Thursday, October 8, 2015
- 12:03:00 AM
- Admin
- nationalnews, nationalpolitics, sima
- No comments
आश्विन २१, २०७२- वर्षको एकपटक मात्रै खुल्ने गोरखाको छेकम्पार–तिब्बत नाका वर्षभरि नै खुल्ने भएको छ ।
भारतीय नाकाबन्दीपछि तिब्बतको परराष्ट्र कार्यालयले बाह्रै महिना नाका खुल्ने जानकारी दिँदै नेपालको पराराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको हो ।
‘जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रसँग सिमाना जोडिएको गोरखा छेकम्पार नाका वर्षभरि खोल्नका लागि चीन सहमत छ’ पत्रमा लेखिएको छ । वर्षभरि नाका खुल्ने पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालयमा पनि आएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले जानकारी दिए ।
यसअघि उक्त नाका साउन महिनामा केही दिनमात्र खुल्ने गरेको थियो । भूकम्पको बेला नाका खोल्न पत्राचार गरे पनि खुलेको थिएन । ‘तिब्बतले आफुखुसी साउनमा मात्रै नाका खोल्ने गरेको थियो,’ छेकम्पारका पूर्व गाविस अध्यक्ष निमा लामाले भने । सामागाउँ तर्फको चिनियाँ नाका खोल्ने विषयमा भने पत्र मौन छ । सामागाउँ नाका १५ दिने खुलेर बन्द भईसकेको स्थानियबासीले बताए । दुवै नाका सधै खुल्नु पर्ने स्थानियबासीले माग राख्दै आएका थिए ।
छेकम्पारबाट दैनिक उपभोग्य सामग्री किन्न तिब्बतको व्यापारिक केन्द्र पुग्न दुई दिन लाग्ने लामाले जानकारी दिए । ‘तिब्बत तर्फबाट नेपालको सिमाना सम्मै सडक आईपुगेको छ,’ उनले भने, ‘हाम्रोतिर सडक विस्तार भएको छैन, घोडा चौरीमा सामग्री बोकाएर ल्याउनु पर्छ ।’ तिब्बतको सिमानाबाट छेकम्पार हुँदै गोरखा सदरमुकाम जोडन् ४ वर्षदेखि सडकको ट्रयाक खन्ने काम सुरु भएको छ । डेढ करोड लगानीमा सडक विस्तार गर्न लागिएको हो । ४ वर्षमा १२ किलोमिटर सडक मात्रै निर्माण भएको ११ किलो छेवेटार बारपाक सडक आयोजनाका प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिए । छेकम्पारबाट चुम्चेत, सिर्दिबास, माछिखोला, गुम्दा, बारपाक हँुदै सडक जोड्न लागिएको हो । गुम्दासम्म सडक पुगिसकेको छ । भौगोलिक विकटताका कारण सडक जोड्न वर्षौ लाग्ने खत्रीले बताए । सडक निर्माणको काम अत्यन्त सुस्त भएको स्थानीयको भनाई छ ।
सडक नहुँदा छेकम्पार र चुम्चेतबाहेक अन्य गाविसका बासिन्दाले तिब्बतबाट आवश्यक सामग्री ढुवानी गरेर ल्याउन असम्भव छ । सडक जोडिए सदरमुकामबाट करिब १५० किलोमिटरमा तिब्बतको व्यापारिक केन्द्र जोड्न सकिने प्राविधिकहरुको दावी छ । हिउँद लागेपछि हिमपातका कारण नाका भएर आवतजावत गर्न नसकिने स्थानीयले जानकारी दिए ।
Kantipur
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment