Monday, August 8, 2016


लामो समय नापि विभागको सरकारी सेवामा रहेका बुद्धिनारायण श्रेष्ठ अन्तरदेशीय सीमाबिद समेत हुन् । नेपाल–भारतको सीमाका विषयमा विशेष जानकार श्रेष्ठसँग नेपाल–भारत सीमा बैठक र नेपाल भारत सीमा विवादमा केन्द्रित रहेर चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः 


नेपाल–भारतबीच सीमा बैठक हँुदैछ यसमा नेपालको तर्फबाट के कुरा उठाउनु पर्छ ? 

दुई देशबीच बैठक त्यति सजिलै हुने कुरा होइन । त्यसमा पनि अहिले हाम्रो अवस्था अलि फरक छ । त्यसैले यसको निकास दिनेगरी कुरा लैजानु पर्छ । यसअघिका भन्दा फरक भएर प्रस्तुत हुनु पर्छ । मैले सुनेअनुसा नेपालका तर्फबाट र निरिह भएर कुरा राख्ने गरिएको छ । तथ्य हातमा राखेर हामी पनि समान हौं भनेर कुरा गर्नु पर्छ । हामी पेलिएका छांै । पेलिएका छौं भन्न पनि किन डराउँने ? तिमीले यहाँ यहाँ मिचेका छौ, सच्याउन तयार छौ कि छैनौ भनेर सोझै प्रस्ताव गर्ने आँट गर्नु पर्छ । 




यसरी सिमाना मिचिनुमा नेपाल कति प्रतिशत दोषी छ ? 

पेल्नेले त सधै पेल्नै खोज्छ । उसले पेलि नै राखेको छ । सहीरहने हो भने े सधै यस्तै हुन्छ । मलाई दुख्यो भनेर दुखे जसरी कराउन सक्नु पर्छ । उसले लुछेर चोक्टै लगेको छ, त्यो लुछेको भाग नदेखाउने, त्यती दुखेको पीडा पनि नदेखाउने । तिमीले मलाई कुट्यौ नि भनेर सानो स्वरमा भन्दा उ टसमस गर्छ ? पीडा लुकाएर हामी दोषी छौं । यी तिमीले यहाँ लुछ्यौ भनेर नेपालको तर्फबाट यसको डटेर कुरा गर्ने मान्छे चाहियो नि । अरुले गरेर हुँदैन सबै कुरा सरकारले गर्ने हो । हामीले त आवाज उठाउने हो । आवाजले हामी साथ दिन्छौं । 


 


चीनसगँको सीमा समस्यामा देश नै पुग्नु पर्दैन गाँउका बसिन्दा पुग्दा पनि गाँठो फुकाएर पठाउँछ तर, भारत स–सानो भू–भाग पनि ओगटेर राख्छ । 




सिमाना मिचिएका प्रमाण नभएर कति ठाउँमा नेपाल चुकेको भनिन्छ नि ? 

कस्ले भन्यो ? हामीसँग यथेष्ठ प्रमाण छ । उ हाम्रो कुरा मान्न तयार छैन भने हामी अन्तराष्ट्रिय अदालतमा जाउँ । यसको लागि सरकार तयार हुनुपर्छ । मनोबल उच्च राखेर काम गर्ने भने हामी कहिल्यै हार्दैनौं । सजिलै नदिए अरु बाटो पनि त अपनाउनु पर्यो नि । मात्र मनोबल चाहिएको छ । यो बेला पनि कुरा उठाएनौं भने सधंै हामी उस्तै रहन्छौं । 




नेपाल–भारतको  सीमाको बिषयमा अहिलेसम्म के के काम भएको छ ?

२०३७ सालमा नेपाल भारत प्राबिधिक स्तरीय संयुक्त सीमा समिति गठन भएको थियो । त्यसले २०६७ सालसम्म सिमांङकन गर्ने र खम्बा गाड्ने काम गर्यो । २६ बर्ष लगाएर काम गरेको त्यो कमिटीले ९७ प्रतिशत काम सकेको थियो ।  तीन प्रतिशत काम बाँकी हुँदा त्यसै रोकियो । यो भन्दा बढी काम गर्न नसक्ने भनेर समिति नै बिघटन भयो । बाँकी रहेको काम अति जटिल छ, यो टेक्निकल ग्रुपले गर्न नसक्ने र राजनैतिक निर्णय नै चाहिन्छ भनेर रोकेको थियो । फेरि २०७१ सालमा सुश्मा स्वराज र नरेन्द्र मोदी आएपछि त्यो थाती रहेको सिमांङ्कन गर्ने भन्ने निर्णय भएको थियो । त्यसैको फलस्वरुप त्यो बैठक हुन लागेको हो ।  




यो बीचमा त त्यही समितिले गाडेका सीमास्तम्भहरु फेरि गायब छन् र त्यो भन्दा धेरै सीमा मिचिएका छन् । यसले फेरि कसरी तीन प्रतिशतको मात्र काम गर्न सकिन्छ ? 


 


भारतसँग जोडिएका २६ जिल्लाहरुमध्ये २३ जिल्लामा सीमाको बिबाद छ । त्यसमा पनि ७१ स्थानमा भारतले अतिक्रमण गरेको छ  




यहि कुरा बुझ्न वर्किङग्रुप गठन भएको छ । त्यसमा परराष्ट्र सचिव, नापीको माहानिर्देशक, उपमाहानिर्देशक, प्रबुद्ध समुह र सिडीयोस्तरको गरी चरण चरणमा बार्ता हुनेछ । बार्तामा नेपालले दह्रोगरी कुरा राख्नु पर्छ । हो, यो कमिटी बिघटन नै भएको पनि सात बर्ष बितेको छ । यसबीचमा धेरै कुरा हेरफेर छ । अव हुने वार्तामा मिचिएको सीमाबारे गतिलो कुरा राख्न सक्नु पर्छ । समाधान दिंदैनौ भने हामी अर्को बिकल्प रोज्छौ भन्ने साहस देखाउन सक्नु पर्छ । 




भारतसँग नेपालले त्यस्तो साहस देखाउन सक्ला ? 

हामी आकारमा सानो होउँला, उ हामीभन्दा क्षेत्रफलका हिसाबले २४ गुना ठूलो र जनसंख्याका हिसाबले ४४ गुना ठूलो छ । तर, अन्तराष्ट्रिय हिसाबमा नेपाल र भारत एकै हैसियतका देश हुन् ।  क्षेत्रफलको हिसावले ठूलो भएकै कारण हामी मिचिनु पर्छ भन्ने छैन । हाम्रो आवाज सानो गर्नु भएन । डटेर, छाती खोलेर अन्तराष्ट्रिय कानुन अनुसार अगाडी सर्न नसक्नु नै हाम्रो कमजोरी हो ।




सीमाना नेपालले पनि मिचेको छ कि भारतले मात्र ? 

एक हजार ८८० किलो मिटर लामो सीमाना भारतसँग जोडिएको छ । २६ जिल्लाहरु भारतसँग जोडिएका छन् । त्यसमा २३ जिल्लामा सीमाको बिबाद छ । २३ जिल्लाको पनि ७१ स्थानमा भारतको तर्फबाट अतिक्रमण भएको छ । सबैभन्दा धेरै बिबाद चाहीँ दार्चुला जिल्लाको ब्यास गाबिसको बडा नम्बर एकको कालापानी लिम्पियाधुरा क्षेत्रमा छ, जहाँ भारतले अतिक्रमण गरेको छ ।  देशैभर गरेर ६० हजार ६ सय हेक्टर जमीन मिचेको छ । कालापानीमा मात्र ३७ हजार हेक्टर भुमी अतिक्रमण गरेको छ । नेपालको तर्फबाट कतै कतै दशगजा छोएको देखिन्छ ।




सन १९६२ मा भारत र चीनबीच सिमानाबको बिषयलाई लिएर ठूलै युद्ध भयो । एक महिने सीमा युद्ध हुँदा भारतको हार भयो । चीनियाँहरु आफ्नो ठाँउमा आएर अडे । त्यसपछि भारतीय फौजले हाम्रो त्यो कालापानी क्षेत्रको लिपुलेकको भू–भाग देख्यो । जुन लिपुलेक भञ्ज्याङ्बाट चीनियाँहरु पस्दा नपस्दै इण्डीयन मिलिट्रिले त्यही गोली ठोकेर मार्ने गरे । गोली नै सकियो भने पनि त्यो क्षेत्रमा रहेको थुम्को माथीबाट ढुगांमुढा गरेर उनीहरुले जित्ने योजना बनाएर त्यो ठाँउमा अतिक्रमण गरेर बसेको देखिन्छ ।




यसरी ५४ बर्षदेखि त्यहाँ भारतले ओगटेर बसेको छ । त्यस्तै नवलपरासीको सुस्तामा पनि भारतीयहरुले कब्जा गरेर राखेका छन् । हुँदा हुँदा इलाम जिल्लाको पशुपतिनगरको फाटक भन्ने ठाउँमा आधा रोपनी जमीन भारतले कब्जा गरेको छ । 


 


सन १९६२ मा भारत र चीनबीच युद्ध हुँदा भारतीय फौजले हाम्रो लिपुलेकको भू–भाग देख्यो । जहाँ चीनियाँहरु पस्दा नपस्दै इण्डीयन मिलिट्रिले त्यही गोली ठोकेर मार्ने गर्थे । गोली नभए पनि थुम्कोबाट ढुगांमुढा गरेर जित्न सकिने ठाउँ भएकाले त्यहाँ भारतले अतिक्रमण गरेर बसेको छ ।




किन होला यसरी नेपालको जमीन मिचेको ?

उसले यो जमीन होइन भारत नेपाललाई आफ्नो अम्रेलाभित्र राख्न चाहन्छ ।  सिमानाको कारणले सधै थर्कमान बनाइराख्न चाहान्छ ।  आफ्नो प्रभाव पारिराख्न यसले स–सानो भाग जमीन पनि ओगटेर राख्छ । यो जमिनको कुरा होइन, तागतको कुरा हो र अपमानको कुरा हो । इलामको त्यो ठाउँमा भारतीय भन्सार चौकी सीमा मिचेर दशगजामा बसेको छ । सिमानाको खम्बामा जोडेर बनाएको छ । नेपालीहरुले पनि त्यो ठाँउ हाम्रो हो भन्न सक्दैनन् । हाम्रो ठाउँ हो, तर हामी जाँदा फोटो समेत खिच्न दिंदैन । भारतजत्रो देशलाई त्यति थोरै जग्गाले के हुन्छ र ? तर उ नेपाललाई पेलेर आफ्नो अधीनमा राख्न चाहन्छ । 




प्रमाण छ नेपालसँग यो सबै जमिन हाम्रो हो भन्ने ? 

हामीसँग प्रशस्त प्रमाण छ । हामीसँग नक्सा, दस्तावेज, जनताले जग्गा कमाई गरेर तिरो तिरेको रसिदहरु, बाबु मरेर छोराको नाममा जग्गा नामसारी भएर आएको ढड्डा टिपोर्टहरु यस्ता धेरै कुरा हामीसँग छन् । 




यति प्रमाण हुदापनि हामी किन सघै निरिह छौ  ? 

सबै प्रमाण छ, हामीसँग मनोबल मात्र छैन । यी सबै प्रमाण लिएर जाने र दह्रो गरी कुरा राख्ने हो भने हामी हाम्रो जमिनसँगै स्वाभिमान समेत फिर्ता गर्न सक्छौं । 


 


देशैभर गरेर ६० हजार ६ सय हेक्टर र कालापानीमा मात्र ३७ हजार हेक्टर जमीन भारतले अतिक्रमण गरेको छ ।




चीनको पनि हामी सिमानामा छौं तर चीनसँग भारत जस्तो सीमा बिबाद किन नभएको होला ? 

चीन सीमाको विषयमा हामीसँग समझदार र उदार छ । चीनले नेपालसँग महेन्द्रको पालामा १९६१ मा सीमा सन्धी गर्यो । सन १९६२ सिमाङंकन भयो । झण्डै दुई बर्षमा १४ सय लामो सिमाङंकन गरेर सक्यो । त्यस बेला सिमांङकन गर्दा कर्मचारीको अध्ययनको कमीले नेपालको भाग चीनतिर र चीनको जमीन नेपालमा पर्न गयो । यो बिषयलाई लिएर चीनलाई नेपालले पत्र पठायो । नेपालका भू–भाग नेपाललामै फिर्ता दिने र चीनको भू–भाग चीनलाई नै दिने सम्झौता भयो । त्यो बेला १८०० बर्गमिटर नेपालको भू–भाग चीनमा गयो र २१०० बर्गमिटर भाग नेपालतिर आयो । 




त्यति मात्र हैन दोलखाको लामाबगर गाबिसको लाप्ची गाउँका बासिन्दा चरन नपाएर चौंरी पाल्न नसक्ने अबस्थामा थिए । चार बर्षअघि चीनियाँ राजदूत आएका बेला उनीहरुले चरन दिलाईदिन माग गरे । ठूलो कुरा रहेनछ नि, एक राजदुतले नै उनीहरुको समस्या समाधान गरिदिए । अहिले चीनको भू–भागमा उनीहरु चौंरी चराउने गर्छन् । 




चीनसगँको सीमा समस्यामा देश नै पुग्नु पर्दैन गाँउका बसिन्दा पुग्दा पनि चीनले गाँठो फुकाएर पठाउँछ तर, भारत स–सानो भू–भाग पनि ओगटेर राख्छ । यसले चीनको तुलनामा भारत अति नै अनुदार छ भन्ने प्रष्ट छ ।  


 


१९६१ को सीमा सन्धीमा प्राविधिक कमजोरीले नेपालको १८०० वर्गमिटर भू–भाग चीनतिर र चीनको २१०० वर्गमिटर नेपालतिर पर्यो । यस विषयमा चीनलाई नेपालले पत्र पठायो । नेपालका भू–भाग नेपाललामै फिर्ता दिने र चीनको भू–भाग चीनलाई नै दिने सम्झौता भयो । 




हामीसँग अन्तराष्ट्रिय अदालतमा जाने प्रमाण नभएको हो ?

सन १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धीको धारा ८ मा यो सन्धी हुनुभन्दा अगाडी दुई देशका बीचमा भएका सन्धी सम्झौता, समझदारी पत्र सम्पूर्ण आजका मितिदेखि खारेज गरिएको छ भनेर प्रष्ट लेखिएको छ । यदि त्यो धारा ८ लागू हुने भए त हाम्रो गुमेको बिशाल नेपालको भू–भाग फिर्ता आउछ नि । पूर्बमा टिष्टा पश्चिममा किल्ला कांगडा पुग्थ्यो नि । कुमाउँ, गडवाल, देहरादून, अल्पौरी, मुसौरा सबै हाम्रो हुन्थ्यो नि । तर नेपालले त्यसलाई अन्तराष्ट्रिय अदालतमा लग्यो भने त्यो सम्झौता जिउँदै छ । तर नेपालले अन्तराष्ट्रिय अदालतमा जाने हिम्मतै गर्दैन । भारत रिसाउला, भारतले के भन्ला भन्ने मात्र चिन्ता छ यहाँ । हामी मर्न परेको, हामी पिल्सिन परेको चाहीँ हामीलाई कुनै चिन्ता छैन छिमेकी भारत रिसाउला, उ रिसायो भने हाम्रो कुर्सी जान्छ भन्ने मात्र चिन्ता भएर देशले हाम्रो पूरा आकार पाएन अहिलेसम्म । 



0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook