Friday, June 26, 2015
- 3:20:00 AM
- Admin
- sima
- No comments
सुगौली सन्धिको धारा ५ अनुसार नेपाल र भारतको सीमा त्यहाँ जमिन होइन, नदी हो– महाकाली नदी । लिपुलेकसम्म पु¥याउँदा जमिन हुन्छ, नदी हुँदैन । अफ्रिकामा नाइल नदी छ । त्यो नीलो माटोबाट निस्किएको हुनाले त्यो नदीको नाम नाइल रहन गएको हो । त्यस्तै ‘कुटी याङ्दी’ अर्थात् काली नदीको नाम पनि कालो माटो भएको स्थान अर्थात् लिम्पियाधुराबाट नै उत्पत्ति भएका कारण काली नदी रहेको हो ।
स्थानीय भाषामा कुटी भनेको कालो र याङदी भनेको नदी हो अर्थात् लिम्पियाधुरा मुहान रहेको काली नदी नै वास्तविक सीमाना हो । तर बीसौं शताब्दीको पहिलो दशकदेखि पानीका लागि नक्सा फेर्दै, सुगौली सन्धिको उल्लङ्घन गर्दै भारत अघि बढेको छ । तर यसो गर्नु स्वयं भारतका लागि नै कालान्तरमा आत्मघाती हुन सक्छ । सन् १९६२ मा चीन र भारतका बीचमा सीमायुद्ध हुँदा नेपाललाई तटस्थ राख्न मार्सल चेन यीको वक्तव्य आएको थियो, जसमा लिपू लेक भञ्ज्याङ नेपाली भूमि रहेकाले त्यसलाई सम्मान गर्दै चीनले उक्त भूमि प्रयोग गरी भारतलाई हान्ने काम नगरेको बताइएको थियो । अर्थात् लिपूलेक अब भारतसँगको व्यापारिक नाका भएपछि त्यो नाका हुँदै चीनलाई दिल्लीसम्म जाने बाटो खुलेको छ । त्यसैले स्वयं भारतका लागि त्यो सम्झौता आत्मघाती बन्न सक्छ । यो कुरा हामीले भारतलाई सम्झाउन सक्यौं भने यो समस्या समाधान गर्न पनि सकिन्छ ।
१५ जुनको चीन–भारतबीचको व्यापारिक सम्झौताले नेपालप्रति दुवै देशले “काले काले मिलेर खाऊँ भाले” को नीति अपनाएको देखाउँछ । हामीले बुझ्नु पर्दछ– माओत्सतेुङ र चाउ एनलाईको पालाको चीन अब छैन । चीनमा पनि पूँजिवाद हावी भैसकेको छ । पूँजीवादीहरूको स्वार्थ यस्तो हुन्छ कि जसले आफैलाई हान्ने गोली पनि नाफा पायो भने बेचिदिन्छ । बडो अनौठो कुरो छ– खम्पा विद्रोह दबाउन साथ दिने हामी, दलाई लामालाई शरण नदिने हामी, एक चीन नीतिको पक्षमा दृढ रहने हामी, तर ती सबै मुद्दाहरूमा चीनका विरूद्धमा रहेको भारतसँग चीन आज कसरी मिल्यो ? कुन स्वार्थले मिलाएको छ उनीहरूलाई ? यी कुराहरू लिएर हामीले सरकारी तवरबाटै कुटनीतिक पहल अघि बढाउन सक्नुपर्दछ ।
लिपू लेक हाम्रै हो भन्ने हामीसँग प्रशस्त प्रमाण छन् । त्यो क्षेत्रमा सीमानाको जिरो प्वाइन्ट अझै टुङ्गो लागेको छैन । नेपाल, भारत र चीन तीनवटै देश मिलेर त्यहाँ सीमानाको जिरो प्वाइन्ट टुङ्गो लगाउने प्रस्ताव गर्नुपर्छ । हामी जनताले आफ्नो राष्ट्रप्रतिको दायित्व पूरा नगरेकाले पनि भारतले हेप्दै हेप्दै आएको हो । जनताबाट चर्को दबाब सिर्जना गर्न सक्नुपर्दछ । उस्तै परे पिपुल भर्सेस गभर्मेन्टको स्थिति सिर्जना गर्नुपर्छ ।
हामीले बुझ्नु आवश्यक छ– नेपाल स्वतन्त्र हुन सकेको कसैको निगाहले होइन । यो हाम्रा पुर्खाले रगत बगाएर स्वतन्त्र रहेको देश हो । भारत र चीन कसैको पनि उपनिवेश नभएको देश हो नेपाल । हाम्रो राष्ट्रियताको आन्दोलनमा लिपूलेक अब एउटा अर्को मुद्दा थपिएको छ । अब देशभक्तहरूको मोर्चा नै बनाएर यो आन्दोलनलाई अगाडि बढाउनु पर्छ । राष्ट्रको एक जिम्मेवार नागरिकको हैसियतले हामी साथ दिन तयार छौं ।
–(यसैहप्ता राजधानीमा राष्ट्रिय जनमोर्चाले गरेको अन्तक्र्रियामा श्रेष्ठले व्यक्त गरेको विचार)
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment