अरुण ३ अब हामी आफैँले यसरी बनाउने कि मरिसक्यौँ हामी पूर्वेलीहरु पनि ?
गोपाल चिन्तन
९०० मेगावाटको अरुण ३ तथा अरुण उपत्यकामा निर्माण गर्न सकिने विभिन्न जलविद्युत आयोजनाहरु हालको पूर्वाञ्चल तथा भविष्यको १ नं. प्रदेशका आर्थिक क्रान्तिका मेरुदण्ड हुन् अर्थात् सेतो सुनबराबर । २३ वर्षअघि हाम्रो एउटा सानो अभियानकारी समूहले गरेको सफल अभियान अरुण ३ को निर्माण नेपालले नेपालकै लागि गर्नुपर्दछ तथा विश्व बैँकलगायतका अन्तर्राष्ट्रिय दातृ निकाय र सरकारहरूले दिएको ऋण तथा अनुदानको पनि सही सदुपयोग हुनुपर्दछ भन्ने थियो । तर यस देशलाई आज यो गतिमा पु¥याउने त्यसबेलाका खलनायकहरु डा. रामशरण महत, पशुपति शम्सेर, डा. प्रकाशचन्द्र लोहनी, सूर्यनाथ उपाध्याय, डा. विनायक भद्रा, अजितनारायणसिंह थापा र डा. जनकलाल कर्माचार्यहरूका कारण यो सम्भव भएन । अरुण ३ खारेजीमा प¥यो ।
त्यसपछि पनि हाम्रो अभियान जारी रह्यो । तर २०६५ सालमा आएर नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को सरकारले बिनासोच अरुण ३ भारतीय सरकारी कम्पनी, सतलज जलविद्युत निगमलाई केही मेगावाट बिजुली र केही रोयल्टी पाउने शर्तमा कौडीको मूल्यमा सुम्पिदिए । भित्रभित्र के कति रकमको चलखेल के कसरी भयो त्यो त छानबिनको विषय हो । यमसा पछि आएर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईसमेतको समर्थन रह्यो । यसरी जनयुद्धको जगमा प्रधानमन्त्री बनेका यी दुई क्रान्तिकारी कम्युनिष्टहरुको योगदान, बलिदान र राष्ट्रियता पनि बालुवामा पानी हालेबराबर भयो । १० वर्षे जनयुद्धमा खेलिएको रगतको होली दाहालको झोली र भट्टराईको नयाँ करिश्मायुक्त चोलीमा सिद्धियो ।
अब के गर्ने त ? अबको कुरा सिधा छ । हामीले बल्लतल्ल देशका लागि केही सुनौला सपना देख्ने प्रधानमन्त्री केपी शर्मा ओली पाएका छौँ । उनकै पालामा केही होलाको जस्तो पनि छ । उनी आँटिला पनि देखिएका छन् । तपाइँले बोलिदिए पुग्छ, हामी लड्न तयार छौँ । हामीलाई दलाल र डाक्टर बुद्धिजीवीभन्दा पनि धेर्र नपढेकै होस् तर यस्तै र अझ बढी आँटिला र इमान्दार नेताहरु चाहिएको छ । प्रधानमन्त्री ओलीले आजै र अहिल्यै घोषणा गरी दिनुप¥यो कि अरुण ३ अब नेपालले आफैँ बनाउने छन्, दूतमार्ग सरकार आफैँले बनाउने घोषणा गरेजस्तै । अरुण ३ पूर्वाञ्चल अर्थात् १ नं. प्रदेशका जनताले आफैँ बनाउने छन् ।
र, सक्नुहुन्छ भने बिनापूर्वाग्रह भनिदिनु होस् (किनकि म आफूँ मालेको संस्थापक कार्यकर्ता हो तर एमाले होइन) कि “यसको नेतृत्व आफ्नो सम्पूर्ण जिन्दगी नेपाल र भारतबीच भएका असमान सन्धिसम्झौताहरुको खारेजीका लागि बिताएको, जलस्रोतसँग सम्बन्धित सन्धिसम्झौताहरुका बारेमा विद्यावारिधि गरेको एउटा प्राध्यापक तथा सफलतापूर्वक अरुण ३ अभियान हाँकेको र अरुण ३ खारेज भएबापत खाँदबारीमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूबाट गोदाइ खाएको पूर्वाञ्चलकै आठराईका् ह्वाकुमा जन्मेको प्रधानमन्त्रीको छिमेकी डा. गोपाल चिन्तनले गर्नेछ !”
प्रधानमन्त्री ओलीले यस देशका लागि नगरी नहुने एउटा महान काम हो यो । अरुण ३ लगायतका यी आयोजनाहरु आफैँले आफ्नै लागि बनाइयो भने नेपाल छिट्टै नै जलविद्युतमा आत्मनिर्भर हुनेछ । भारत र अरब मुलुकहरुमाथिको नेपालको परनिर्भरताको अन्त्य हुनेछ । नेपालमा आर्थिक क्रान्ति हुनेछ । तपाइँ प्रधानमन्त्रीको सँधै जयजयकार हुनेछ । तपाइँका लागि काँध थाप्नेहरूको लावालस्कर हुनेछ ।
प्रधानमन्त्रीज्यू, तपाइँले यस राष्ट्रलाई यति गुण लगाइदिनु भयो भने म पनि आजैदेखि तपाइँको पछाडि लाग्ने छु । तपाइँलाई अन्तिम घडीसम्म साथ दिनेछु । म काठमाडौँ र पोखराको हुँदोखाँदो बुर्जुवा जागिर, वकालत, कमाइधमाइ र उपभोक्तावादी सुखसुविधा सबैथोक छोडेर बिनापारिश्रमिक अरुण र बरुणमा पाइने दुईछाक ढिँडो र सागका भारमा अरुण नदीका खोँचमा झम्पल र गैँती चलाएर अरुण ३ आयोजना तोकिएको समय र लागतमा मेरै नेतृत्वमा निर्माण गरेर देखाइदिने छु ।
गर्नु हुन्छ यति हिम्मत हाम्रा लागि ? पूर्वाञ्चलका लागि ? १ नं. प्रदेशका लागि ? यस राष्ट्रका लागि ? यो हो छिट्टै र सजिलै पूरा हुने तपाइँको एउटा सपना ।
अनि के यसका लागि हामी पूर्वेलीहरु तयार छैनौँ ः? पैसा त छ नि हामीसँगै । विज्ञहरु पनि हामीसँगै छन् । काम गर्ने प्राविधिक र मजदुरहरू पनि जत्ति छन् । रोडा, ढुङ्गा र माटोको त समस्यै भएन । बिजुलीको बजारको कुरा गर्ने हो भने पूर्वाञ्चलले मात्र दशौँ हजार मेगावाट बिजुली खपत गर्न सक्छ, गर्नुपर्दछ । किन गर्नुप¥यो निर्यात ? बिजुली बढी भएर बेच्नै परेछ भने त्यही जोगबनी र सिलगुढी कटाउँला नि । किन चाहियो दिल्ली !
कि मरिसक्यौँ हामी पूर्वेलीहरु पनि ?
0 comments:
Post a Comment