Saturday, September 5, 2015


निर्मल श्रेष्ठ 
सन् १८१५ जुन १८ मा वाटरलुको मैदानमा नेपोलियनको सौभाग्य सूर्यको अस्त हुनुअघि मई १८१३ मा अंग्रेजले विटोरिया भन्ने ठाउँमा फ्रान्सलाई परास्त गरी पिरेनिज पारिसम्म खेदेपछि प्रायद्विपीय युद्धमा हारसँगै नेपोलियनको पूर्ण पराजयजस्तै भइसकेको थियो। यस घटनाले अंग्रेजहरू कति हौसिएका थिए भने विश्व साम्राज्यको कल्पना बोकेर अंग्रेज सरकार र ब्रिटिसको इकोनोमिक इन्जिनको रूपमा रहेको इस्ट-इन्डिया कम्पनीले स्वतन्त्र राज्यहरूमाथि आँखा गाड्दै विभिन्न बहानामा त्यस देशको प्राकृतिक संसाधन र व्यापारमा आधिपत्य कायम गर्न खोजिरहेको थियो।


नेपालको राज्य विस्तार अभियानमा नेपालको दर्बिलो सैन्य शक्ति देखेर उत्तरको चीन र दक्षिणको कम्पनी सरकारलाई असह्य भइरहेको थियो। नेपालको बढिरहेको कदमलाई कसरी थाम्ने भन्ने ताकमा उनीहरू थिए।


राज्यविस्तार अभियानमा बृहत् नेपाल पश्चिम काँगडादेखि पूर्वमा टिस्टासम्म समेटिएको थियो। १८०९ अगस्त २४ मा काँगडाको किल्ला छोड्नुपरेपछि गोरखालीहरूको राज्य विस्तार गर्ने क्रम थामियो। तर पनि पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलजसम्म नेपालको आधिपत्य कायमै थियो।

ब्रिटिस संसद्ले इस्ट-इन्डिया कम्पनीको अधिकार पत्र (चार्टर) सन् १८१३ मा नवीकरण गर्दा इस्ट-इन्डिया कम्पनीलाई भारतमा व्यापार गर्ने एकाधिकार समाप्त गर्दै चीनसँगको व्यापार र चिया व्यापारमा मात्र सीमित गरायो। चीनमा जाने सुगम बाटो र चिया खेतीको लागि अनुकूल जमिन जुन कम्पनी सरकारलाई आवश्यक थियो, त्यो बाटो र भूभाग बृहत् नेपालको सरहदभित्र नै थियो।

सजिलै व्यापारिक मार्ग र चिया खेती योग्य भूभाग नेपालबाट प्राप्त गर्न सकिँदैन भन्ने नेपालको भित्री मनसाय बुझेका अंग्रेजले कपट गरेर भए पनि ती भूभाग हासिल गर्नेतिर उन्मुख भए। पूर्वका बाईसवटा गाउँ र बुटवल एवम् स्युराजको विषय उठाएर खिचिलो निकाल्न थाले।


नेपाल सरकार र कम्पनी सरकारबीच सन् १८०१ मा भएको व्यापार सन्धिको धारा ५ मा सीमासम्बन्धी केही विवाद भए दुवै पक्ष बसी विवादको समाधान गर्न सकिने प्रावधान थियो। तर समस्या समाधानको बाटो हुँदाहुँदै त्यसलाई लत्याई १८१४ नोभेम्बर १ मा हेस्टिङका मारक्युस मोरिया रुवान्डाले नेपालमाथि एकतर्फी युद्ध घोषणा गरे।

शक्ति पृथकीकरण गरी नेपालमाथि सर गर्ने अभिप्राय बोकी कम्पनी सरकारले नेपालमाथि पाँच ठाउँबाट हमला गर्‍यो। पाँच नाकामध्ये तेस्रो नाका बुटवल हुँदै पाल्पा सर गर्न गोरखपुरबाट जो सुलेमान उडको नेतृत्वमा भारी गोलाबारुद र ठूलो संख्यामा सेनाका साथ नेपालतिर बढेपछि नेपालको तर्फबाट बाटो-घाटो मर्मत गर्नुका साथै गढी-गौँडा, आड बनाउन पाल्पाका तैनाथवाला कर्णेल उजिरसिंह थापा लागे।

भौतिक संसाधनको तयारी गर्नुका साथै सो लडाइँमा विजय श्री प्राप्त गर्न साइत जुराउने काम पनि भयो। साइत जुराउने काममा भगीरथ जैसीको ठूलो भूमिका रह्यो। लडाइँमा विजय हासिल भएपछि भगीरथ जैसीको खुर्पाजुङमा रहेको केवलटारी बिर्तामा परिणत गरी तिरो माफ गरिएको थियो। 

कर्णेल उजिरसिंह थापाको भाकलअनुसार जितगढीको लडाइँमा विजय भएपछि उणउजिरेश्‍वरी भगवती मन्दिरमा पूजाआजा हुँदै आएको छ। 

त्यसबखत पाल्पा तानसेनको मध्येभागमा अवस्थित शक्तिको ठूलो चर्चा पाएकी महिषासुर मर्दिनी भगवतीको पाउ छोएर कर्णेल उजिरसिंह थापाले युद्धमा विजय श्री प्राप्त भयो भने विशाल मन्दिर निर्माण गरी सिन्दूर जात्रा गर्नेछु र भगवतीको महिमा चारैतिर फैलाउनेछु भनेर भाकल गरे। धार्मिक आस्थाले गर्दा लडाइँमा जाने सैनिकहरूमा जोस, जाँगर, उमंग र शक्ति थपियो।

नेपालको तर्फबाट कर्णेल उजिरसिंह थापाको नेतृत्वमा पाल्पा बुटवल क्षेत्रमा शत्रुको मुकाबिला गर्न हतियार, गोलाबारुदसहित तीन हजार नेपाली फौज बुटवलको जितगढीतिर लाग्यो। घमासान युद्ध भयो। कम्पनी सरकारबाट पाँच ठाउँबाट गरिएको आक्रमणमा चारवटा नाकाहरूमा नेपालको स्थिति प्रतिकूल हुन गयो।

तर पाल्पालाई सर गर्ने मनसाय लिएर बुटवलको जितगढीमा आक्रमण गरेको कम्पनी सरकार एकपटक होइन, पटक-पटक हार खाएर भाग्नुपर्‍यो । यस युद्धमा नेपालको विजय भयो। कम्पनी सरकारले यस युद्धमा नेपालीको रणकौशल, वीरता, धीरता र रणआतंक नजिकबाट छामेर गए।

कम्पनी सरकारको जितगढीमा पराजय भएपछि जो सुलिभान उडलाई तुरुन्तै इङल्यान्ड फिर्ता पठाइयो। सन् १८१९ मा लेफ्टिनेन्ट जनरल र सन् १८३६ मा फुल जनरलसम्म पदोन्नति भएका जनरल उड जितगढीमा पराजयपछि यिनलाई अर्को कुनै ठूलो सैनिक जिम्मेवारी सुम्पिएन। सन् १८५१ मा यिनको मृत्यु हुँदा यिनी टावर अफ लन्डनका गभर्नर थिए।

लडाइँमा विजय श्री हासिल गरेपछि भाकलबमोजिम कर्णेल उजिरसिंह थापाले तीनतले मन्दिर १८७२ सालमा सुरु गरी १८७६ मा पूरा गरी मन्दिरको प्रदक्षिणा मार्गको वायव्य कोणमा सूर्य, ईशान कोणमा विष्णु, आग्नेय कोणमा शिव, नैऋत्य कोणमा गणेशको मूर्ति साथै गर्भगृहको मध्यभागमा अष्टधातुबाट बनेको अठार बाहु भएकी महिषासुर मर्दिनी भगवतीको प्रतिमा प्रतिस्थापन गरी यसलाई दुर्गा पञ्चायनको रूप दिए।

श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दूर जात्रा गरे। यसरी भगवतीको महिमा चार चौरास फैलाउन हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी जात्रा चल्दै आएको छ। कर्णेल उजिरसिंह थापाले तीनतले मन्दिर बनाई महिषासुर मर्दिनी भगवतीको मूर्ति स्थापना गरिसकेपछि त्यस मन्दिरको व्यवस्थापन, नित्य–नैमित्तिक पूजा, वर्ष बन्धक पूजा, जात्रा सञ्चालन आदिको लागि विभिन्न गुठी राखिदिएका थिए।

यसैगरी मन्दिर स्थापना गर्दा पूजाहारीको पनि व्यवस्था गरेका थिए।वराहमिहिरले बृहत्संहितामा देवीको मन्दिरमा पूजाआजा गर्न मातृमण्डलको ज्ञान भएको पूजाहारी हुनुपर्ने विधिविधानको उल्लेख भएअनुसार ललितपुर महानगरे जय श्री मित्र संस्कारित मयुरवर्ण विहारका गौतम गोत्रका चन्द्रमणि गुभाजुलाई यस मन्दिरको पुजाहारीको रूपमा ल्याइएको थियो।

यस मन्दिरको पुजाआजा अहिलेसम्म उनैका ६ पुस्ताका दरसन्तानले चलाउँदै आएका छन्। खलकहरूबीच महिना-महिनाको पालो बाँधी मन्दिरमा पूजा गर्ने चलन छ भने चन्द्रमणिका सन्तानमा उमेरले पाकालाई मूल पूजाहारी हुने व्यवस्था छ।

कर्णेल उजिरसिंह थापाले मन्दिर व्यवस्थापनको लागि गरेको थितिलाई उनका छोरा काजी सेरजङ थापा क्षेत्री (भीमसेन थापा धर्मपुत्र ) ले निरन्तरता दिँदै पुजाहारीको थमौती गरेको थमौती पत्र लेखी दस्तखत गरेका कागजपत्र छ। भगवतीको पूजाआजा गर्न पाटनदेखि चन्द्रमणि गुभाजुलाई ल्याएको पुराना कागजबाट प्रस्ट हुन्छ।

हिन्दु मठमन्दिरमा बौद्धमार्गी पुजाहारीहरूको व्यवस्था गरिनु अचम्मलाग्दो र जातीय, धार्मिक सहिष्णुताको कुरामा हेक्का राखेको झल्किन्छ।भगवतीको रथयात्रा गर्दा कर्णेल उजिरसिंह थापाका प्रतीक उजिरसिंह थापाकै खड्गसाथ राखिने प्रचलन छ।

कर्णेल उजिरसिंह थापाले रथयात्रा सुरु गर्दा रथमा चन्द्रमणि गुभाजुका साथ रथभित्र कर्णेल उजिरसिंह थापा नै बसी बजार परिक्रमा गर्ने गरेको जन श्रुति छ । हाल मूल पूजाहारी हिक्मतबहादुर गुभाजु रथभित्र बस्ने गर्दछ।

नित्य पूजा गुरुमण्डल विधिअनुसार गरिने र जात्रा (वर्षवन्धन पूजा, कारण पूजा), कालरात्रि अष्टमी र चैते दसैंमा त्रिसमाधी तान्त्रिक विधिद्वारा पूजा गरिने गरिन्छ। श्री ७ रणउजिरेश्वरी भगवतीमा पुजाहारीलाई ४० मुरी धान खान्कीका रूपमा व्यवस्था गरिएको थियो भने मूल पुजाहारी भई जात्रामा रथभित्र बसी पूजा गर्नेलाई थप चार मुरी धान र सो दिन जम्मा भएको नगद तथा जिन्सी आधा पाउने व्यवस्था रहेको थियो।

हाल त्यो व्यवस्था खारेज भएको छ। यो मन्दिर तानसेन बजारको मध्यभागमा अवस्थित छ।राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्दै रणकौशल, वीरताको पहिचान दिँदै सरदार सूर्य थापालगायत अम्बर अधिकारी, कुम्भेदान वृषासुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहोरा, हबल्दार रणसुर बानिया एवं जुठे बस्नेतलगायत पाँच सय जनाको रगतले सिञ्चित, ठडिएको रणउजिरेश्वरी भगवती मन्दिरको सदा चम्किरहने गजुरले राष्ट्रियतालाई खबरदारी गर्दै आएको छ।

बिरालोको चिल्ला पन्जाभित्र लुकेको तिखा नङ्ग्राजस्तै बाहिरियाको दखल तीव्र भइरहेको बखत जसरी विश्व साम्राज्यका संवाहकको रूपमा देखिएको नेपोलियनलाई पनि आच्छु-आच्छु पार्न सफल भएका अंग्रेजलाई वीरता, रणकौशल र रणआतंक प्रदर्शित गर्दै पहाडको कुनाकन्दरामा पनि राष्ट्रियता र वीरता बोकेका यस्ता शक्ति रहेछ भन्ने जुन सन्देश दिए, त्यसको गोडमेल गर्नु आजको खाँचो हो।


0 comments:

Post a Comment

Popular Posts

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook