हरेक ठूला परिवर्तनहरूमा इतिहासको 'क्रमभंगता' ले जन्म लिन्छ। एउटा कालखण्डको पटाक्षेप हुन्छ र एउटा नयाँ युगको जन्म हुन्छ। पुराना मान्यताहरू भत्किन्छन् र नयाँ मान्यताको सूत्रपात हुन्छ। तर इतिहासको वस्तुगत एवं समाजशास्त्रीय व्याख्याको दृष्टिकोणबाट हेर्दा, जुनसुकै पछिल्लो युगको आरम्भ केवल एउटा संयोग मात्र होइन, यो अघिल्लो युगको नियमित निष्कर्ष हो। अर्थात् नयाँ युगको प्रारम्भको जननी पुरानो युग नै हो, तर पुरानाको निरन्तरता होइन। त्यसैले समयको परिवर्तनलाई कसैले रोक्न सक्दैन। रोक्ने प्रयासले दुर्घटना निम्त्याउँछ। यो प्राकृतिक नियम नै हो।
डा. युवराज संग्रौला |
पुरानो सामाजिक संरचनाले आधुनिक चाहना र विकासका प्रक्रियालाई समायोजन गर्न सक्तैन, त्यसैले समाजमा सामाजिक एवं आर्थिक परिवर्तनका घटना अपरिहार्य हुन्छन्। त्यसैले सामाजिक परिवर्तनहरू पुराना 'सोचाइ र विचारधारा' का विरुद्ध एउटा चुनौतीका रूपमा प्रकट हुन्छन्। तर मानिस ‘आदतको दास बनेको हुन्छ' ऊ पुरानो 'आदत' लाई बदल्न डराउँछ।
मानवीय 'चेतना' जसलाई हाम्रो आफ्नै दर्शनशास्त्रमा 'मानस' (बुद्धि, विवेक र अन्तस्करणको संयोग) ले हामी मानिसलाई यस 'आदत' बाट बाहिर आएर नयाँ प्रणालीमा 'समायोजन' गर्ने क्षमता र शिल्प प्रदान गर्दछ। त्यसैले हामी 'गाईभैंसी' भन्दा फरक हुन्छौं। गाईभैंसी गोठ बदल्न रुचाउँदैन, हामी मानिस ‘पुुरानो आबास बदलेर नयाँ आबासमा विराजमान हुने कुरालाई विकास भन्छौं'।
राष्ट्र व्यक्तिको ‘पहिचानको धरोहर हो।' संस्कृति र धर्म मानिसका जीवन प्रणालीका परिचायक हुन् तर राष्ट्र आधुनिक युगमा मानिसको 'सार्वभौम' अस्तित्वको परिचायक पनि हो। राष्ट्रभित्र भाषा, संस्कृति र अन्य पहिचानहरूको अस्तित्व कायम रहेको हुन्छ। त्यसैले आधुनिक राजनीतिशास्त्रले मानिसलाई 'कुनै न कुनै राष्ट्रसँग गाँसिनुपर्ने' अपरिहार्यताको बोध गराउँछ।
कुनै राष्ट्रको जन्म ‘लामो सभ्यताको क्रमबाट' निर्माण हुन्छ र ‘यसको निर्माण विविध संस्कृतिको अन्तक्र्रियाबाट बनेको हुन्छ। प्राचीन आर्य सभ्यता (सनातन दर्शन), शाक्य सभ्यता (बौद्ध दर्शन) र किराँत सभ्यता (मुन्धुम दर्शन) को सहिष्णुतापूर्ण अन्तक्र्रियाबाट 'नेपाली राष्ट्र' र नेपाली सभ्यताको जन्म भएको छ। त्यसैले 'नेपाल भारत वर्ष' मा एउटा अविच्छिन्न, नियमित र क्रमबद्ध अस्तित्व कायम राख्दै आएको एउटा 'महान् सभ्यता'को प्रतिनिधित्व गर्ने देश हो।
भारत वर्षमा 'नेपाल मात्र' एउटा अविच्छिन्न राष्ट्र हो, जसले आफ्नो प्राचिनता कायम राखेको छ। त्यसैले नेपाली हुनुमा ऐतिहासिक गौरवको 'भाव अंकित' रहेको छ। कसैले नेपाली राष्ट्रियताको अपमान गर्दछ वा नेपाली राष्ट्रियताप्रति आँच आउने कार्य गर्दछ भने या त त्यो मानिस नेपालको प्राचीनता र सभ्यतासँग गाँसिएको हुँदैन या त ऊ नेपालविरुद्ध कसैद्वारा सञ्चालित हुन्छ।
जसरी 'परिवर्तनको दौरान' कथित 'अखण्डता' का प्रश्नहरू उठिरहेका छन्, ती 'अखण्डता' रुढिवादी संकीर्ण सोचहरूबाट जन्मिएका हुन् र ‘नेपाली राष्ट्रियता’ का पक्षधर छैनन्। ती सोचाइहरूले 'नेपाली राष्ट्रियता' को जगेर्ना गर्ने ‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षा' प्रति घात गरिरहेका छन् । आत्माबाट आफूलाई ‘नेपाली भन्नेहरू' ले यस प्रश्नलाई मनभित्र मन्थन गर्नैपर्छ।
'राष्ट्रिय सुरक्षा' हरेक राष्ट्रको स्वतन्त्र अस्तित्वको पर्याय मात्र होइन, अउल्लंघनीय अधिकार पनि हो। हामी पूर्वीय मानवीय मान्यताबाट प्रभावित दर्शनका अनुुयायी हौं। महान् चिनियाँ दार्शनिक कन्फुसियसले भनेका थिए, 'जे कुरा वा जस्तो व्यवहार तिमी अर्कोबाट चाहँदैनौँ, त्यही कुरा वा व्यवहार अर्कोलाई गर्नु अन्याय वा अनैतिकता हो।'
यसै सन्दर्भमा केही महत्वपूर्ण तथ्यहरू माथि विचरण गर्नैपर्छ। भारतका कैयन् भूभागमा अशान्ति छ। झारखण्ड नक्सलाइट आन्दोलनको चपेटामा छ । कश्मीर आतंककारीको निरन्तर हिंसाको चपेटामा छ।
अहिले गुजरातमा पटेल स्वायत्तताको आन्दोलन बलिरहेको छ। केही समय पहिला तेलंगाना राज्यको निर्माण भयो। गोर्खाल्यान्ड आन्दोलन निरन्तर रहेको छ। आसाममा बोडो विद्रोह जीवित छ। अर्थात् भारत 'नेपालभन्दा अशान्त' छ। तर नेपालले ‘गोर्खाल्यान्डसँग वार्ता गर, नक्सलाइटलाई मिलाएर लैजाउ कहिल्यै भनेको छैन'।
नेपाल एउटा राष्ट्र हो। उसले आफ्नो पुनर्संरचना गर्ने र आफ्नो संविधान बनाउने कुरा नितान्तः स्वाधीन घरेलु मामिला हो। तर भारतबाट त्यहाँका नेतादेखि साधुसमेत नेपालमा निर्देशन जारी गर्छन्। भारतले नेपाल देशसँग भन्दा कुनै व्यक्ति, नेता र कुनै दलसँग बढी कूटनीतिक व्यवहार गर्दछ।
यही प्रवृत्तिले नेपाल र भारतका सरकारका बीचमा तनाव भइरहन्छ। यसैले नेपालीहरूलाई भारतप्रति शंकालु बनाइरहन्छ। यस समस्याले ‘नेपाललाई राष्ट्रिय सुरक्षाप्रति चिन्तित पार्छ। त्यसैले नेपालको कूटनीतिलाई असन्तुलित बनाइरहन्छ।' भारतले केवल नेपाल राष्ट्रसँग मात्र कूटनीति कायम गर्नुपर्छ। त्यसबाट नेपालमा रहेको भारतप्रतिको शंका समाप्त हुन्छ।
नेपालको राष्ट्रियता ऐतिहासिक धरोहरका सन्दर्भमा 'सीता, गार्गी र गौतमबुद्ध' सँग गाँसिएको छ। अर्थात् लुम्बिनी र जनकपुरको प्राचीनतासँग गाँसिएका छन्। नेपाललाई हिमशृंखलाले चीनसँग जोडेका छन् र दक्षिणको समथर भूभागले 'भारत' सँग।
नेपालको यस अवस्थितिले ‘हिमालयन सभ्यताको शृंखला' निर्माण गरेको छ। त्यसैले नेपाल दुई देशबीचको भूभाग मात्र होइन, दुई सभ्यतालाई जोड्ने कडी पनि हो। यसर्थ नेपाल चीनप्रति निरपेक्ष वा असम्बधित बन्न सक्दैन भारतप्रति।
'उत्तर र दक्षिण'ले आफूलाई हेरेर उनीहरूका कूटनीतिक 'रणनीति' बनाए भने नेपालमाथि अन्याय हुन्छ। तर तथ्य के हो भने 'चीन र भारत' कुनै न कुनै रूपमा प्राचीनतादेखि अहिलेसम्म प्रतिस्पर्धी शक्तिका रूपमा रहेका छन्। उनीहरूबीचको सहयोगमा पनि प्रतिस्पर्धा कायमै छ। तर उनीहरू अलग्गिन पनि सक्दैनन्।
अहिले उनीहरू आर्थिक विकासको सहयोगमा जोडिएका छन् र शक्तिको होडबाजी उनीहरू दुवैका लागि घातक हुन्छ। 'प्रतिस्पर्धा त्यस अर्थमा उनीहरूको आपसी सहयोग' को कडी बन्न पुगेको छ।
'भारत र चीन' बीचको सहयोगले पश्चिमी कूटनीतिक रणनीतिमा पुर्याउने प्रभाव व्यवस्थापन गर्न उपस्थित पश्चिमी रणनीतिको व्यवस्थापन गर्नुपर्ने बाध्यता नेपालको आन्तरिक वा बाहिरी सुरक्षाका लागि निरन्तर चुनौती बनिरहेका छन्।
एसियाको यो नयाँ विकासले विश्वको शक्ति सन्तुलनलाई प्रभावित गर्दछ र पश्चिमको शक्ति सन्तुलनको रणनीति खलबल्याउँछ। त्यस शक्ति सन्तुलनको स्थायित्व कायम राख्न पश्चिमले ‘भारत र चीन' बीचको बढ्दो व्यापार, परनिर्भरता र अन्तक्र्रियालाई ख्याल गर्नुपर्ने र आफ्नो विरुद्धमा जानबाट रोक्नुपर्ने बाध्यता छ। भारत र चीनको बीचमा नेपाल छ। त्यसैले पश्चिमको उपस्थिति नेपालमा अनिवार्य हुन्छ।
विगतको भूकम्पले नेपालको रणनीतिक महत्वलाई छर्लंग बनाएको छ । धेरैलाई भ्रम भयो होला 'त्यो पश्चिमी उपस्थिति नेपालीप्रतिको माया हो । होला, त्यो पनि। तर उनीहरूको घनीभूत उपस्थिति मूलतः उनीहरूको नेपालप्रतिको रणनीतिक दृष्टिकोणको प्रकटीकरण हो।
एकातिर भारत र चीनबीचको सन्तुलनको आवश्यकता अर्कोतिर 'भारत र चीन' बीचको सहयोगले पश्चिमी कूटनीतिक रणनीतिमा पुर्याउने प्रभावलाई व्यवस्थापन गर्न उपस्थित पश्चिमी रणनीतिको व्यवस्थापन गर्नुपर्ने बाध्यता नेपालको आन्तरिक वा बाहिरी सुरक्षाका लागि निरन्तर चुनौती बनिरहेका छन्। एउटा सत्य कुरा के हो भने 'राष्ट्रको कूटनीतिक सम्बन्धमा मानवीयता छलफलको विषय नै होइन।
नेपालमा जेजति विदेशी शक्ति उपस्थित छन्, तिनीहरू नेपालका लागि होइन, आफ्नै स्वार्थका संरक्षणका लागि उपस्थित छन्। अर्थात् राजनीतिक दलका नेतालगायत अहिले आन्दोलन गर्नेहरू जजसलाई जजसको सहयोग, भरथेग र गोडामोलाइ छ' त्यो तपाईंहरूको फाइदाको लागि होइन, उनीहरूकै हितका लागि हो। तर यो बुझ्न नसक्दा नेपालीहरू बाँडिएका छन्।
विदेशी 'चलखेल' का सिकार बनेका छन् । अर्थात् नेपाली राष्ट्रिय सुरक्षामाथि धेरै ठूलो चुनौती देखिएको छ।दक्षिणबाट आउने चुनौतीहरू विविध छन्। भारतसँगको खुला सिमानाले नेपालको 'तराई भारतीय' अपराधीहरू, काला व्यापारीहरू, हतियार व्यापार गर्नेहरू र भारतविरुद्ध आतंक मच्चाउनेहरूको आ श्रयस्थल बन्दै आएको छ। त्यो आ श्रयस्थलको विस्तार काठमाडौंसम्म आइपुगेको छ।
यस्ता 'तत्व'बाट नेपाली राजनीतिका पात्रहरू घेरिएका छन्। हिजो माओवादीलाई हतियार ल्याइदिनेदेखि आज आन्दोलन गर्नेहरूलाई खर्च उपलब्ध गराउने र सत्तासीन दलका नेतालाई प्रभावित पार्नेसम्मका कार्यमा यस्ता अपराधीहरू संलग्न छन्।
अर्कोतिर 'धर्म' को नाममा नेपालमा प्रभाव जनाउनेको संख्या पनि कम छैन। 'मठ' का नाममा नेपालीलाई 'इन्डियनाइज्ड' गर्नेको प्रभाव सानो छैन । ठूला-ठूला नेता बिहानै साधुका मठमा भेटिन्छन्। साधुको सेवामा राज्य गाँजासम्म वितरण गर्दछ।
राज्यका कर्मचारी बढुवाका लागि साधुका मठमा पुग्छन्। 'हिन्दु धर्म' का नाममा आधुनिक भारतीय साधुका भजन र गुणगान नेपाली मन्दिरमा घन्किन्छन्। अर्कोतिर धार्मिक निरपेक्षताको खेलमा ‘क्रिस्टिनियटी' व्यापार गर्नेको संख्या पनि कम छैन।
पश्चिमी प्रभाव 'गैरसरकारी' संस्थाबाट बगिरहेको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू नेपालमा पश्चिमी प्रभावको निर्माण गर्छन्। 'आन्दोलन'लाई मानव अधिकारको आवरणमा खर्च जुटाइदिन्छन्।
महिला, दलित र जनजातिका आन्दोलनमा विदेशीहरूलाई 'स्वयंसेवक' को बिल्ला लगाएर उपस्थित गराउँछन् र 'धर्म निरपेक्षता' को पाठ पढाउँछन्। अर्थात् 'कथित बुद्धि र पैसा' पश्चिमका हतियार हुन्, जसले नेपालको राष्ट्रिय सुरक्षामा ठाडो हस्तक्षेप गर्दछन्।
गैरसरकारी संस्थाहरू नेपालमा सरकारसँगको सहकार्य होइन, प्रतिपक्षको भूमिका निर्वाह गर्दछन्। उनीहरू 'कर्मचारीहरूलाई विदेश घुमाउँछन्' र आफ्ना समर्थक बनाउँछन् । पश्चिमी देशहरूको नेपालमा मूलतः तीनवटा स्वार्थहरू छन्। (१) भारत र चीनको चियो गर्नु। (२) गरिब नेपालीलाई पैसा दिएर धर्म सन्तान प्राप्त गर्नु वा गरिब नेपाली महिलाको कोखलाई सन्तान जन्माउने कारखाना बनाउनु। र (३) धर्म प्रचारको थलो बनाउनु।
यिनै प्रभावले नेपाल कति धेरै ग्रस्त भइसकेको छ भने उसको अन्तर्राष्ट्रिय छवि कमजोर भएको छ। कमजोर नेपाल 'माथिका स्वार्थ'का लागि लाभदायक हुन्छ। त्यसैले कहिले ‘नेपाललाई असफल राज्यको घोषणा गर्ने प्रयास गरियो। कहिले कुनै निकायको अधीनमा राख्ने प्रयास गरियो।
कहिले जातीय विभाजन रेखाको प्रयोग गरियो । र, भूकम्पपछाडि नेपालको 'पर्यटन' क्षेत्र तहसनहस पार्ने प्रचारहरू भइरहेका छन्। 'नेपाललाई' अहिले आन्दोलनको उद्गम स्थान बनाइएको छ । गरिब नेपाल कमजोर हुन्छ। नेपाललाई झन्झन् गरिब बनाइँदै छ।
थरुहटविरुद्ध 'अखण्ड सुदूरपश्चिम' होस् वा 'हिंसात्मक थरुहट' आन्दोलन, अन्ततः विदेशी पैसा र विदेशी अपराधीहरूको भूमिका नेपथ्यमा देखिएकै छ। अब नपाली राजनीति र त्यसा पात्रहरूका अगाडि विकल्प छैनन्।
त्यसैले (१) संविधान तत्काल घोषणा हुनुपर्छ। संसारको कुनै देशमा फूलपातीको रमझममा संविधान घोषणा भएको छैन। संविधान परिवर्तनको वाहक हो र त्यसले इतिहासको क्रमभंगताको प्रतिनिधित्व गर्दछ। त्यस्तै अवस्थामा यथास्थितिका प्रवर्तकहरू तथा उग्रवादीहरूसँग सामना गर्नैपर्छ।
(२) कतिपय सीमांकन समस्याहरू भविष्यमा 'विज्ञहरूले' समाधान गर्नेछन्। त्यसैले जुन सम्झौता गर्न राजनीतिक दलहरू पुगेका छन्, त्यसको कार्यान्वयनमा उनीहरू अडिग रहनैपर्छ।
(३) देशको राष्ट्रिय सुरक्षा गर्ने निकाय नेपाली सेना हो। त्यसको सुदृढीकरण गर्नुपर्छ। विभिन्न क्षेत्र र जातिको प्रतिनिधित्व सुनिश्चित गर्दै त्यसको संख्या नेपालको सिमानाको संरक्षण गर्न सक्ने गरी वृद्धि गर्नैपर्छ।
(४) आन्तरिक सुरक्षा गर्ने दुइटा प्रहरी संगठनको संख्यात्मक वृद्धिका अतिरिक्त उनीहरूलाई तत्काल आधुनिकीकरण गर्नुपर्छ।
(५) संविधानको घोषणासँगै 'राष्ट्रिय सरकार' को निर्माण गर्नुपर्छ र नेपालको भौतिक र शैक्षिक पुनर्निर्माण योजनालाई युद्धस्तरमा सञ्चालन गर्नुपर्छ। (६) खास-खास क्षेत्रलाई नेपालका मौलिक संस्कृति जोगाउने प्रयोजनका लागि संविधानपछि संवैधानिक महत्वका ऐनहरूद्वारा 'स्वशासित' क्षेत्रको घोषणा गर्ने गरी, उनीहरूका भाषा र संस्कृतिसँग जोडिएका स्रोतहरूको व्यवस्थापन गर्ने कानुन बनाई कार्यान्वयन गर्ने अधिकार दिनुपर्छ।
तत्काल संविधानको घोषणा भएन भने 'राज्यलाई असफल घोषित गर्ने खेल हुनेछ। यस खालका प्रयास भित्रभित्रै भइरहेका छन्।' त्यसकै लागि विगतमा कतिपय राष्ट्रले आफ्ना 'भिसा कार्यालयहरू' नेपालबाट अलग गरे।
अहिले कतिपय देशहरूमा नेपाललाई चेतावनी दिन दूतावास बन्द गर्ने योजना बनाइरहेका छन्। दक्षिण एसियामा ‘स्वशासनमा नेपाल अग्रणी घोषित भएको छ, मिलिनियम डेभलपमेन्ट गोलका अधिकांश उद्देश्यहरू प्राप्त गर्ने देश नेपाल हो।
संसारमा नै नेपाल कम अपराध भएको देश पनि हो । तर पनि 'नेपाल भ्रष्टाचार, अशान्ति र अराजकता' को देश हो भनी व्यापक प्रचार गरी ‘नेपालप्रति अन्तर्राष्ट्रिय नकारात्मक मनोविज्ञान' को निर्माण गरिएको छ। कतिपय आन्दोलन यिनै चाहनासँग जोडिएका छन्।
यी सबै चुनौतीलाई उत्तर दिनु आवश्यक छ। तसर्थ समयमै संविधान घोषणा नेपालको अस्तित्वको पर्याय हो।' तसर्थ विवादास्पद संघीयतालाई आउने दिनमा मिलाउने गरी सोह्रबुँदेको मर्मअनुसार संविधान घोषणा गरिए, देशको 'अस्तित्व र सार्वभौमिकता' को संरक्षण गर्न सकिन्छ । भोलि सीमांकनका विषयहरू 'जनमतसंग्रह' बाट पनि मिलाउन सकिन्छ।
0 comments:
Post a Comment