Wednesday, June 24, 2015
- 9:11:00 PM
- Admin
- No comments
ऋषिराज लुम्सालीसन् १८१५ को सुगौली सन्धिले काली र राप्तीबीचका सम्पूर्ण तराईक्षेत्र अंग्रेजको कम्पनी सरकारलाई छाडे पनि लिम्पियाधुराबाट निक्लने नदीलाई नै काली नदी मानेको र काली नदीको पूर्वतर्फ रहेको मुहानीक्षेत्रलाई निर्वाध रूपमा नेपालको भू–भाग मानेको । सन् १८६० को प्रत्यावर्तन सन्धिले नेपाल र भारतको पश्चिमी सिमानाको रूपमा लिम्पियाधुरादेखि कुतियाकभरसम्म बग्दै भारततर्फ प्रवेश गर्ने काली नदीलाई प्रस्ट रूपमा दुवै देशको सीमानदी भनेर किटानी गरेको । सन् १८६०मा प्रत्यावर्तनसन्धि हुनुअगावै सन् १८५६ मा सर्वे अफ इन्डियाबाट प्रकाशित गरिएको र अंग्रेजहरूले समेत आधिकारिक मानेको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई नै काली नदी मानेको (स्रोत : नेपालको सिमाना लेखक बुद्धिनारायण श्रेष्ठ, पेज ३३९ र ३४०) । लिम्पियाधुराबाट बग्ने नदीनै काली नदी हो भन्ने सम्बन्धमा सोभियतसंघको जियोडेसी र कार्टोग्राफीका प्रमुख प्रशासनबाट १९६७ को दोस्रो संस्करणमा मस्कोबाट प्रकाशित वल्र्ड एटलासको पृष्ठ नं. १३९ को नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई नै काली नदी मानेको (स्रोत ः नेपालको सिमाना लेखक बुद्धिनारायण श्रेष्ठ, पेज ३४०) ।
सन् १८६० पछि र खासगरी सन् १८७९ पछिका भारतीय नक्साहरूले काली नदीको नाम फेर्दै कुटीयाङ्दी राख्ने गरेको र लिपु खोलालाई काली नदी भनेर जालझेल र एकतर्र्फी किचलो निकाल्दै आफूखुसी नक्साहरू निकाल्ने गरेको तर त्यस्ता नक्सा दुवै देशबाट हस्ताक्षर गरिएका सीमा नक्सा नभएको । नेपालका सिनियर हाइड्रोलोजिस्ट जगतकुमार भुषालको कान्तिपुर दैनिकमा २०५३ मा प्रकाशित नदीहरूको मुहान यकिन गर्ने जलविज्ञान र भू–धरातलीय आधार एवं मापदण्डसहितको सान्दर्भिक लेख (जसलाई यसै लेखको स्रोतसन्दर्भको रूपमा राखिएको छ ।) बाट पनि लिम्पियाधुराबाट बग्ने नदीलाई नै काली नदी मान्नुपर्ने आधार प्रमाणित हुन जाने । नेपाल सरकार र भारत सरकारले नेपाल भारत सिमानाको सवाल ९७ प्रतिशत समाधान भए पनि कालापानी क्षेत्र र सुस्ताक्षेत्रको विवाद अद्यावधि समाधान नभएको भन्दै आएको सन्दर्भमा गतवर्ष सम्पन्न भारतीय प्रधानमन्त्री मोदीको भ्रमणताका पनि उच्चस्तरीय प्राविधिक एवं विज्ञहरूको सहयोग लिई दुवै देशका सरकारी अधिकारीहरूबाट सीमा समस्या समाधान गरिने भनी उल्लेख गरिएको । जनवादी गणतनत्र चीनका तर्फबाट प्रकाशित नक्साहरूमा पनि लिपुलेकदेखि लिम्पियाधुरासम्मको भू–भागलाई सन् २००५ सम्म पनि विवादास्पद क्षेत्र भनी उल्लेख हुँदै आएको र नेपालको उत्तरपश्चिमी सीमा यकिन गर्ने क्रममा चीन, भारत र नेपालको त्रिदेशीय बिन्दु हालसम्म यकिन भइनसकेको ।
माथि उल्लिखित बुंदाहरूको पृष्ठभूमि भारत र चीनजस्ता नेपालका महान् शक्तिशाली छिमेकीहरूलाई राम्ररी थाहा भएकै कुरा हो । तर, ०७२ वैशाख १२ को महाभूकम्पबाट नेपाल थला परेको मौका छोपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न चीन भ्रमणका बेला ४१ बुँदे सहमतिको बुँदा नं. २८ बमोजिम नेपालको सार्वभौमसत्ताभित्र पर्ने लिम्पियाधुरा लिपुलेक र गुञ्जी दोभानसम्मको तीन सय ७२ वर्ग किलोमिटर क्षेत्रको नेपाली स्वामित्वलाई बेवास्ता गर्दै भारत र चीनले नेपालसँग एकवचन नसोधी दुवै देशको व्यापार विस्तार गर्ने नाकाको रूपमा लिपुलेकलाई प्रयोग गर्ने भनी प्रधानमन्त्रीस्तरमा हस्ताक्षर गरेबाट नेपाल मर्माहत भएको छ । यस घटनाले नेपाली जनमानसमा भारतीय भौगोलिक विस्तारवादको त्रास मोदीको शासनकालमा हट्ला भन्ने आशा धूमिल भएको मात्र नभई पञ्चशीलको सिद्धान्तमा आधारित परराष्ट्र नीति अपनाउँदै आएको मानिने चीन, भारतको लहैलहैमा हो वा व्यापारिक स्वार्थमा लिप्त भएर नेपालजस्तो सानो छिमेकीमाथि एकाएक व्यापारिक साम्राज्यवादी शैलीमा चीन उत्रिएको यस घटनाले नेपाली जनता स्तब्ध भएका छन् । चीनको यस कदमले नेपाली भूमि प्रयोग गरी स्वतन्त्र तिब्बतको सपना देख्ने खम्पा विद्रोहीहरूलाई दबाएर नेपालले एक चीन नीति अवलम्बन गरेको दृढ कदमको एकातर्फ चीनले नै उपहास गर्दै लिपुलेक पश्चिमको नेपाली भू–भागलाई टुक्रा पारेर दुई नेपाल नीति चीनले अपनाएको अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा नेपालले मात्र एक चीन नीतिको रामनामी जपिरहनु कतिको सान्दर्भिक हुन्छ ? चीनले एक नेपाल मान्दैन भने नेपालले चाहिँ एक चीन मान्नुपर्ने तर्कको औचित्यता चीनले कसरी प्रमाणित गर्दछ ? यस पंक्तिकारको आशय र नियत भारत र चीनसँग निहुँ खोज्ने वा सिँगौरी खेल्ने कदापि होइन तर अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई भियतनामले पाठ पढाएको कुरा दुवै महाशक्ति सम्पन्न छिमेकीहरूले बुभ्mन आवश्यक छ र साँढेहरूको जुधाइले मात्र होइन साँढेहरूको मिलनले पनि बाच्छो मिचिनु हुँदैन । नदीहरूको अध्ययन गर्दा मूल नदीको लम्बाई, सहायक नदीहरूको लम्बाई र नदीहरूको जलाधार क्षेत्रसमेतको अध्ययनको आवश्यकता पर्छ । कुन नदी मूल हो भनेर छुटयाउँदा पानीको मात्रा, नदीको लम्बाई र नदीको अर्डर (क्रममा) हेर्ने गरिन्छ ।
कुनै बिन्दुबाट नदीको लम्बाई नाप गर्दा सो बिन्दुबाट नदीको बीच धारैधार नदीको मुहानसम्म नाप लिनुपर्दछ । नदी जता बगेको छ उतैतर्फ फर्कंदा अर्थात् नदीको मुहानतर्फ पिठ्युँ फर्काउँदा दायाँ हात जता पर्छ नदीको दायाँ उतैतर्फ र बायाँ हात जता पर्छ नदीको बायाँ उतैतर्फ हुन्छ । पानीढलो अर्थात् जुन–जुन क्षेत्रबाट पानी मिसिन जान्छ त्यो जमीन सबै नदीको जलाधार क्षेत्रभित्र पर्न जान्छ । मुहानबाट निस्केपछि जब खोलाको रूप लिन्छ तब त्यस खोलालाई नदीक्रमांक एक नम्बर दिइन्छ । एक नम्बर एक नम्बरका दुई खोला मिलेपछि नदी क्रमांकलाई दुई नम्बर दिइन्छ । कुनै खास भौगर्भिक अवस्थामा बाहेक मुख्य नदीको क्रमांक सहायक नदीको भन्दा बढी हुँदै जान्छ । नेपालको सन्दर्भमा नदीको पानीको स्वरूप अध्ययन गर्दा बाढी, वर्षायामको खोला र हिउँदको खोलामा विभाजन गर्न सकिन्छ । दुई नदीमध्ये जुन नदीमा औसत पानी बढी हुन्छ त्यो नै मुख्य नदी हो । मुख्य नदीको लम्बाई नै अन्य नदीको लम्बाईभन्दा बढी हुन्छ । कुनै नदीको मुहान खोज्दै जानुपर्दा उपुर्युक्त कुराहरू नै पर्याप्त हुन्छन् । महाकाली नदीको उद्गमस्थल कुन हो ? कहाँ पर्दछ र कसरी यकिन भएको छ ? अहिले श्री ५ को सरकार, प्रमुख राजनीतिक पार्टीहरू र सर्वसाधारण सबैको चासोको विषय भएको छ । हवाईफोटो र टोपोग्राफिकल नक्साबाट नदीको लम्बाई, नदीको जलाधार क्षेत्रको प्रकृति, आकार र क्षेत्रफलसमेत नदीको बहाव (पानी) को तुलानात्मक अनुमान गर्न सकिन्छ । यहाँ उल्लिखित तथ्यहरू १ः१,००,००० स्केल नक्साको आधारमा ल्याइएका छन् । तुलानात्मक विश्लेषण हुँदा प्रस्तुत स्केलनक्साको आधारबाट पनि पूर्वानुमान गर्न सकिन्छ । नक्सामा देखाइएको गाडा धर्साेले नेपाल–भारत सीमा, भारत–चीन र नेपाल–चीन देखाइएको छ । दक्षिणमा नेपाल–भारत सीमाको नदीको बिन्दुलाई नम्बर एक र त्यसभन्दा उत्तरतर्फ मुख्य–मुख्य नदीको स्थललाई क्रमशः २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ नम्बर दिइएको छ । महाकालीको उद्गमस्थल ८, लासारयांकीमा पर्दछ वा १० (टिंकर भञ्ज्याङ) मा पर्दछ वा १२ (लिम्पियाधुर) मा पर्दछ धन्ने शंका निवारणका लागि तथ्यहरू पेस गरिएका छन् । प्रस्तुत तथ्यको आधारमा महाकाली नदीको लम्बाई दक्षिणतर्फ नेपाल भारतबीच बिन्दु १ नं. स्थलदेखि बिन्दु ८ नं. स्थलसम्म एक सय ७५ किलोमिटर देखिन्छ । नम्बर ८ को स्थलमा दुई नदीको संगमबिन्दु छ । सो बिन्दुमा मिल्ने दुई नदीमध्ये ८ (लासारयांकी) तर्फबाट आउने नदीको लम्बाई लगभग ८० किलोमिटर देखिन्छ । उक्त नम्बर ८ का संगमस्थलबाट १२ (लिम्पियाधुरा) सम्म नदीखण्डको लम्बाई पनि करिब ८० किलोमिटरै देखिन्छ । यस प्रकार नदीको लम्बाईको हिसाबले महाकाली नदीको उद्गमस्थल लासारयांकी (अर्थात् ८०.१७ देशान्तर र ३०.४० अक्षांश) वा लिम्पियाधुरा घाँटी (अर्थात ८०.३७ देशान्तर र ३०.३३ अक्षांश) मध्ये कुनै एकलाई मान्न सकिन्छ । सुगौली सन्धि हुँदा महाकाली अर्थात् काली नदीको उद्गमस्थल किटान गरिएको भए दुवै नदीको बीचको करिब दुई सय ५० वर्ग किलोमिटर क्षेत्रसमेत सीमा विवादभित्र पार्न सकिने देखिन्छ । भारतीय पक्षलाई प्राविधिक हिसाबले महाकालीको उद्गमस्थल ८ (लासारयांकी) हो भनेर प्रमाणित गर्न सकिएको खण्डमा उक्त भू–भाग भारतले नेपाललाई सुम्पनुपर्ने देखिन्छ । तर, जलाधार क्षेत्रको हिसाबले र औसत पानीको हिसाबले नेपालतर्फको (अर्थात् उत्तरबाट दक्षिण फर्कंदा) बायाँतर्फको नदी नै मुख्य नदी हो भन्ने भारतीय पक्षले गम पाएको देखिन्छ । सो संगमस्थलबाट उत्तरतर्फ बढ्दै जाँदा करिब दुई सय १५ किलोमिटरमा टिंकर खोला दोभान, बिन्दु ९ नं. मा पर्न आउँछ । सो स्थलबाट नदीको लम्बाई र जलाधार क्षेत्रको हिसाबले टिंकर खोलाको शीरलाई महाकाली नदीको मुहान हो भनेर कदापि भन्न सकिँदैन ।
टिंकर खोलाको दोभानबाट हिसाब गर्दा कुल जलाधार क्षेत्र लगभग दुई सय २० वर्ग किलोमिटर देखिन्छ । टिंकर खोलाको जलधार क्षेत्र लगभग ७० वर्ग किलोमिटर देखिन आउँछ । बाँकी एक सय ५० किलोमिटर जलधार क्षेत्र समेट्ने लिम्पियाधुराबाट निस्कने नदीको लम्बाई लगभग ४० किलोमिटर देखिन्छ । तसर्थ, लिम्पियाधुराबाट निस्कने नदी नै महाकाली नदीको माथिल्लो खण्ड हो । टिंकर दोभानबाट माथिल्लो कावातर्फ जाँदा अर्काे खोला दोभान, बिन्दु १० नं. भेटिन्छ । सो दोभानबाट हिसाब गर्दा जलाधार क्षेत्र लगभग एक सय ५० वर्ग किलोमिटर देखिन्छ, जसमध्ये कवानीतर्फको खोलाको जलाधार क्षेत्र लगभग २० वर्ग किलोमिटर मात्र पर्न आउँछ बाँकी एक सय २० वर्ग किलोमिटर लिम्पियाधुराबाटै निस्कने खोलाले ओगटेको देखिन्छ । तसर्थ, नदीको लम्बाई, जलाधार क्षेत्र र पानीको मात्राको हिसाबले लिम्पियाधुराबाट निस्कने खोलाको मुहान नै महाकाली नदीको उद्गमस्थल हो भन्ने तथ्यलाई अन्य कुनै पनि प्रमाणको आधारमा परिवर्तन गर्न सकिँदैन ।
भारतका लागि टिंकर क्षेत्र सैनिक महत्वको छ । तर, यो हुँदैमा सुगौली सन्धिपश्चात् कुनै अर्को सीमा सन्धि नगरेको भए नेपालको लिम्पियाधुरातर्फ करिब ७५ वर्ग किलोमिटर क्षेत्रलाई नै विवादमा ल्याउने गरी महाकाली नदीको नक्कली उद्गमस्थल देखाउन खोज्नु भारतको मिचाहा प्रवृत्ति नै देखिन्छ । (लेखक महाकाली नदी एवं सीमा सरोकार समूह, कञ्चनपुरका संयोजक हुन् ।)
source:- souryadaily
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment