसादले पनि देशमा शान्ती ल्याउन भन्दै दिल्ली पुगेर भारतीय इसारामा १२ बुँदे सम्झौता गरेर देशलाई अस्तव्यस्त राख्न सफल हुन सके । यसको पुरस्कार स्वरुप भारतले रेड कार्पेटबाट स्वागत ग¥यो । सर्वसाधारण नेपाली जनताले त्यस्ता घटनालाई गर्व मान्नु कि चित्त दुखाउनु ?
बाबुराम भट्टराइ
त्यस्तै अर्का, भारतको कम्यूनिष्ट उत्पादन केन्द्र जेएनयूबाट दिक्षित भारतीय अनुग्रहले धोवीघाट बैठकबाट बनेका प्रधानमन्त्री बाबुराम भट्टराइले झन् तरेली तरेलीका सन्धि गर्दै भारतलाई हाम्रा एयरपोर्टसम्म जिम्मा लाउने प्रयास गर्नेलाई भारतका कट्टर विरोधि र नेपालका राष्ट्रवादी भन्न मिल्छ मिल्दैन ? यी नै डा. भट्टराई प्रधानमन्त्रीबाट हटेपछि पनि नेपालमा भारतीय हस्तक्षेपको आवश्यक छ, भनी खुल्ला रुपले भन्न सक्ने आँटिला हाम्रा भट्टराई आफ्ना नेता हुन् कि भारतका ? खुट्याए प्याच्च भनिहाल्नेहरुको मुख थुन्न सकिन्न तर पनि भन्न सकिन्छ भारत र नेपालको मैत्री सम्बन्ध भनेको ‘Rocky’ सम्बन्ध नै हो ।
यी गन्थनजस्ता लाग्ने तर्कहरुबाट के निष्कर्षमा पुग्न सकिन्छ भने भारतले नेपाललाई थिचो मिचो गरेको हेपेको दादागीरि गरेको होइन । हाम्रा तथाकथित नेताहरुले ठिक ठाउँमा ठिक कुरो राम्ररी राख्न नसक्नु, आफ्नो कुर्सीको बढी मायाँ गर्नु, परम्परागत थोत्रे शब्द ‘चाकडी चाप्लुसी’को आधुनिक रुप ‘सेवा, सहकार्य, एकता’मा बढी विश्वास गर्नु, व्यक्तिगत आशा राख्दै आशामुखि हुनु जस्ता नेताका लैबरी चरित्रले गर्दा नेता नै हेपिएका हुन् भन्ने अनुमान हो । ठिकसँगले ठिक कुरो गर्दा भारत रिसाउछ कि भनेर सोच्नु हिनतावोध बाहेक अरु केही पनि होइन जस्तो लाग्छ ।
source :- kakakul.com
0 comments:
Post a Comment